NP EN

कुनै पनि दिन पार्टी एकता हुन्छ : प्रम ओली

काठमाडौँ, १ जेठ , प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अन्य तयारी बाँकी नरहेकाले चुनावमा गरिएको प्रतिबद्धताअनुसार निकट भविष्यमा नेकपा (माओवादी केन्द्र) सँग एकता हुने बताउनुभएको छ ।
युवा संघ नेपालको २८ औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूहरुको एकता भाँड्न खोज्नेहरुलाई जवाफ दिँदै कुनै पनि दिन एकता हुन सक्ने भएकाले त्यसको तयारीमा रहन आव्हान गर्नुभयो । उहाँले भन्नुभयो, “दुई पार्टीका नेताहरुलाई दुईतिर फर्केको तस्बिर राखेर गलत प्रचार गर्नेहरुलाई अहिले सन्तोष मान्न दिऊँ तर हामी दुई÷तिन दिनको समय राखेर एकताको मिति घोषणा गर्न सक्छौँ । पत्रकारहरु भोलि बालुवाटरमा हेर्न आए हुन्छ, त्यहाँ हामी एकताको तयारी गर्दैछौँ ।”
एकतापछि समृद्धि, सुशासन र रािष्ट्रय स्वाधिनताका लागि देशव्यापी अभियान सञ्चालन गरेर दुनियाँलाई देखाउने उद्घोष गर्दै प्रधानमन्त्री ओलीले चुनावी घोषणापत्रअनुसार समृद्धि र न्यायपूर्ण समाजअनुकूल संयुक्त नीति कार्यक्रम, र बजेटको तयारीमा सरकार रहेको स्पष्ट गर्नुभयो । अबको तीन वर्षपछि नेपालले भारतलाई विजुली बेच्ने स्थिति आउने ठोकुपवा पनि उहाँले गर्नुभयो ।
सरकारले सुन तस्करी र यातायात सिण्डिकेट तोडेको उल्लेख गर्दै उहाँले भ्रष्टाचा, कालोबजारी, तस्करीको विरुद्ध अभियान छेड्न युवाहरुलाई आव्हान गर्नुभयो । 

नेपालको हित विपरीत गरेको भए प्रमाण ल्याउन चुनौती
प्रधानमन्त्री ओलीले आफ्नो भारत भ्रमण र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका अवसरमा आफूले नेपालको स्वाभिमानमा आँच आउने कुनै काम नगरेको बरु विगतमा भएका राष्ट्रहितविरोधी व्यवहारलाई सच्याएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “भारतका समकक्षीसँगको वार्तामा नेपालको हितविरुद्ध मैले एक बोलेको, लेखेको निकाल्न म चुनौती दिन्छु, हामी भारत र चीनसँग कस्तो सन्तुलित सम्बन्ध राख्ने भन्ने नमूना प्रस्तुत गर्दैछौँ । भारतको विरुद्ध उफ्रने हाम्रो काम होइन, नेपालको हितलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौँ ।” भारतीय प्रधानमन्त्रीसँग विगतमा सरकार प्रमुखले “हजुर संविधान संशोधन गर्छु” भनेर घुँडा टेकेको तर पछिल्लो समयमा मोदीले नेपालमा संविधान जारी भई निर्वाचन सम्पन्नपश्चात नयाँ सरकार गठन भएकामा यसलाई स्वर्णिम समय भनेको तथा नेपालको प्राथमिकता र आवश्यकतामा सहयोग गर्छु भनेकाले नेपालको शिर झुक्यो कि भनेर भ्रममा नपर्न आग्रह गर्नुभयो । 
मुख्यमन्त्रीको अभिव्यक्ति गलत
प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्रीको भ्रमणका समयमा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु रावतले दिनुभएको अभिव्यक्ति गलत भएको र त्यो नेपाल सरकारको धारणा नभएको र हुन नसक्ने स्पष्ट पनि गर्नुभयो । रासस