काठमाण्डौ,२७ फागुन,प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट आज विश्वासको मत प्राप्त गर्नु भएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले आफूलाई समर्थन गर्न माग गर्दै राखेको प्रस्तावमा संसदमा उपस्थित २६८ जना सांसद मध्ये २०८ जना संसदले समर्थन जनाउनु भएको छ । विपक्षमा ६० जना संसदले मत हाल्नु भएको थियो ।
यस अघि संसदमा विश्वासको मत लिने क्रममा उठेका जिज्ञासाहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्रका लागि आफू आधा शताव्दी भन्दा बढी लडेकोले लोकतन्त्रको मर्म राम्ररी थाहा भएको बताउनुभएको छ । ‘निश्चिन्त रहे हुन्छ । लोकतन्त्रमा तलमाथी हुदैन । लोकतन्त्र मासिन्छ भन्ने कुरा कसैले पनि नसोच्नुहोस । ’
आफु एमाले वा वाम गठबन्धनको मात्र प्रधानमन्त्री नभएको भन्दै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘म देशको प्रधानमन्त्री हँु । मलाइ मत दिने नदिने सबैको प्रधानमन्त्री हँु । व्यवहार पनि त्यसै अनुसार गर्छु ।’
सरकार हरेक समस्याको समाधान तिव्र गतिमा गर्न तयार रहेको प्रधानमन्त्री ओलीको भनाइ छ । ‘सरकार समस्याको गीत मात्र गाउदैन । समाधान पनि तिव्र गतिमा खोज्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो । आफूले व्यक्त गरेका हरेक कुराहरुको जवाफदेहिता लिने बताउदै प्रधानमन्त्री ओलीले ‘सबै कुराको सिमा रहे पनि आफ्नो इमानको सिमा नरहने’ बताउनुभएको छ ।