NP EN

प्रधानमन्त्रीद्वारा मजदुर दिवसको शुभकामना

काठमाडौं १८ वैशाख, प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुर दिवस (मे १)को अवसरमा स्वदेश तथा विदेशमा रहेर श्रमजन्य कार्यमा संलग्न भइरहनुभएका सम्पूर्ण श्रमजीवी दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्नुभएको छ ।

एक सन्देश प्रकाशित गर्दै प्रधानमन्त्रीले विश्व मजदुर दिवसका अवसरमा नेपाली श्रमजीवी वर्गका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, समृद्धि र मर्यादित जीवनका लागि शुभकामना दिनुभएको छ । साथै सबैलाई देशको आर्थिक सामाजिक रूपान्तरणमा पूर्ण क्षमताको सदुपयोग गर्दै संलग्न रहन प्रेरणा मिलोस् भन्ने कामना प्रधानमन्त्रीले गर्नुभएको छ ।

प्रत्येक वर्ष मे १ को गौरवपूर्ण दिनले विश्व मजदुर आन्दोलनको महत्वपूर्ण उपलब्धि–आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनलगायतका आधारभूत हकअधिकारको स्मरण गराउँदै आएको छ । सन् १८८९ देखि हरेक वर्ष मजदुर दिवस मनाउने गरिएको छ ।

नेपालको हरेक राजनैतिक–सामाजिक परिवर्तनमा श्रमिक वर्गले आफ्नो जीवन र रोजगारीको पर्वाह नगरी ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको स्मरण गर्दै प्रधानमन्त्रीले यस अवसरमा नेपालको राजनीतिमा युगान्तकारी परिवर्तनका लागि श्रमजीवी वर्गले पुर्‍याएको योगदानप्रति उच्च सम्मान प्रकट गर्नुभएको छ । 

“परिश्रममा विश्वास गर्ने आम श्रमजीवी वर्गको हक, हित र अधिकारको सुनिश्चितता नभएसम्म देशको समग्र विकास र आर्थिक सामाजिक रूपान्तरण सम्भव हुँदैन । त्यसैले वर्तमान सरकार देशमा श्रमको सम्मान गर्ने र सबै प्रकारका श्रम शोषणको अन्त्य गर्ने दिशामा अग्रसर छ । यही सन्दर्भमा म श्रम ऐन, २०७४ को पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको कुरा व्यक्त गर्दछु । सरकार योगदानमा आधारित सामाजिक सुरक्षा परियोजनाको कार्यकममा सम्पूर्ण श्रमिकलाई समेटन अग्रसर छ । त्यसक्रममा सरकारले उचित ज्याला प्रणाली अन्तर्गत मार्यादित कामको सुनिश्चितता कायम गर्नका लागि न्यूनतम ज्यालामा वृद्धि गर्ने योजना बनाएको छ,” सन्देशमा भनिएको छ ।

प्रधानमन्त्रीले अहिलेसम्म देशभित्र श्रमको उचित ढंगले सदुपयोग र सम्मान गर्ने वातावरणको अभाव रहेका कारण ठूलो संख्यामा युवा जनशक्ति श्रमका लागि मुलुकबाट बाहिरिन बाध्य भएको र श्रम शोषणको शिकार हुन विवश भएको उल्लेख गर्नुभएको छ । “रोजगारीका लागि ज्यानको समेत जोखिम मोलेर बिरानो भूमिमा कठिन र कष्टकर श्रममा समेत संलग्न हुन बाध्य नेपाली युवा श्रमिकहरूको अवस्थाप्रति सरकार सम्वेदनशील छ । त्यसैले सक्रिय युवा जनशक्तिको ज्ञान, सीप र ऊर्जालाई सम्पूर्ण रूपमा देशको विकास र निर्माणका निम्ति सदुपयोग गर्ने वातावरण सृजना गर्न सरकारले आफ्नो ध्यान केन्द्रित गर्न थालिसकेको छ । यस सन्दर्भमा सरकार स्वदेशमै आत्मसम्मानपूर्ण श्रम वातावरण र जीवन धान्न पुग्ने रोजीरोटीको अवसर सृजना गर्दै लैजान कटिबद्ध छ भन्ने कुरा सबैमा अनुरोध गर्न चाहन्छु । समृद्ध नेपाल, सुखी नेपालीको एकनिष्ठ ध्येयका साथ आर्थिक सामाजिक रूपान्तरणका लागि अग्रसर वर्तमान सरकार देशमा विद्यमान श्रमशक्तिको पूर्ण सदुपयोग गर्न प्रतिबद्ध छ,” प्रधानमन्त्रीले भन्नुभएको छ ।

राष्ट्र निर्माणको दिशामा मजदुर वर्गको भूमिकाको उच्च मूल्याङ्कन गर्दै प्रधानमन्त्रीले नेपालको संविधानमा पारिश्रमिक लिई रोजगारदाताका लागि शारीरिक वा बौद्धिक कार्य गर्ने कामदार वा मजदुर वर्गको श्रमको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरिएको उल्लेख गर्नुभएको छ । “संविधानमा प्रत्येक श्रमिकलाई उचित श्रम अभ्यासको हकको व्यवस्था गरिएको छ, प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक प्रदान गरिएको छ र प्रत्येक श्रमिकका लागि कानून बमोजिम ट्रेड युनियन खोल्ने, त्यसमा सहभागी हुने तथा सामूहिक सौदाबाजीमा संलग्न हुन पाउने हकको प्रत्याभूति गरिएको छ । यस्तो संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु जरुरी छ । त्यसैले संविधानमा व्यवस्थित गरिएको श्रमको हक र अन्तर्राष्ट्रिय श्रम संगठनका आधारभूत महासन्धिहरूको पालना गर्न सरकार प्रतिबद्ध रहेको छ,” सन्देशमा भनिएको छ ।

प्रधानमन्त्रीले कुनै पनि निर्माणका आधार भनेका श्रमजीवी वर्ग नै भएको जनाउँदै समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्ने आधार पनि श्रमिक वर्ग नै रहेको बताउनुभएको छ । “यो सरकार लोकतन्त्रलाई सुृदृढ गरी श्रमजिवी वर्गलाई समृध्द बनाउन कटिवध्द छ ।  म वर्तमान सरकार श्रमिक वर्गसँगको सहकार्यमै यस दिशामा अगाडि बढ्न उद्यत रहेको स्मरण गराउन चाहन्छु,” प्रधानमन्त्रीले भन्नुभएको छ ।