NP EN

भारत भ्रमण उपलब्धिमूलक– प्रधानमन्त्री ओली (प्रेस नोट सहित)

काठमाडौँ, २५ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको सम्बन्ध उपलब्धीपूर्ण ढंगले अघि बढेको बताउनुभएको छ ।

भारतको तीन दिने राजकीय भ्रमण पुरा गरी स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले रेलमार्ग, जलमार्ग, कृषिलगायत क्षेत्रमा महत्वपूर्ण  सम्झौता भएको अवगत गराउनुभयो । 

“नेपालको विकसित लोकतान्त्रिक प्रणाली र हालै सम्पन्न निर्वाचनबाट प्राप्त जनमतको प्रतिनिधित्व हुने गरी भएको भ्रमणको भारतले स्वागत गरेको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “ भ्रमण यथार्थमा उपलब्धिमूलक भएको छ ।” 

सञ्चारकर्मीको जिज्ञासामा प्रधानमन्त्री ओलीले द्विपक्षीय पारस्परिक हित, सार्वभौमसत्ता र स्वाभिमानको सम्मानका आधारमा परराष्ट्र सम्बन्ध हुने बताउँदै सोही आधारमा आफूले उच्चस्तरीय भेटवार्तामा आफ्ना कुरा राखेको बताउनुभयो ।

यस अघि प्रधानमन्त्री ओलीले जारी गर्नु भएको प्रेस वक्तव्य परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले बाचन गरेर सुनाउनु भएको थियो । वक्तव्यमा भारतका प्रधानमन्त्रीसँग विगतमा भएका सम्झौता एवं सहमतिको प्रभावकारी कार्यन्वयन मार्फत आपसी सहयोगका क्षेत्रमा ठोस प्रगति गर्ने विषयलाई प्रमुखताका साथ उठाइएको उल्लेख छ । 

प्रधानमन्त्री ओलीलाई विमानस्थलमा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, मन्त्रीगण, संबैधानिक निकायमा प्रमुख, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारीलगायतले स्वागत गर्नुभएको थियो । उहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा राजकीय भ्रमणका लागि यही चैत २३ गते नयाँ दिल्ली प्रस्थान गर्नुभएको थियो । 

 



सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको भारतको राजकीय भ्रमण सम्वन्धी प्रेस नोट


२०७४ चैत्र २५ गते आइतवार


उपस्थित सञ्चारकर्मी साथीहरू,

  • मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा यही २३ देखि २५ चैत्र २०७४ भारतको ३ दिने राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्केको छु । 
     
  • भ्रमणदलमा संलग्न एवं अन्य सञ्चारकर्मी मित्रहरूबाट भ्रमणका सम्बन्धमा यहाँहरू निरन्तर अवगतै हुनुहुन्छ । भ्रमण सम्बन्धी संयुक्त वक्तव्य समेत जारी भैसकेको छ । तथापि म केही विषयमा थप जानकारी गराउन चाहन्छु । 
     
  • निकट छिमेकी एवं अन्य मित्रराष्ट्रहरुसंग पारस्परिकता, समानता, आपसी विश्वास, सम्मान एवं लाभका आधारमा मर्यादित, सन्तुलित र व्यवस्थित सम्बन्ध अघि बढाउँदै नेपालको राष्ट्रिय हित प्रबर्द्धन गर्ने बर्तमान सरकारको नीति छ । यस पृष्ठभूमिमा तथा हालको बदलिएको परिवेशमा नेपालको हितलाई केन्द्रविन्दुमा राखेर भारतीय नेताहरूसँग मेरो खुलस्त र सौहार्द्रपूर्ण रूपमा कुराकानी भयो । 
     
  • भारतका प्रधानमन्त्रीसँग भएको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्तामा विगतमा भएका सम्झौता एवं सहमतिको प्रभावकारी कार्यान्वयन मार्फत आपसी सहयोगका क्षेत्रमा ठोस प्रगति हासिल गर्ने विषयमा हाम्रो जोड रह्यो । नेपालको समसामयिक आवश्यकताका आधारमा कृषि, जलमार्ग एवं रेलमार्गका क्षेत्रमा सहयोग विस्तार गर्ने समझदारी हुनुका साथै सो वारेमा तीनवटा अलग अलग संयुक्त घोषणा समेत गरिएको छ । यसले ती विषयमा भविष्यका लागि सहयोगको दिशानिर्देश गर्नेछ ।
     
  • विषयगत रुपमा उर्जाको क्षेत्रमा दुई मुलुकबीच सम्पन्न उर्जा व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयन एवं पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अघि बढाउनका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदनको शीघ्र अनुमोदनका लागि प्राथमिकताका साथ कार्य अघि बढाउने वारेमा दुवै पक्षबीच सहमति भयो । महाकाली सन्धि अनुसार नेपालले तत्काल पाउनुपर्ने सिंचाइ लगायतका सुविधाका लागि पूर्वाधार निर्माण गरिदिन समेत थप पहल भएको छ । नेपाल र भारतका बीच Energy banking को अवधारणामा आधारित विद्युत व्यापारको प्रस्ताव गरेको छु । 
     
  • दुई मुलुकबीच कनेक्टिभिटी प्रबर्द्धन गर्नका निमित्त सीमापार रेल, एकीकृत चेकपोष्ट एवं हुलाकी मार्ग सम्बन्धी परियोजनाहरूको शीघ्र कार्यान्वयनका लागि दुवै तर्फबाट सहजीकरण गर्ने सम्बन्धमा सहमति भएको छ । भूकम्प पश्चातको पुनर्निर्माण एवं नेपालको प्राथमिकताका परियोजनाहरुमा भारतीय सहुलियतपूर्ण ऋणको उपयोगका विषयमा समेत थप पहल गरिने भएको छ । 
     
  • नेपालको भारतसँग विद्यमान बढ्दो व्यापार घाटा कम गर्ने विषय दुई पक्षीय छलफलका अलावा भारतीय व्यापारिक समुदाय, विद्वतवर्ग एवं सञ्चार माध्यमसँगको भेटघाट र अन्तर्क्रियामा समेत प्राथमिकताका साथ उठाएको छु । यस परिप्रेक्ष्यमा १९९६ को व्यापार सन्धिका प्रावधानको सान्दर्भिकता समेत स्पष्ट पारिएको छ । नेपालको व्यापार घाटाको दीर्घकालीन समाधानका लागि दुई पक्षका बीच निरन्तर सम्पर्क र छलफल जारी रहनेछ ।  
     
  • साथै, पारवहनलाई थप सहज तुल्याउन, बाढी तथा डुवान समस्याको दीर्घकालीन समाधानका लागि संयुक्त नीरिक्षण टोली खटाउन एवं महाकाली पुल लगायत अन्य पूर्वाधार निर्माणलाई तीब्रता दिन दुवै पक्षबीच गम्भीर छलफल भई प्राथमिकताका साथ अगाडि बढ्ने सहमति भएको छ । साथै, भारतले नेपालका लागि थप हवाई प्रवेश विन्दुहरु उपलव्ध गराउने तथा नेपाली ग्यास बुलेटको सञ्चालनलाई सहजीकरण गर्ने वारेमा सकारात्मक छलफल भएको छ । यसबाट लामो समयदेखि विद्यमान ग्यास बुलेट सञ्चालनमा देखिएको समस्याको समाधान छिटै हुने विश्वास मैले लिएको छु । वैदेशिक लगानी एवं पर्यटन प्रबर्द्धनका निमित्त निजी क्षेत्रको सक्रिय सहभागिताका लागि समेत पहल भएको छ ।
     
  • भ्रमणका बखत भारतका प्रधानमन्त्री तथा मैले संयुक्त रुपमा वीरगंज एकीकृत जाँच चौकीको उदघाटन गर्यौ । यसवाट नेपाल र भारतबीच व्यापार एवं पारवहन सहजिकरणका साथै मानिसहरूको आवागमनमा सुविधा हुनेछ । 
     
  • यस अतिरिक्त, सार्क, विमष्टेक एवं बीबीआइएन प्रकृयालाई थप सुदृढ पार्दै क्षेत्रीय र उपक्षेत्रीय सहयोग प्रभावकारी तुल्याउने बारेमा समेत नेपालका तर्फबाट स्पष्ट धारणा राख्दै सकारात्मक पहल गरिएको छ ।  
     
  • भारतका प्रधानमन्त्रीसँगको औपचारिक वार्ता पश्चात् हामीले संयुक्त रूपमा प्रेसलाई सम्बोधन गर्यौं । भारतीय प्रधानमन्त्रीले नेपाली जनताले लोकतन्त्र तथा संघीय व्यवस्था प्रति देखाएको विश्वास र नेपालमा हालै सफलतापूर्वक सम्पन्न तीनवटै तहको निर्वाचनको खुलेर प्रशंसा गर्दै यो सन् २००६ देखि शुरु भएको परिवर्तनको उत्कर्ष भएको बताउनुभयो । उहाँले यसका लागि नेपाली जनता र सरकारलाई बधाई ज्ञापन गर्नुभयो । 
     
  • भ्रमणको अवधिमा भारतका महामहिम राष्ट्रपति एवं महामहिम उपराष्ट्रपतिका साथै भारत सरकारका बरिष्ठ मन्त्री एवं उच्च अधिकारीहरुसँग समेत मेरो भेटघाट भई आपसी हितका विषयमा छलफल भयो । यसका अतिरिक्त भारतीय राष्ट्रिय काँग्रेस एवं विभिन्न राजनीतिक दलका शीर्ष नेता लगायत नेपालका मित्रहरूसँग मेरो भेट भयो । 
     
  • नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा म सहभागी भएँ । साथै, भारतका व्यापारिक समुदाय तथा बुद्धिजीवी समूहसँगको अलग अलग अन्तरक्रिया एवं नेपाली समुदाय र दुवै मुलुकका चलचित्र कलाकारहरूसँगको मेरो भेटघाट फलदायी रह्यो । India Foundation ले मेरो सम्मानमा आयोजना गरेको नागरिक अभिनन्दन समारोहमा मैले २१औं शताव्दीका लागि नेपाल-भारत सम्बन्धको दृष्टिकोण राखें । त्यसलाई बौद्धिक जगत र भारतीय पक्षले सकारात्मक रूपमा लिएको छ । 
     
  • भारतको उत्तराखण्ड राज्यको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्रौद्योगिक विश्वविद्यालयद्वारा आयोजित कार्यक्रममा म सहभागी भएँ । मानार्थ Doctor of Science उपाधि प्रदान गरेकोमा म विश्वविद्यालयप्रति आभारी छु । 
     
  • भारतीय पक्षसँग छलफल एवं विचार विमर्श हुँदा हरेक विषयमा नेपाल र नेपालीको मर्यादा र हितलाई उच्च प्राथमिकतामा राखिएको छ । 
     
  • मेरो भारत भ्रमणबाट नेपाल र भारतका बीच विश्वासको अभिवृद्धि भएको छ । साथै, यसबाट द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ हुनुका साथै आगामी दिनमा समानता, आपसी सम्मान र हितका आधारमा सम्बन्धलाई नयाँ ढंगबाट अघि बढाउन र सहयोग विस्तार गर्न योगदान पुग्ने मैले विश्वास लिएको छु । 
     

धन्यवाद ।