काठमाडौं । २ वर्ष देखि साउदी जेलमा बन्दी जीवन विताइरहेका प्रेमबहादुर राईको रिहाइको सहयोगार्थ उठेको रकम प्रधानमन्त्री केपी शर्मा ओलीले परिवारका सदस्यहरुलाई हस्तान्तरण गर्नु भएको छ । यातायात दुर्घटनामा जेल परेका राईलाई साउदी अदालतले तोकेको जरिवाना तिर्न नसकेपछि उहाँ २ वर्ष देखि बन्दी जीवन विताईरहनु भएको छ ।
एबीसी टेलिभिजनबाट सञ्चालित हुँदै आएको इन्द्रेणी कार्यक्रमले संकलन गरेको ३० लाख ९ हजार ४७ रुपैयाँ नगद प्रधानमन्त्री ओलीले प्रेमबहादुर राईकी धर्मपत्नी सरिता राईलाई प्रदान गर्नु भएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बेलुका आफूलाई भेट्न आइपुगेको राईको परिवार र इन्द्रेणी सांगीतिक समूहसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले जेल प्रेमबहादुरको जेल मुक्तिका लागि साउदी सरकारसँग कुरा गर्ने वताउनु भयो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले विश्वको अन्य देशका नागरिक र नेपाली नागरिक विदेशिनु पर्ने कारण फरक रहेको वताउनु भयो । नेपाली नागरिक विदेशिने तरिका डरलाग्दो रहेको प्रधानमन्त्रीको भनाई थियो ।
प्रधानमन्त्री ओलीले भन्नुभयो,– ‘अरु देशका नागरिक फरक तरिकाले विदेश जान्छन् । हामी जस्तो प्रकारले विदेश गएका छौं, त्यो डरलाग्दो छ । गरिवी र दुःख हटाउन जान्छौं, त्यसमाथि ठगिन्छौं । अज्ञानता र सोझोपनको शिकार हुन्छौं र झन् दुःख पाउँछौं ।’
नेपालीहरुलाई स्वदेशमै रोजगारी दिलाउन र गरिवी हटाउन आफ्नो नेतृत्वमा सरकार बनेको प्रधानमन्त्री ओलीले वताउनु भयो । ‘हाम्रो राष्ट्रको ढुकुटीको अवस्था त्यति राम्रो छैन, तर अव हामीले हाम्रै देशमा उत्पादन बढाउनु छ, उद्योग खोल्नुछ, यहिँ रोजगारी रिर्जना गर्नुछ । त्यसका लागि यो सरकार बनेको हो,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।
विदेशमा बन्दी जीवन विताइरहेका नेपालीको उद्धारका लागि सहयोग संकलन गरेकामा इन्द्रेणी सांगीतिक कार्यक्रमको टोलीलाई प्रधानमन्त्री ओलीले प्रशंसा सहित धन्यवाद दिनुभयो ।
‘हरेकलाई सुखमा होइन दुःखमा साथ चाहिने हो, दुःखमा परेका नेपालीलाई सहयोग गर्न लिएको अग्रसरताप्रति म धन्यवाद दिन्छु, यस्तो काममा म र अहिलेको सरकार साथमा छ,’– प्रधानमन्त्री ओलीले भन्नुभयो ।
कार्यक्रममा इन्द्रेणी सांगीतिक समूहका कृष्ण कंडेलले प्रेमबहादुर राईको रिहाइका लागि ९५ लाख नेपाली रुपैयाँ चाहिने र अहिलेसम्म ७१ लाख रुपैयाँ संकलन भइसकेको वताउनु भयो ।