काठमाडौं १७ वैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले किराँतहरुको महान चाड उभौंलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरु प्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषताहरुको संगमस्थल भएको उल्लेख गर्दै प्रधानमन्त्रीले विविधता भित्र एकता र सामाजिक सद्भाव हाम्रो अनुपम विशेषता भएको सन्देशमा लेख्नुभएको छ । ‘‘भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्नो जातीय पहिचान दिलाउने विशेषताहरु हुन् । त्यसैगरी किराँत जाती पनि आफ्नो मौलिक संस्कृति र विशेषता बोकेको आदिवासी हो । किराँत विविध मूल्य मान्यता र संस्कारले धनी मानिन्छ,’’ शुभकामना सन्देशमा लेखिएको छ ।
किराँतहरूको उभौंली पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । किराँतहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष वाली लगाउने समयमा उनीहरूले यो पर्व प्रमुख चाडका रूपमा मनाउने गरेको छन् ।
बालीनालीमा रोगव्याधि नलागोस्, बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपबाट जोगिन सकियोस् भन्ने कामनाका साथ मनाइने यस पर्वको ठुलो सांस्कृतिक र सामाजिक महत्व रहेको छ ।
प्रधानमन्त्रीले तीनै तहको निर्वाचन सम्पन्न भएर देशले विकासको गति लिइरहेको अहिलेको अवस्थामा यस पर्वले सामाजिक सांस्कृतिक सद्भावलाई प्रगाढ गरी विविधतामा एकताको मान्यतालाई अझ प्रगाढ बनाउने विश्वास लिएको व्यक्त गर्नुभएको छ । ‘‘किराँत समुदाय लगायत सम्पुर्ण नेपालीहरुलाई एकताबद्ध भई हर्षोल्लासपुर्वक उभौंली पर्व मनाउन आग्रह गर्दै यस पर्वले नेपालीहरुबीच सदियौंदेखि रहि आएको पारस्परिक सद्भाव, भातृत्वपूर्ण सम्बन्ध र सहिष्णुताको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु,’’ शुभकामना सन्देशमा भनिएको छ ।