काठमाडौं ७ जेठ, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
राष्ट्रकवि घिमिरे उपचाररत ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा पुगेर आज साँझ प्रधानमन्त्रीले स्वास्थ्यलाभको कामना गर्नुभएको हो । राष्ट्रकवि घिमिरेलाई आत्मबल बलियो बनाउन तथा उपचारमा संलग्न चिकित्सकलाई उहाँको उपचारमा कुनै कसर बाँकी नराख्न प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो । प्रधानमन्त्रीले राष्ट्रकविको उपचार खर्चका लागि चिन्ता नगर्न अस्पताल प्रशासनलाई आश्वास्त पार्नुभयो ।
प्रधानमन्त्रीले आवश्यक परे सरकारले विदेशमा लगेरसमेत उपचारको तयारी गर्न पनि निर्देशन दिनुभयो । अस्पतालबाटै प्रधानमन्त्रीले राष्ट्रकवि घिमिरेको उपचारबारे भारतीय चिकित्सकलाई टेलिफोन गरी परार्मशसमेत गर्नुभयो ।
अस्पतालका चिकित्सकहरुले राष्ट्रकविको स्वास्थ्यअवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
रक्तश्राव भएपछि एक साताअघि राष्ट्रकविलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । ९९ वर्षीय घिमिरेको मुटु, मिर्गौला र फोक्सोमा समस्या देखिएको छ ।
प्रधानमन्त्रीका साथ पत्नी राधिका शाक्य पनि अस्पताल जानुभएको थियो ।