NP EN

प्रधानमन्त्री ओली र बंगलादेशका प्रधानमन्त्रीबीच टेलिफोन संवाद,दुर्घटनाप्रति दुःख व्यक्त

काठमाण्डौ,२८ फागुन, प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद समक्ष आज काठमाडौंमा भएको युएस बंगलाको बम्बार्डियर विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । बंगलादेका प्रधानमन्त्रीलाई टेलिफोन सम्पर्क गर्नुहुँदै प्रधानमन्त्री ओलीले दुर्घटनामा भएको मानवीय र भौतिक क्षतिप्रति नेपाल सरकारको तर्फबाट दुःख व्यक्त गर्नु भएको हो ।
बंगलादेशी प्रधानमन्त्रीसँगको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले दुर्घटनामा परी ज्यान गुमाएका यात्रु र दुर्घटनाबाट भएको भौतिक क्षतिप्रति नेपाल सरकार दुःख व्यक्त गर्दै दुर्घटनामा दिवंगत भएका यात्रुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभयो ।
त्रासदीपूर्ण दुर्घटनाले आफू स्तब्ध भएको र दुर्घटनाको खबर पाउनासाथ नेपाल सरकारले शीघ्रातिशीघ्र उद्वार कार्य अघि बढाएको जानकारी दिनुभयो । बंगलादेशका प्रधानमन्त्रीसँगको टेलिफोन संवादमा प्रधानमन्त्री ओलीले आफूले घटनास्थल निरीक्षण गरेको समेत बताउनु भएको थियो ।

दुर्घटनाको यथार्थ कारण पत्ता लगाउन नेपाल सरकार  मन्त्रिपरिषद् बैठकबाट आयोग गठन गर्ने प्रधानमन्त्रीले जानकारी गराउनु भयो । बंगालदेशका प्रधानन्त्रीले दुर्घटना लगत्तै उद्वारका लागि नेपाल सरकारले देखाएको तदारुकताप्रति धन्यवाद व्यक्त गर्नुभएको छ ।