काठमाडौं,१९ जेठ,प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारहरुले अब निराशाका गीत गाउनु नपर्ने बताउनुभएको छ ।
साँस्कृतिक संस्थानले आज आयोजना गरेको जनगायक रामेश श्रेष्ठको अभिनन्दन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले निरंकुशताको विरुद्ध जनता जगाउन रामेशले गाएका गीतले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । जनता जगाउने कलाकारको खोजीमा आफू २०२६ सालतिर जेबि टुहुरे र लव प्रधानलाई भेट्न मधुमल्ला गएको प्रसंग सुनाउदै प्रधानमन्त्री ओलीले भन्नुभयो “२०३० सालमा म जेल परें । तर पनि हामी जित्ने छौं एकदिन भन्ने गीत सम्झिएर आत्मविश्वास घटेन ।”
रामेशहरुले दशका लागि गाएको गीतले सार्थकता पाएको प्रधानमन्त्री ओलीको भनाइ छ । सबैको योगदानले देशमा परिवर्तन आएको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले भन्नुभयो “अब हामी समृद्ध नेपाल,सुखी नेपाली बनाउछौं । कलाकारहरुले अब निराशाका गीत गाउनु पर्दैन ।”
कुनै बेला जनता जगाउन गाऊँ गाऊँबाट उठ बस्ती बस्तीबाट उठ बोलको गीत रचना गरेका र गाएका कलाकारलाई त्यस गीतका अरु भागहरु रचना गर्न र गाउन पनि प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ । “हिजो फरक प्रसंगमा यो गीत गाउनु भएको थियो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “आज देश निर्माण गर्ने सन्दर्भमा यो गीतको नयाँ भाग ल्याएर जनतालाई फेरी जगाउनुहोस ।”
कार्यक्रममा प्रधानमन्त्री ओली लगायत उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोख्रेल, पूर्व प्रधानमन्त्री झलनाथ खनाल र मन्त्रीहरुले गायक रामेशलाई गीत संगितको क्षेत्रमा नेपाली समाजलाई अतुलनीय योगदान पु¥याएकोमा अभिनन्दन गर्नुुभएको छ । यसैगरी गायक रायनलाई पनि कार्यक्रममा सम्मान गरिएको छ ।
कार्यक्रममा रामेश लगायतका कलाकारले विभिन्न गीतहरु प्रष्तुत गर्नुभएको थियो ।