काठमाडौँ, १९ फागुन, संघीय संसद्मा बहुमतमा रहेको वाम गठबन्धनका अध्यक्षहरुले पार्टी एकता र मुलुकको समृद्धिको भावनाका साथ प्रभावकारीरुपमा प्रस्तुत हुन आफ्ना सांसद्हरुलाई निर्देशन दिनुभएको छ ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा आज आयोजित नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को संसदीय दलको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँहरुले सुशासन, विकास, समृद्धि र स्थिरताका लागि नयाँ युगतर्फको यात्रामा सामेल हुन आग्रह गर्नुभएको हो ।
नवनिर्वाचित सांसद्हरुको सपथ हुने अघिल्लो दिन प्रतिनिधिसभा र राष्ट्रियसभाका दूवै दलका सदस्यहरु सहभागी बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरु एकता हुने अन्तिम विन्दूमा पुगेको भन्दै जनतालाई शक्तिशाली र एकतावद्ध बनाई विकासका काम अघि बढाउन आफूहरु एक हुन लागेको स्पष्ट गर्नुभयो ।
आफूहरुले लगाएको पोसाकमा नेपालमा उत्पादन गरेको लत्ताकपडाको त्यान्द्रो समेत नरहेको सन्दर्भ उल्लेख गर्दै उहाँले प्रशस्त सम्भावना भएपनि मुलुक अल्पविकसित हुने अवस्थाबाट माथि उठाउन दृढ मनोबलका साथ काम गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रियसभाका मनोनित तीन सदस्यका बारेमा सर्र्वाेच्च अदालतमा रिट परेपनि उक्त नियुक्तिलाई कसैले रोक्न नसक्ने दाबी गर्दै उहाँले भन्नुभयो, ‘कानुन पढेर राजनीति गर्ने झगडियाहरुले हालेको मुद्धामा धेरै अल्मलिनु पर्दैन, सरकारको कार्यक्षेत्रमा अदालतबाट हस्तक्षेप नहुने विश्वास लिएको छु ।’
संसद्, अदालत र सडकमा समेत वास्तविक नागरिकता र कागजी नागरिकताबारे विवाद हुनुले नेपाल कुन हालतमा छ भन्ने संकेत गरेको बताउँदै उहाँले आफूले भाइ भन्दै आएका सदस्य महेन्द्र राय यादवलाई ज्येष्ठ सदस्यबाट सांसद्को सपथ लिनुपर्ने अवस्था आएको टिप्पणी गर्नुभयो ।
मुलुक बनाउने सन्दर्भमा प्रतिपक्षलाई समेत साथ लिएर र सम्मान गरेर आफूहरु अघि बढ्ने उद्घोष गर्दै उहाँले राम्रो र सक्षम मान्छेहरुको खोजीमा सरकार रहने स्पष्ट गर्नुभयो ।
सांसद्हरुलाई पार्टी र आन्दोलनलाई प्रमुख मानेर अघि बढ्न सम्झाउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘सरुवा बढुवाका फाइल होइन देश विकासका फाइल बोक्नुस्, जनताले तपाईँलाई जतिबेला हेरेपनि दाग नभएको रुपमा देख्न सकोस् ।’
प्रधानमन्त्री ओलीले औचित्य र आवश्यकताका आधारमा संविधान संसोधन गर्न सकिने भएकाले त्यसमा अनावश्यक झमेला नगर्न पनि आग्रह गर्नुभयो ।
उहाँले छिमेकी भारत र चीन र अन्य मुलुकसँगको नेपालको सम्बन्ध राम्रो रहेको र ती देशले नयाँ सरकारसँग सहकार्य गर्न इच्छा व्यक्त गरेको उल्लेख गर्नुभयो ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको पृष्ठभूमिमा आफूहरुको संयुक्त संसदीय दलको बैठक भइरहेको र केही दिनमा एउटै संसदीय दल हुने जनाउँदै विकास नहुने भूमरीमा परिरहने राजनीतिलाई त्यसबाट बाहिर निकाल्न आफूहरु सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
साझा चुनावी घोषणापत्र र उम्मेदवारका साथ जाँदा डेढ महिनामै जनतालाई एकताबछ पार्न सकिनु आफैमा विश्वविद्यालय हुनु पुगेको बताउँदै अध्यक्ष दाहालले भन्नुभयो, ‘अब हामी राष्ट्रिय पूँजीको विकास गर्दै वैज्ञानिक समाजवादको यात्रामा अघि बढ्नेछौँ, एकताको निर्णयले नेपाललाई १०० वर्ष पछि जानबाट अघि ल्याएको छ । त्यसकारण हाम्रो एकतालाई जनयुद्धभन्दा ठूलो परिघटनाका रुपमा लिइएको छ ।’
विगतमा एमाले र केन्द्रले अघोषितरुपमा एकले अर्काेको रक्षा गर्दै आएको स्मरण गर्दै उहाँले मदन भण्डारीको जनताको बहुदलीय जनवादका कारण पनि आफूहरु यहाँसम्म आइपुगेको बताउनुभयो ।
बैठकमा एमाले नेता एवं पूर्व सभामुख सुवास नेम्वाङले संसदीय नियम र अभ्यासको हेक्का राखेर प्रभावकारीमा भूमिका निर्वाह गर्न सांसद्हरुलाई आग्रह गर्नुभयो ।
संघीय संसद्मा दुई दलका कुल २१४ सदस्य छन् । -रासस