काठमाडौं,१३ बैशाख,प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विकासका बाधकहरुलाई हटाउन प्रयासरत भएको बताउनुभएको छ ।
पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का तत्कालिन अध्यक्ष मनमोहन अधिकारीको १९ औं स्मृति दिवशमा आज सानेपामा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले सरकार सुशासन,पारदर्शिता र पछौटेपनलाई हटाउन प्रतिवद्ध रहेको बताउनुभएको छ । “सरकार विकासका सबै बाधकहरुलाई पन्छाउन तयार छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “९ महिनाको छोटो अवधीमा प्रधानमन्त्री भएर मनमोहनले यी सबै कुराको सुरुवात गर्नुभएको थियो ।”
प्रधानमन्त्री ओलीले मनमोहन अधिकारीको जीवन अबिचलित आस्थाको कठिनाइमा पनि अड्न सक्ने भएको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले नेपालमा कम्यूनिष्ट आन्दोलन सुरु हुनुभन्दा अगाडि देखि नै मनमोहनमा राजनीतिक गतिबिधीमा संलग्न रहेको दृष्टान्त दिनु भएको छ । “नेपालमाा कम्यूनिष्ट पार्टीको स्थापना हुनु भन्दा ७ बर्ष अघि अर्थात वि.सं १९९९ मा मनमोहन भारतबाट अंग्रेज हटाउने अभियानमा भारतीय जेलमा हुनुहुनथ्यो ।”
नेकपा –एमाले) ले त्यस समयमा मनमोहनको राजनीतिक उचाइको सम्मान गर्दै अध्यक्षको पद सृजना गरेको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभयो ।
अर्को एक प्रसंगमा प्रधानमन्त्री ओलीले एमाले र माओवादी केन्द्रबीचको एकता चांडै टुंगिने बताउनुभयो । “चाँडै नै दुई पार्टीको एकता हुदैछ । एकता भएपछि सवल,सुदृढ र एकिकृत कम्यूनिष्ट पार्टीको निर्माण हुन्छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यो एकताले देशमा मनौबैज्ञानिक र व्यबहारिक हिसाबले ठुलो परिवर्तन ल्याउने छ ।”
कार्यक्रममा प्रधानमन्त्री ओलीले अधिकारीको प्रतिमामा माल्यार्पण गर्नु भएको थियो । यसैगरी डा. ढाकाराम सापकोटाद्वारा लिखित मनमोहन अधिकारी नेपाली राजनीतिका ६ दशक पुस्तकको पनि प्रधानमन्त्री ओलीले बिमोचन गर्नुभयो ।