NP EN

‘मार्क्सवाद र समाजवाद’ विषयक अन्तर्राष्ट्रिय सेमिनारमा गर्नुभएको सम्बोधन

इतिहासले दिएका कतिपय महत्वपूर्ण अभिभारा हामीले पूरा गरेका छौं । तीन–तीनवटा तानाशाही सत्ता पराजित भएका छन् । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । जनताका प्रतिनिधिको हातबाट लेखिएको लोकतान्त्रिक संविधानबाट शासन सञ्चालन हुन थालेको छ । अब हाम्रा अगाडि प्राप्त राजनीतिक उपलव्धिको जगमा छोटो समयभित्रै आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने अभिभारा छ । प्रकृतिको यो अनुपम वरदान प्राप्त देश, संस्कृतिको यो अपरिमित भण्डार भएको देश, उर्जावान, युवा र पौरखी पाखुरा भएका तथा स्वाभीमानी पूर्खाहरूको सन्तानको यो देश, अरु कतिपय देशको जन्म नहुँदै र कतिपय देश मध्यकालीन अन्धकारमै रुमलिइरहेको बेला विश्वलाई शान्ति, करुणा र वौद्धिकताको सन्देश दिन तथा आजभन्दा ३/४ सय बर्ष अगाडि नै भारत र चीनबीच व्यापारिक सेतु बन्न सफल यो देश आर्थिक रुपमा पछाडि पर्नु पर्ने कुनै कारण छैन । तर यथार्थ यही हो, आज हामी धेरै सूचकाङ्कमा पछाडि छौं । अति अल्पविकसित अवस्थामा छौं । अब यो स्थितिलाई बदल्ने दायित्व नेपाली कम्युनिष्टहरूको काँधमा आएको छ । हिजो निरङ्कुशसत्तालाई घुँडा टेकाउन आन्दोलनको अगुवाइ गर्ने हामी कम्युनिष्टहरू अहिले गरिबी, अभाव र पछ्यौटेपन विरुद्धको सङ्घर्षमा छौं । र, हामीलाई विश्वास छ– लोकतन्त्र प्राप्तिको आन्दोलनमा जस्तै समृद्धि प्राप्तिको आन्दोलनमा पनि हामी ‘च्याम्पियन’ हुनेछौं । अबको तीस बर्षपछि, जब नेपाली कम्युनिष्ट आन्दोलन सय बर्ष पुग्नेछ, नेपाल संसारका विकसित मुलुकहरूको हाराहारीमा पुगेको हुनेछ, भौतिक रुपमा पनि र सांस्कृतिक रुपमा पनि । भोलि आउने पुस्ताले गर्वसाथ भन्न पाउने छ– हाम्रा अग्रजहरूले निर्माण गरेको नेपाली कम्युनिष्ट आन्दोलनले समृद्ध नेपाल निर्माण गरेर आफ्नो औचित्यको पुष्टि गरेकोे छ, आफ्नो काँधमा इतिहासले बोकाइदिएको अभिभारा कुशलतापूर्वक बहन गरेको छ ।


 


 

मार्क्सवादको सिर्जनात्मक प्रयोग र नेपाली कम्युनिष्ट आन्दोलन 


कार्यक्रममा उपस्थित नेता गण, 
कमरेड एवं मित्रहरू, 
सञ्चारकर्मी साथीहरू,
महिला तथा सज्जन वृन्द !

हाम्रो पार्टीको निमन्त्रणालाई स्वीकार गर्दै विश्वका विभिन्न मुलुकहरूबाट यस कार्यक्रममा सहभागी हुन आउनु भएका सबै अतिथिहरूलाई हार्दिक स्वागत अभिवादन गर्दछु । कार्ल मार्क्सको जन्म द्वैशतवार्षिकी भव्यतासाथ मनाउने हाम्रो योजना पूर्व निर्धारित नै थियो । तर यस बीचमा निर्वाचन, सरकार गठन र पार्टी एकीकरण जस्ता अत्यन्त महत्त्वका राष्ट्रिय अभिभारामा व्यस्त हुनु पर्दा हामीले यहाँहरूलाई छोटो समय राखेर मात्रै आमन्त्रण गर्न सक्यौं । यसले गर्दा यहाँहरूमा पर्न गएको असुविधालाई हामी महसुस गर्दछौं । तर पनि कार्यक्रममा सहभागी भएर यहाँहरूले विषयको महत्वलाई आत्मसात र हामीप्रतिको मित्रभावलाई अभिव्यक्त गर्नु भएको छ। हामी आभारी छौं ।

विश्व मानवतालाई असाधारण गुन लगाउने कार्ल माक्र्सको जीवन र शिक्षाका बारेमा गंभीर विमर्श गर्न, समाजवादबारे अविचलित प्रतिवद्धता दोहोर्‍याउन, भविष्यको बाटो सम्बन्धमा हाम्रा  दृष्टिकोणबारे छलफल गर्न तथा एक–अर्काका अनुभवबाट सिक्नका लागि मार्क्सको जन्म द्वैशतवार्षिकी एकदमै उपयुक्त सन्दर्भ हो । त्यसमाथि, विश्व समाजवादी आन्दोलन विभिन्न अभ्यास, उतार–चढाव, सफलता र चुनौतीका बीचबाट गुज्रिरहेका बेला लोकप्रिय अभिमतबाट झण्डै दुई तिहाई बहुमतसहित वामपन्थीहरूको वर्चस्व कायम भएको नेपालमा यस्तो कार्यक्रम आयोजना हुनुको विशेष महत्व छ । मलाई विश्वास छ, यस कार्यक्रमले एक्काइसौं शताव्दीको विशिष्टता सुहाउँदो समाजवादबारे थप वैचारिक स्पष्टता हासिल गर्न र समाजवादतर्फको हाम्रो अविश्रान्त यात्रालाई थप गतिशील बनाउन सहयोग पुर्‍याउने छ ।

कमरेडहरू,
कार्ल मार्क्स वर्तमान युगका सर्वाधिक प्रभावशाली मनीषी हुन् । मार्क्सको जीवन यस्तो पानीढलो हो, जहाँबाट नयाँ युगको आरम्भ हुन्छ । पच्चीस सय बर्ष अगाडि वुद्धले भनेका थिए– संसारमा दुःख छ, दुःखका कारण छन्, दुःख निवारण (मुक्ति) संभव छ र दुःख निवारणका उपाय पनि छन् । हाम्रो युगको श्रमजीवी वर्ग भने लामो समयसम्म दुःखमा डुबिरह्यो, दुःखका कारण थाहा नपाएर र निवारणका उपायको पनि भेउ नपाएर । केही चिन्तकहरूले समाजवादको मिठो कल्पना गरे, तर त्यहाँसम्म पुग्ने बाटोको बारेमा कुनै वैज्ञानिक दृष्टिकोण नहुँदा त्यो सपनामा मात्र सीमित रह्यो । मार्क्सले त्यस्तो उज्यालो अगाडि सारे– जसले श्रमजीवी वर्गलाई आफू को हो, आफ्ना दुःखका कारण के हुन् र मुक्तिका उपायहरू कुन हुन् भन्ने कुरा स्पष्ट पारिदियो । त्यसपछि आफैमा रुमल्लिरहेको श्रमिक वर्ग र आफ्नो मुक्तिका लागि जागरुक, सङ्गठित र आन्दोलित हुने प्रयाशले सही दिशा प्राप्त गरे । मार्क्सले प्रतिपादन गरेको द्वन्द्वात्मक भौतिकवादी दर्शनले सही ज्ञानको अभावमा रहस्यमा जेलिएजस्तो लाग्ने जगत र जीवनका यावत् संरचना र गतिहरूलाई वैज्ञानिक ढङ्गले बुझ्ने बाटो खोलिदियो । ऐतिहासिक भौतिकवादले समाज सम्बन्धी वहस, विचार र संभावनाका नयाँ क्षितिज उघारिदियो। संसारको व्याख्या गर्ने मात्रै भूमिकामा सीमित रहेको दर्शन अब संसार बदल्ने साधन बन्यो । वैज्ञानिक समाजवादको सिद्धान्तले श्रमजीवी वर्गलाई भविष्यको स्पष्ट मार्गदर्शन र विजयप्रति दह्रो आत्मविश्वास प्रदान गर्‍यो ।

मार्क्सका विचारहरूले उन्नाइसौं र बीसौं शताव्दीमा विश्वलाई असाधारण ढङ्गले प्रभावित गरेका छन् । मार्क्सले मूलतः दर्शन, अर्थशास्त्र र राजनीतिमा योगदान गरेका छन्, तर उनका विचारले प्रभावित नगरेको सामाजिक विज्ञानको कुनै पनि विधा बाँकी छैन । मार्क्सवादको  प्रभाव विस्तारसँगै विश्वको राजनीतिक शक्ति सन्तुलन, अन्तर्राष्ट्रिय सम्बन्ध, राज्यको भूमिका र नागरिक–राज्य सम्बन्ध, सामाजिक प्रबन्धहरू लगायत विषयहरूमा ठूला परिवर्तन आएका छन् । आर्थिक शोषण र सामाजिक उत्पीडनबाट मुक्तिको अभियान सशक्त बनेको छ । समाजको आधा हिस्साको रुपमा रहेका महिला, श्रमिक, उत्पीडित समुदाय र बालबालिका लगायतका अधिकारहरूको विषयमा उल्लेख्य उपलव्धि हासिल भएका छन् । मार्क्सवाद कुनै प्रभावशाली वौद्धिक प्रवृत्तिमा सीमित रहेको छैन, यो न्याय, समानता र स्वतन्त्रताका निम्ति मानव जातिको तथा  स्वाधीनताका निम्ति उत्पीडित राष्ट्रहरूको समेत वैचारिक साधनका रुपमा स्थापित भएको छ । त्यसैले एउटा स्वतन्त्र सर्वेक्षणमा माक्र्स दोस्रो सहस्राव्दीलाई सर्वाधिक प्रभाव पार्ने लोकप्रिय दार्शनिकका रुपमा ‘सहस्राव्दी नायक’ चयन भएका छन् । आधुनिकीकरण र समाजका विभिन्न पक्षमा विकासका बाबजुद आर्थिक बिषमता गहिरिँदै गएको, विश्व पुँजीवादी सङ्कट चुलिँदै गरेको र न्याय, स्वतन्त्रता, समानता र समृद्धिका लागि मानव समुदायको सङ्घर्ष अझ सघन बन्दै गरेको एक्काइसौं शताव्दीमा मार्क्सवाद अझ बढी सान्दर्भिक बनेको छ । 

सहभागी मित्रहरू,
सय बर्ष अगाडि सम्पन्न रुसी अक्टोबर समाजवादी क्रान्तिले मानव जातिले युगौंदेखि सँगालेको जनताको शासन स्थापनाको सपनालाई मूर्त रुप दिने प्रयाश गर्‍यो । श्रमजीवी वर्गले पहिलोपल्ट राज्यसत्ता हातमा लियोे । मानवका आधारभूत भौतिक आवश्यकताको परिपूर्तिका अलावा शिक्षा, स्वास्थ्य, खेलकुद, मनोरञ्जन, मानव गरिमा र अधिकारका क्षेत्रमा समाजवादले दिएका उपलव्धि अतुलनीय थिए । ती मानव मूल्यहरू कति सशक्त थिए भने नाफा बाहेक केही नसोच्ने पुँजीवाद समेत सुधारका कदम चाल्न र मानवीय भावभङ्गिमा देखाउन वाध्य भयो । अजेय जस्तो देखिने विश्व पुँजीवादमाथि विजय संभव छ र श्रमजीवी वर्गको पक्षमा नयाँ संसार निर्माण संभव छ भन्ने मान्यता स्थापित भयो । आन्तरिक कमजोरी र केही वाह्य कारण समेतले गर्दा संसारको पहिलो समाजवादी सत्ता ७० बर्ष पछि विस्थापित भयो । सत्यलाई दबाउन सकिन्छ, तर निषेध गर्न सकिँदैन । जनताका क्रान्तिहरू कहिलेकाँही परास्त हुन सक्छन्, तर तिनले छाडेका प्रभाव र तिनको पुनरोदयलाई सदाका लागि रोक्न भने सकिँदैन । अक्टोबर क्रान्तिले रेखाङ्कन गरेको समाजवाद र त्यसका दूरगामी प्रभाव आज पनि उत्तिकै सान्दर्भिक छन् ।

सोभियत सङ्घको विघटनसँगै पुँजीवादीहरू निकै उत्साहित देखिए । कतिपय पुँजीवादी थिङ्कट्याङ्कहरूले ‘विचारधाराको मृत्यु’ भएको, ‘इतिहासको अन्त्य’ भएको र मार्क्सवाद र समाजवाद ‘असान्दर्भिक भएको’ निष्कर्ष निकाले । तर विभिन्न मुलुकहरूमा भएको समाजवादी आन्दोलनको सफलता तथा विगत दशकहरूबाट सुरु भएको विश्व वित्तीय पुँजीवादी सङ्कटले उनीहरूको निष्कर्ष कति सतही र मनोगत थियो भन्ने स्पष्ट पारिदिए । सङ्कटपछि सिर्जना भएको मन्दीले अनियन्त्रित बजार अर्थतन्त्र र नवउदारवादको जग नै हल्लियो । श्रमिक जनताका सुविधा खोसेर मुठ्ठीभर बैङ्कर, घर जग्गा कारोबारी र सीमित कुलीनहरूको सङ्कट मोचन गर्न राज्यको ढुकुटीबाट अरबौं डलर खर्चिँदा पनि आज विश्व पुँजीवाद धक्काबाट व्युँझिन सकेको छैन । आर्थिक विषमता चरम बन्दै जाँदा १ प्रतिशतका हातमा ८० प्रतिशत भन्दा बढी आय केन्द्रिकरण भएको छ । श्रम सुरक्षा खोसिएर करोडौं श्रमजीवीहरू ‘प्रिकारियट’ वर्गमा धकेलिन वाध्य भएका छन् । विचारधारा र राजनीतिलाई किनारामा धकेल्ने कोशिस गर्दा त्यस रिक्ततामा अतिवाद र आतङ्कवादले शिर ठाडो गर्ने मौका पाएको छ । सामाजिक विभाजनलाई गहिरो पार्ने प्रयाश जारी छ । हल्ला गरिए जस्तो खुल्ला बजार अर्थतन्त्र र नवउदारवादको अन्तिम विजय भयो भन्ने कुरा भ्रमपूर्ण रहेछ भन्ने पुष्टि भएको छ । 

यसबाट पनि समाजवादको अनिवार्यता झनै स्पष्ट भएको छ ।
 
पुँजीवादले आफ्नो सङ्कटको अस्थायी समाधान खोज्दै केही समय आयु लम्ब्याउन सक्छ, तर यसको दिगो समाधान भने पुँजीवादसँग छैन । यही आन्तरिक सङ्कटले नै ढिलो चाँडो पुँजीवादको विनाश निम्त्याउने छ । मानव जाति ढिलो चाँडो समाजवादको गन्तव्यमा पुगिछाड्ने छ । यद्यपि, पुँजीवादको सङ्कट आफैमा समाजवादको विजयको प्रत्याभूति भने होइन । पुँजीवादी सङ्कटले विकल्पका लागि ढोका खोलिदिन्छ । तर समाजवादको सफलताका लागि यसका आफ्नै वैचारिक, राजनीतिक, सङ्गठनात्मक र सामाजिक–सांस्कृतिक सामर्थ्यहरू निर्णायक हुन्छन् । आज विश्वमा समाजवादी आन्दोलन विभिन्न स्वरुप र धारामा अगाडि बढिरहेको छ । चीन, भियतनाम, क्युबा, लाओस लगायत मुलुकहरू आफ्नै विशेषतासहितको समाजवादको विकास गरिरहेका छन् । हामी नेपाली कम्युनिष्टहरू लोकतान्त्रिक प्रतिष्पर्धाको शान्तिपूर्ण विधिद्वारा जनताको अभिमत सहित जनताको सरकार निर्माण गरेर समाजवादको आधार तयार गरिरहेका छौं । विभिन्न मुलुकहरूमा कम्युनिष्ट पार्टीहरू सदन र सडक दुबै स्थानबाट समाजवादका लागि सङ्घर्षरत छन् । आर्थिक शोषण र सामाजिक उत्पीडनका विरुद्ध सामाजिक न्याय, शान्ति, वातावरण रक्षा र अधिकार प्राप्तिका लागि विभिन्न सामाजिक आन्दोलन अगाडि बढिरहेका छन् । यसभित्र मर्यादित कामका लागि श्रमजीवी आन्दोलन र समान अधिकारका लागि महिलाहरूका आन्दोलन विशेष महत्वका छन् । यी सबै वृहत्तर अर्थमा समाजवादी आन्दोलनकै अङ्ग हुन् । 

वैज्ञानिक समाजवाद मार्क्स र एङ्गेल्सका प्रतिभावान मस्तिष्कको मनोगत उपज थिएन । पुँजीवादी उत्पादन सम्बन्धले सिर्जना गरेका जटिल अन्तरविरोधहरूको समाधान गर्न र श्रमजीवी वर्गको मुक्तिका लागि वैज्ञानिक सिद्धान्तको आवश्यकताको जगमा यसको जन्म भएको थियो । मार्क्सवादका सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक र मार्गदर्शक छन् ।
 
तर मार्क्सवाद हरेक समस्याको तमतयार समाधान होइन र यो प्रत्येक काल एवं स्थानमा एकै रुपमा लागू हुने सूत्र पनि होइन । यो त समाजलाई बुझ्ने, व्याख्या गर्ने र परिवर्तन गर्ने वैज्ञानिक पद्धति हो । हरेक राष्ट्र र समाजको चरित्र त्यसको ऐतिहासिक विकासक्रम, सामाजिक–आर्थिक संरचना, वर्ग सङ्घर्षको स्तर र सांस्कृतिक परम्परा आदि कारणले विशेष र अरुभन्दा भिन्न हुन्छ । यिनै भिन्नताले सम्बन्धित मुलुकको क्रान्ति र समाजवाद निर्माणको बाटोलाई पनि मौलिक र विशिष्ट बनाउँछन् । हरेक देशका कम्युनिष्टहरूको पहिलो दायित्व हो – मार्क्सवादका सार्वभौम र सर्वकालीक सिद्धान्तका आलोकमा आफू कार्यरत देश र आफू बाँचिरहेको परिवेशका विशेषताहरूको पहिचान गर्नु, त्यसका आधारमा क्रान्ति र समाजवाद निर्माण सम्बन्धी आफ्ना मौलिक सिद्धान्तहरूको निर्माण र विकास गर्नु । यसो गर्न सकिएन भने या त जडसूत्रवाद र यान्त्रिक नक्कलमा फसिन्छ या त व्यवहारवादको चक्करमा मार्क्सवादका आधारभूत सिद्धान्तहरूबाटै पलायन भइन्छ । दुबै अवस्था आन्दोलनका लागि हानीकारक छन् ।

कुनै बेला विश्वमा एउटै कम्युनिष्ट केन्द्र भएको मानिन्थ्यो र एउटै समाजवादी ढाँचालाई अनुकरणीय र आदर्श ठानिन्थ्यो । त्यही केन्द्रको निर्देशन पालना गरेर आफ्नो देशमा पनि त्यसैको अनुकरण गर्न खोज्दा कतिपय ठाउँमा आन्दोलनले ठूलो धक्का खाएका दृष्टान्त पनि छन् । श्रमजीवीवर्गले एक अर्काका आन्दोलनमा ऐक्यवद्धता जाहेर गर्छन्, सुखदुखमा साथ दिन्छन् र एक अर्काबाट सिक्न चाहन्छन् । तर प्रगतिशील र समाजवादी आन्दोलनलाई मौलिक रुपमा मात्रै विकास गर्न सकिन्छ ।

त्यसैले हामी, क्रान्ति, आन्दोलन, परिवर्तन वा रुपान्तरणका लागि कुनै मोडलको नक्कल गर्दैनौं र अरु कसैलाई कुनै मोडलको अनुशरण गर्न सिफारिस पनि गर्दैनौं ।

मार्क्स जन्मेको दुईसय बर्ष पुगेको छ र कम्युनिष्ट घोषणापत्र प्रकाशन भएको पनि १७० बर्ष नाघेको छ । यस अवधिमा श्रमको स्वरुप, श्रम सम्बन्ध, शोषणका चरित्र, पुँजीवादको संरचना, राष्ट्रहरूका सम्बन्ध, विज्ञान–प्रविधि र उत्पादन ढाँचा, व्यापार र उपभोग एवं राजनीति लगायत क्षेत्रमा निकै ठूला परिवर्तन भएका छन् । आज समय फरक परेको छ, परिस्थिति बदलिएको छ र स्थान विशेषका विशेषता अनुरुप तरिकाहरू पनि बदलिएका छन्, त्यसकारण आन्दोलनका सामु नयाँ नयाँ प्रश्नहरू खडा भएका छन् । 

मार्क्सवादीहरूले सिर्जनात्मक दृष्टिका साथ नयाँ प्रश्नको ठोस उत्तर दिने सामर्थ्य राख्नुपर्छ ।
 
विश्वव्यापीकरणका बाबजुद पुँजीको अत्यधिक केन्द्रीकरण र विज्ञान–प्रविधिका लाभहरूको असमान वितरणका कारण विश्वको संरचना झनै विषम बनेको छ । असमान विकासका कारण देश–देशमा क्रान्ति र समाजवाद निर्माणको बाटोमा पनि विविधता पैदा भएका छन् । आफनो धरातलीय यथार्थका आधारमा मार्क्सवादको सिर्जनात्मक प्रयोग गरिनु पर्ने आवश्यकता सर्वत्र महसुस हुँदै गएको छ ।

प्रिय मित्रहरू, 
नेपाली जनताको सङ्घर्ष र आन्दोलनको लामो र गौरवपूर्ण परम्परा छ । सुरुका दिनमा जनताको आन्दोलन देशको एकीकरण र अङ्ग्रेज साम्राज्यवादी आक्रमणका विरुद्ध देशभक्तिपूर्ण सङ्घर्षका रुपमा अगाडि बढ्यो । अग्रजहरूको पौरखकै कारण नेपालसँग कहिल्यै कसैको उपनिवेश हुनु नपरेको र सधैभरि स्वतन्त्र रहँदै आएको गौरवपूर्ण पहिचान छ । स्पष्ट राजनीतिक आकार लिनु पूर्व आन्दोलनले रुढीवाद, अन्धविश्वास र विभेद विरोधी समाज सुधार र मानवतावादी आन्दोलनको स्वरुप ग्रहण गर्‍यो । विद्रोही योगमाया, सन्त शशिधर स्वामी, जयपृथ्वी बहादुर सिंह, लखन थापा र कृष्णलाल अधिकारी लगायत यस्तो अभियानको अग्रभागमा थिए । पछिल्लो समय त्यो, निरङ्कुश राणाशासन विरोधी प्रजातान्त्रिक आन्दोलनका रुपमा क्रमशः सशक्त बन्दै गयो । गङ्गालाल, दशरथ चन्द, शुक्रराज शास्त्री र धर्मभक्त माथेमाको शहादत यसको विशिष्ट उदाहरण थियो । आन्दोलनका यी सबै धाराको विरासत लिएर नेपालको कम्युनिष्ट आन्दोलन जन्मिएको थियो ।
 
नेपालले धेरै अगाडिदेखि व्यापार व्यवसाय सुरु गरेको भएतापनि पुँजीवादी उत्पादन प्रक्रिया भने सन् १९३० को दशकबाट आरम्भ भयो । पुँजीवादले एकै साथ दुई वर्ग– श्रमजीवी र पुँजीपति वर्गलाई जन्म दियो । श्रमजीवी वर्गको प्रतिनिधि पार्टीका रुपमा सन् १९४९ मा नेपाल कम्युनिष्ट पार्टी र त्यसकै हाराहारी पुँजीपति वर्गको प्रतिनिधि पार्टी नेपाली काङ्ग्रेसको जन्म भयो । यससँगै ती दुई वर्गका प्रतिनिधि विचारका रुपमा समाजवादी र पुँजीवादी लोकतान्त्रिक धार पैदा भए ।
 
नेपाल कम्युनिष्ट पार्टीले मार्क्सवाद–लेनिनवादको मार्गदर्शनमा सामन्तवादको अन्त्य र जनवादी क्रान्ति सम्पन्न गर्ने, साम्राज्यवादी–प्रभुत्ववादी हस्तक्षेपको विरोध गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने तथा समतामूलक, न्यायपूर्ण तथा समृद्ध समाजवादी समाज निर्माण गर्ने स्पष्ट लक्ष्य लिएको थियो । सुरुदेखि नै सबै खाले निरङ्कुशतन्त्र विरुद्ध लोकतन्त्रको झण्डा माथि उठाउँदै आएको नेपाल कम्युनिष्ट पार्टीले सबै स्वरुप र माध्यमका तानाशाही सत्ता विरुद्ध सामग्रिक रुपमा लोकतान्त्रिक आन्दोलनको अगुवाइ गर्दै आएको छ । नेपाली कम्युनिष्टहरूले आफूलाई श्रमजीवी जनताका भावनाहरूको परिपूर्तिका असल साथी, सच्चा प्रतिनिधि एवं मार्गदर्शकका रुपमा प्रमाणित गर्दै आएका छन् ।
 
कम्युनिष्ट आन्दोलनको ७० बर्षे इतिहास आरोह–अवरोहले भरिएको छ । राणाशाही समाप्त पार्न उत्तिकै महत्वपूर्ण भूमिका खेलेको नेपाल कम्युनिष्ट पार्टीमाथि नेपाली काङ्ग्रेसको सरकारबाट सुरुमा थिचोमिचो र पछि प्रतिबन्ध लगाइयो । यी अवरोधका बाबजुद, पार्टीले सन् १९५० को दशकमा सशक्त किसान आन्दोलनहरू, विदेशी हस्तक्षेपको विरोध र जनताको अधिकारका लागि लोकप्रिय सङ्घर्ष गर्‍यो । परन्तु नेपाली कम्युनिष्ट आन्दोलनमा सन् १९६० को दशकमा विभाजन र विखण्डनको पीडादायी शृङ्खला सुरु भयो । यसले गर्दा यसको प्रतिरोधी क्षमता पनि कमजोर बन्न पुग्यो । यसै पृष्ष्ठभूमिमा, सन् १९७० को दशकको सुरुमा झापा आन्दोलन भयो, जसले जनवादी गणतन्त्रका लागि राजतन्त्र विरुद्ध साहसिक विद्रोहको शङ्खघोष गर्‍यो । नयाँ विचारका आधारमा नयाँ कम्युनिष्ट शक्ति निर्माण गर्ने र त्यसकै आधारमा, आधारभूत तहबाटै कम्युनिष्ट समूहहरूबीच एकीकरण अगाडि बढाउँदै यसले क्रान्तिकारी पार्टी पुनर्गठनको आधार निर्माण गर्‍यो । युवा पुस्तामा क्रान्तिकारी विचारधाराप्रति अभूतपूर्व जागरण ल्याउँदै त्याग, बलिदान तथा उत्सर्गका नयाँ मूल्यहरू स्थापित गर्‍यो । सही दृष्टिकोण अपनाउन नसक्दा र अनुभवको कमीका कारण समेत उग्रवामपन्थी गल्तीहरू पनि भए, तर निष्ठावान क्रान्तिकारीहरूले गंभीर आत्मसमिक्षा गर्दै त्यसलाई सच्याए । सन् १९८० को दशकबाट पार्टीभित्र नेपाली इतिहासको नयाँ व्याख्या, समाजको चरित्र निरुपण, प्रधान अन्तरविरोधको निक्र्यौल तथा नेपाली क्रान्तिको मौलिक कार्यक्रम तथा विशिष्ट बाटोका सम्बन्धमा गंभीर वैचारिक बहस सुरु भयो । लामो र सघन विमर्शका क्रममा कमरेड मदन भण्डारीको नेतृत्वमा नेपाली क्रान्तिको विशिष्ट र मौलिक बाटोको प्रतिपादन भयो, जो जनताको बहुदलीय जनवाद (जबज) का नामले स्थापित छ । 

त्यसै गरी पहिले केन्द्रीय न्युक्लियस, त्यसपछि चौथो महाधिवेशन, मशाल र मसाल हुँदै नेकपा (एकता केन्द्र) का रुपमा कम्युनिष्ट आन्दोलनको अर्को शक्ति विकसित भयोे, जसले आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्यो । यही धार पछि नेकपा (माओवादी) मा रुपान्तरित भयो ।

जबजको सिद्धान्त प्रतिपादन भइरहँदा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन ठूलो उथलपुथलबाट गुज्रिदै थियो । एकातिर संसारको पहिलो समाजवादी सत्ता–सोभियत सङ्घको विघटन र पूर्वी युरोपका समाजवादी सरकारहरूको विस्थापनले गंभीर निराशा पैदा गर्दै थियो भने अर्कोतिर सशस्त्र विद्रोहको बाटो हिंडिरहेका कम्युनिष्ट पार्टीहरूले ठूलो धक्का खाँदै थिए । झट्ट हेर्दा अक्टोबर क्रान्तिपछि सुरु भएको श्रमजीवी वर्गको युगकै अन्त्य भएको हो कि जस्तो लाग्दथ्यो । आन्दोलनका सामु नयाँ प्रश्न र नयाँ चुनौती खडा भएका थिए ।

ती प्रश्नको जवाफ मार्क्सवादबाट पलायन र विसर्जन हुन सक्दैनथ्यो । न त शास्त्रीय रचनाहरूको जडसूत्रीय रटानले नै समस्या समाधान गर्न सक्दथ्यो । कम्युनिष्ट आन्दोलनमा उत्पन्न सङ्कट मार्क्सवादको कमजोरी थिएन, बरु यसका प्रयोगका निश्चित ढाँचा र अभ्यासको कमजोरी थियो । मार्क्सवादको सिर्जनात्मक प्रयोगको मान्यतामाथि आधारित भएर हामीले नेपाली समाजका विशिष्टताहरूमाथि ध्यान केन्द्रित गर्‍यौं । ‘विसर्जनवाद र जडसूत्रवादको विरोध गरौं, मार्क्सवादको सिर्जनात्मक प्रयोग र विकास गरौं !’ भन्ने नारा अगाडि सार्‍यौं ।
 
यसले नेपालमा असाधारण प्रभाव पार्‍यो । कम्युनिष्ट आन्दोलन लोकप्रियताको शिखर चढ्दै गयो । संसार छक्क पर्‍यो । अमेरिकी म्यागाजिन ‘न्युजविक’मा जननेता मदन भण्डारीसँगको ‘नेपालमा कार्ल मार्क्स जीवित छन्’ शीर्षकमा प्रकाशित अन्तरवार्ता, विश्वले नेपाललाई कसरी चाखपूर्वक हेरिरहेको छ भन्ने कुराको दृष्टान्त थियो । एउटा स्वतन्त्र सर्भेक्षणबाट मदन भण्डारीको चयन बीसौं शताव्दीमा नेपाली समाजलाई सर्वाधिक प्रभाव पार्ने ‘शताव्दी नायक’का रुपमा भयो । १९९४/९५ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) सबैभन्दा ठूलो दलको रुपमा स्थापित भयो र छोटो समय तर अत्यन्त सफल शासन सञ्चालन गर्‍यो । जनताको बहुदलीय जनवादले कम्युनिष्ट आन्दोलनलाई जनतामाझ लोकप्रिय बनाउन, यसको वैधता स्थापित गर्न एवं प्रतिकूल आन्तरिक र वाह्य परिस्थितिका बीचबाट आन्दोलनलाई अगाडि बढाउन ठूलो योगदान गरेको छ । कम्युनिष्ट पार्टी र आन्दोलनका विरुद्ध पुँजीवादीहरूका परम्परागत आरोपहरूलाई निष्प्रभावी बनाइदिएको छ । मार्क्सवादको सिर्जनात्मक विकास, कम्युनिष्ट आन्दोलनको  लोकतान्त्रिकरण र शान्तिपूर्ण एवं वैधानिक माध्यमबाट समाज परिवर्तन जस्ता आज आमरुपमा स्वीकार्य भएका मान्यताहरू स्थापित गर्ने श्रेय मदन भण्डारीद्वारा अगाडि सारिएका विचारहरूलाई जान्छ ।

अर्कातिर, सन् १९९६ फेब्रुअरीबाट माओवादी सशस्त्र विद्रोह सुरु भयो । दस बर्ष लामो उक्त सङ्घर्षले उत्पीडित समुदायमा जागरण ल्याउन, सामन्तवादलाई कमजोर गर्न, संविधानसभा र गणतन्त्रलाई राष्ट्रिय एजेण्डा बनाउन तथा समावेशीकरण जस्ता विषय स्थापित गर्न महत्वपूर्ण योगदान गर्‍यो । नेकपा (एमाले) र नेकपा (माओवादी) बीच राष्ट्रिय राजनीतिका अनेकौं विषयमा गंभीर विमर्शहरू भए र यसले सात दल र माओवादीबीच सहकार्यको आधार निर्माण गर्‍यो, जुन सन् २००६ को ऐतिहासिक परिवर्तनको मुख्य संवाहक थियो । आन्दोलनमा वामपन्थीहरूले वैचारिक र संगठनात्मक रुपमा निर्णायक भूमिका खेले । नेपालमा शान्ति प्रक्रिया प्रारम्भ भयो । दस बर्षभन्दा लामो यस प्रक्रियाको सुखद परिणाम हाम्रा सामु छ– एकातिर हामीले सामाजिक न्याय, जनताका अधिकारसहितको समाजवाद–उन्मुख लोकतान्त्रिक संविधान जारी गरेका छौं भने अर्कातिर भर्खरै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच ऐतिहासिक एकीकरण सम्पन्न भएर बलियो नेपाल कम्युनिष्ट पार्टीको निर्माण गरेका छौं । मार्गदर्शक सिद्धान्त– मार्क्सवाद–लेनिनवाद, कार्यक्रम बहुदलीय प्रतिष्पर्धा र लोकतान्त्रिक मूल्यमान्यतामाथि आधारित जनताको जनवाद, मुख्य कार्यभार– सबल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्दै समाजवादका आधार तयार गर्ने तथा राजनीतिक कार्यदिशा– शान्तिपूर्ण प्रतिष्पर्धाको माध्यमबाट श्रेष्ठता हासिल गर्ने लगायतका विषयहरू यस पार्टीका मुख्य राजनीतिक मान्यताहरू हुन् ।

आज नेपाल कम्युनिष्ट पार्टीसँग सङ्घीय संसद, सातमध्ये छ वटा प्रदेशसभा र बहुसङ्ख्यक स्थानीय सरकारहरूमा झण्डै दुई तिहाई बहुमत तथा ५३ प्रतिशतभन्दा बढी लोकप्रिय मत छ । र, यो सशक्त जनाधारयुक्त पार्टीको रुपमा स्थापित भएको छ । राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको आह्वानलाई समर्थन गर्दै गतः निर्वाचनमा जनताले हामीलाई सरकार सञ्चालनको जनादेश दिएका छन् । आज सरकार ‘समृद्ध नेपाल र सुखी नेपाली’ नारालाई सार्थक पार्न सम्पूर्ण सामथ्र्यका साथ केन्द्रित छ । 

हाम्रा लक्ष्य स्पष्ट छन्– सन् २०२२ सम्म अति अल्पविकसित अवस्थाबाट स्तरोन्नति र सन् २०३० सम्म मध्यम आय भएको मुलुुकमा रुपान्तरण । 

हाम्रो गन्तव्य स्पष्ट छ– नेपाली विशेषतासहितको समाजवाद निर्माण । 

हाम्रा प्राथमिकताहरू स्पष्ट छन्– राष्ट्रियताको सुदृढीकरण, लोकतन्त्रको संस्थागत विकास, सामाजिक सद्भावसहितको राष्ट्रिय एकताको  सबलीकरण, सबै खाले विभेद, असमानता र उत्पीडनको अन्त्य गर्दै सामाजिक न्याय र समानता प्राप्ति तथा छोटो समयभित्रै न्यायोचित वितरणसहितको तीव्र आर्थिक विकास र समृद्धि । 

यसका लागि आर्थिक विकासको बाटो पनि स्पष्ट छ– राज्यको प्रभावकारी र नेतृत्वदायी भूमिका, निजी क्षेत्रको जीवन्त साझेदारी तथा सहकारी र सामुदायिक क्षेत्रको प्रभावकारी भूमिकासहितको आर्थिक नीति, राष्ट्रिय प्राथमिकताका क्षेत्रमा वाह्य लगानी र सार्वजनिक–निजी साझेदारीका विभिन्न ढाँचाहरू । कानुनको शासन, सबै नेपालीलाई बराबर अधिकार र अवसर, सुरक्षा र सम्मान । जनताप्रति उत्तरदायी सरकार, पारदर्शिता, मितव्ययिता र भ्रष्टाचार मुक्त सुशासनको प्रत्याभूतिमा मुख्य जोड ।



उपस्थित महानुभावहरू,
हामीसँग तीन हजार बर्ष भन्दा लामो गौरवपूर्ण इतिहास छ । नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र हो, जहाँ विविध भाषा, संस्कृति र धर्मका जनताको सद्भावयुक्त बसोबास छ । विविधता र बहुलता हाम्रो भूगोल र समाजको पहिचान हो । शान्ति, सहिष्णुता, फरक विचार तथा आस्थाको सम्मान जस्ता गुण हाम्रा वैशिष्ठ्य हुन् । न्याय र लोकतन्त्र हाम्रा सामाजिक गुण हुन् । मिथिला, शाक्य, खस, किराँत र वागमती लगायत प्राचीन सभ्यताले मौलिक ‘नेपालीपन’ निर्माणमा योगदान गरेका छन् ।
 
हाम्रा सिद्धान्तमा समाजका यी विशेषताहरू प्रतिविम्बित भएका छन् ।
 
माथि नै उल्लेख भएको छ, नेपाली जनताको सङ्घर्षका विभिन्न परम्परा छन् । अग्रजहरूका यी ऐतिहासिक परम्पराको विरासतलाई नेपाली कम्युनिष्ट आन्दोलनले आत्मसात गरेको छ र यिनलाई समाजवादी अन्तरवस्तु प्रदान गरेको छ ।

कानुनको शासन, बहुदलीय प्रतिष्पर्धात्मक शासन व्यवस्था, संविधानको सर्वोच्चता, आवधिक निर्वाचन, मानव अधिकार, नियन्त्रण र सन्तुलन, शक्ति पृथकीकरण तथा स्वतन्त्र न्यायपालिका जस्ता विषयहरू सामन्तवाद विरोधी क्रान्तिका दौरान विकसित भएका हुन् । तर कसै कसैले तर्क गरे जस्तो यिनीहरू आफैमा पुँजीवादी विषय होइनन् । यी मानव जातिले आर्जन गरेका उपलव्धिहरू हुन् । पुँजीपति वर्गले आजसम्म आफ्नो सत्तालाई वैधानिक र जनताको पक्षधर देखाउन यिनीहरूलाई प्रयोग मात्रै गरेको हो । श्रमजीवी वर्गले ती अधिकारहरूको प्रयोग गर्दै अगाडि बढ्न थालेपछि र पुँजीवादी शोषणमा धक्का दिन थाले पछि पुँजीपति वर्ग यी लोकतान्त्रिक मूल्यमान्यताबाट पछि हट्दै गएको छ र ‘जन्मसिद्ध श्रेष्ठता’ जस्ता पाखण्डी मान्यतालाई समेत स्वीकार्न पुगेको छ । त्यसैले श्रमजीवी वर्गले यी लोकतान्त्रिक मूल्यहरूलाई आत्मसात गर्नु स्वाभाविक छ । राज्यसत्ताले कुन वर्गलाई प्रतिनिधित्व गर्छ र राज्यसंयन्त्र तथा अर्थतन्त्र कसको नियन्त्रणमा छ भन्ने कुराले राज्यसत्ताको सारलाई निर्धारण गर्छ । शासन प्रणाली त त्यसको रुप पक्ष मात्रै हो । त्यसैले हामीले अवलम्बन गरेको श्रमजीवी वर्ग पक्षधर राज्य तथा लोकतान्त्रिक प्रतिष्पर्धात्मक शासन प्रणालीबीच सङ्गति छ । सार र रुप तथा अन्तरवस्तु र आकृति सम्बन्धी मार्क्सवादी दर्शनको आलोकमा हेर्दा यसबारे थप स्पष्ट हुन सकिन्छ ।
 
समाजको चरित्र वर्गीय र विविधतायुक्त रहँदासम्म समाजको यस चरित्रसँग तादात्म्यता हुने गरी बहुदलीय प्रणाली कायम हुने कुरा स्वाभाविक हुन्छ भन्ने हामी ठान्दछौं । त्यसैकारण हामीले प्रतिष्पर्धा र पहलकदमीबाट श्रेष्ठता हासिल गर्ने नीति लिएका हौं । समाजलाई पछि फर्काउन, विभाजन र विखण्डन गर्न तथा परिवर्तनलाई उल्ट्याउन खोज्नेहरूलाई स्वयं संविधान र कानुनले नियन्त्रण गर्छ, गर्नु पर्छ । 

कम्युनिष्टहरू जनताको हितको प्रतिनिधित्व गर्ने अगुवाहरू हुन् । तसर्थ उनीहरूले जनताले मन नपराउने÷नस्वीकार्ने अभ्यास, आचरण र शैली अपनाउनु हुँदैन । 

विश्वमा औपनिवेशिक युग छाएको, राष्ट्रहरू दबाइएको, स्वाधीनताको हक र आकाङ्क्षामाथि क्रूर विदेशी आक्रमण थोपरिएको बेला, अनि तानाशाही सत्ताले जनतामाथि पशुवत व्यवहार गर्दै अत्याचारको बुटमुनि थिचेर राखेको समयमा जनताको तर्फबाट हुने प्रतिवाद, विद्रोह र बलप्रयोग स्वाभाविक थियो । तर हिंसा क्रान्तिको अपरिहार्य साधन या सिद्धान्तको बिषय होइन । अब समय र परिस्थिति फेरिएको छ । औपनिवेशिक युग समाप्त भएको छ । आम रुपमा तानाशाही प्रणालीहरू ढलेका छन् । एक्काइसौं शताव्दीमा आइपुग्दा समाजको शान्तिपूर्ण तथा लोकतान्त्रिक रुपान्तरणको बाटोलाई संभव देखिएको छ । शान्तिपूर्ण र वैधानिक बाटो एवं विधिको प्रयोगको छुट र अवसर उपलव्ध भएको अवस्थामा हिंसा रोजाइको विषय हुन सक्दैन । यस्तो अवस्थामा समुद्रको किनार या छिपछिपे पानीमा उभिएर क्रान्तिरुपी छालको गफ होइन, सम्बन्धित देशका जनताको गहिरो समुद्रमा पस्नु र छालहरूसँग मुकाबिला गर्दै  श्रेष्ठता हासिल गर्नु जरुरी छ । 

त्यसैले हामीले आफैले निर्माण गरेको संविधानको बाटोबाट, जनताको अभिमतको शान्तिपूर्ण माध्यमबाट समाजवाद निर्माण गर्ने मौलिक बाटो पहिल्याएका छौं ।

‘समृद्ध नेपाल र सुखी नेपाली&