NP EN

विमान दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति प्रधानमन्त्रीको शोक वक्तव्य

बंगलादेशको राजधानी ढाकाबाट ६७ जना यात्रु लिएर काठमाडौं आएको यूएस बंगलाको बम्बार्डियर जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको खबरले हामी सबैलाई स्तब्ध बनाएको छ । ठूलो मानवीय क्षति हुने गरी भएको यस अकल्पनीय तथा हृदयविदारक दुर्घटनामा ज्यान गुमाउनु भएका नेपाली/बंगलादेशीलगायत सबै यात्रुहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र उहाँहरुका शोकाकुल परिवारजनप्रति गहिरो समवेदना ब्यक्त गर्दछु । दुर्घटनामा घाइते हुनु भएका यात्रुहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

यस त्रासदीपूर्ण दुर्घटनाको सत्यतथ्य कारण पत्ता लगाउन मन्त्रिपरिषदको बैठकले जाँचबुझ आयोग गठन गरेको छ र यस प्रकृतिका घटना दोहोरिन नदिने उपाय खोजिने छ । दुर्घटनामा परेका यात्रुहरूको शीघ्र उद्धार कार्यमा तदारुकताका साथ घटनास्थलमा खटिनु भएका नेपाली सेना लगायतका सुरक्षा निकाय, नागरिक उड्डयन प्राधिकरण, दमकल, एम्बुलेन्स तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका राष्ट्रसेवक कर्मचारी सहित घाइतेहरूको उपचारमा संलग्न अस्पताल तथा स्वास्थ्यकर्मीप्रति धन्यवाद व्यक्त गर्दछु ।

के.पी. शर्मा ओली

फागुन २८, २०७४