काठमाडौं, ८ पुस– एमाले अध्यक्ष केपी शर्मा ओलीले हलो जोत्ने किसाना परिवारबाट हुर्केर आएकाले आफूसँग अहंकार असम्भव भएको वताउनु भएको छ । कांग्रेस संस्थापक तथा पूर्व सभापति कृष्णप्रसाद भट्टराईको ९४ औं जन्मजयन्तीको अवसरमा भट्टराईको आश्रम बाँडेगाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दम्भ र अहंकार ठूला घरानाको प्रबृत्ति भएको वताउनुभयो ।
समारोहमा वक्ता रहेका कांग्रेस नेता प्रदिप गिरिले ओलीको प्रशंसा गर्दै ओलीलाई श्री ३ जत्तिकै नेता भनेपछि ओलीले त्यसमो नरम प्रतिवाद गर्नुभएको हो । ‘मैले प्रधानमन्त्रीबाट राजीनामा दिंदा संसदमा भनेको थिएँ– यो समयको समाप्ति होइन, समय चालु छ । त्यो मेरो मसिनो स्वरको वार्निङ थियो’ ओलीले भन्नुभयो, ‘मलाई अहिले प्रदिपजीले मसिनो स्वरमा वार्निङ दिनुभयो, अहंकारको कुरा गर्नुभयो । तर, म गाई भैंसी चराएर, बाख्रा चराएर हुर्किएको गाउँको ठिटो हुँ । मसँग शासकीय चरित्र छैन । मान्छेले आफूलाई शासक ठान्छन्, तर म आफूलाई सेवक ठान्छु । मेरा बा हलो जोत्ने मान्छे । म आफैं हलो जोतेर, गाई भैंसी चराएर घाँस काटेर, भकारो सोहेरेर आएको मान्छे । मेरा के अहंकार हुन्छन् ? अहंकार त घरानाका मान्छेको चरित्र हो ।’
तर, उहाँले आफूले शासक नठान्दैमा भ्रष्टाचार र कुरीतिलाई भने नसहने वताउनुभयो । ‘मसँग अहंकार छैन भन्दैमा करप्सनप्रति पनि म लल्लुराम होइन’ ओलीले भन्नुभयो । ओलीले चुनावी प्रतिस्पर्धामा सामेल भएपछि हारजीत राजनीतिको धर्म भएको वताउनुभयो । तर, हारजीतलाई लिएर प्रणालीलाई असर पार्न नहुने उहाँको भनाई थियो ।
‘चुनावमा गएर भिडेपछि एउटा जित्ने एउटा हार्ने हुन्छ । रेफ्रीले सिठ्ठी बजाएप्छि त एउटाले अर्कालाई हान्छ । हामीले नियम नै त्यस्तो बनायौं । रिङ भित्र छिरेपछि दुईटा जित्न मिल्दैनथ्यो’ ओलीले भन्नुभयो, ‘तर, यो प्रणाली हामीले ल्याएका हौं, यसलाई संरक्षण गर्नै पर्छ । खेलको नियममा हार्न र जित्न तयार हुनैपर्छ । अव हामी सबै मिलेर राष्ट्रको काम गर्नु पर्छ ।’
ओलीले संयुक्त राष्ट्रसंघको विकास लक्ष्य पूरा गर्नेगरी तीब्र अघि बढ्नु पर्ने र विकास नभएको दोष अरुलाई दिएर पन्छिने ठाउँ नभएको वताउनुभयो । ‘संयुक्त राष्ट्रसंघको विकास लक्ष्य हामीले १३ वर्ष भित्र पूरा गर्नुपर्छ’ ओलीको भनाई थियो, ‘म काम गर्दिन अनि प्रकाशमान सिंहलाई अपजस हाल्दिएँ भने बाटो बन्छ ? लक्ष्य प्राप्त हुन्छ ? बन्दैन ।’
ओलीले आफूलाई किसुनजीसँग तुलना नगर्न आग्रह गर्दै किसुनजी अंध्यारो युगबाट उज्यालो युगमा नेपाललाई ल्याउने आफ्नो पितातुल्य पुस्ता भएको वताउनुभयो । ‘म किसुनजीसँग तुलनायोग्य छैन । उहाँ राणा शासनको अंध्यारोबाट उज्यालो युगमा ल्याउने पितातुल्य हुनुहुन्थ्यो’ ओलीले भन्नुभयो, ‘मैले कहिले उहाँसँग संगत पाएँ, सँगै जेल बसेँ, उहाँ सादगी र साह्रै खुला हुनुहुन्थ्यो ।’
ओली ‘किप इटअप’, ‘गो अहेड’– पीएल सिंह
कृष्णप्रसाद भट्टराई स्मृति प्रतिष्ठानका अध्यक्ष पीएल सिंहले कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवालाई निम्तो गरिए पनि उहाँ नआउनु भएकोमा दुख ब्यक्त गर्नुभयो । उहाँले शेरबहादुर देउवा नेतृत्वको कांग्रेसले बाटो विराएको र ओलीले किसुनजीको बाटो पक्रेको वताउँदै ओलीलाई अगाडि बढ्न शुभकामना दिनुभयो । ‘शेरबहादुरजीले बाटो विराउनुभयो, उहाँ कांग्रेसको बाटोमा हुनुहुन्न’ सिंहले भन्नुभयो, ‘केपी ओली ठीक बाटोमा हुनुहुन्छ, किप इटअप, गो अहेड ।’
<
विस्तृत समाचारका लागि यहाँ क्लिक गर्नुहोस्>