NP EN

​प्रधानमन्त्री ओली र भारतीय उपराष्ट्रपतिबीच भेटवार्ता

नयाँदिल्ली, २४ चैत । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका उपराष्ट्रपति वेँकैया नायडुबीच भेटवार्ता भएको छ । 

उपराष्ट्रपतिको निवासमा आज भएको भेटवार्तामा नेपाल–भारत सम्बन्धका विविध आयामका बारेमा छलफल भएको थियो । 

सो अवसरमा नेपाल र भारतका जनताबीच रहेको मैत्री सम्बन्धलाई थप विस्तार हुँदै गएको र त्यसले आगामी दिनमा सम्बन्ध नयाँ उचाइमा पुग्ने प्रधानमन्त्री ओलीले विश्वास व्यक्त गर्नुभएको थियो । 

आफू मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा उठाउन भारतको भ्रमणमा आएको जानकारी दिँँदै प्रधानमन्त्रीले आर्थिक समृद्धि र विकासका मुद्दामा दुई देश मिलेर अगाडि बढ्ने सदीक्षा रहेको बताउनुभयो । 

प्रधानमन्त्रीले नेपाल–भारतबीच मैत्री तथा भ्रातृत्व सदियौँ पुरानो रहेको उल्लेख गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा दुई देशबीच सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । 

सो अवसरमा उपराष्ट्रपति नायडुले सहज सम्पर्क विस्तार गरेर नेपाल–भारतबीच नयाँ आधारमा सम्बन्ध विस्तार हुँदै जाने बताउनुभयो । 

उहाँले दुई प्रधानमन्त्रीबीच भएको भेटवार्तामा काठमाडौँ जोड्ने रेल सञ्जाल विषयमा महत्वपूर्ण सहमति भएको जानकारी पाएको भन्दै त्यसले सम्बन्ध थप सहज बनाउने उल्लेख गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिनुभयो । 

मौलाना आजाद रोडस्थित उपराष्ट्रपतिको निवासमा प्रधानमन्त्री ओलीले सो शिष्टाचार भेटवार्ता गर्नुभएको हो । 

यसपछि प्रधानमन्त्री ओली भारतीय राष्ट्रपति भवनमा फर्केर त्यहाँका वरिष्ठ मन्त्रीहरुसँग भेटवार्तामा व्यस्त रहनुहुनेछ । (विशेष प्रतिनिधि रमेश लम्साल -रासस)