NP EN

प्रधानमन्त्री अोलीद्वारा कृषि परियोजना अवलोकन

ल्हासा, ९ असार, प्रधानमन्त्री ओलीलगायतको नेपाली प्रतिनिधिमण्डलले क्यूशी काउन्टीमा रहेको ‘चाइना नेशनल मोर्डन एग्रिकल्चर पाइलट जोन’को आज अवलोकन गरयो । तिब्बत जनसरकारले तिब्बतमा आधुनिक कृषि प्रणाली अपनाउन ‘पाइलट जोन’ बनाएको हो । कृषिलाई आधुनिकीकरण गरेर उत्पादन बढाउने र धेरै भन्दा धेरैलाई रोजगारी प्रदान गर्ने लक्ष्यका साथ तिब्बत जनसरकारले काम गरिरहेको छ । 

यसैगरी, प्रधानमन्त्री ओलीले ‘फोर सिजन ह्याप्पी भिलेज’ पुगेर त्यस गाउँका बारेमा पनि जानकारी लिनुभयो । चिनियाँ कम्युनिस्ट पार्टीले स्थापना गरेको सो एकीकृत गाउँ पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । 

पोताला दरबार र जोखान मन्दिरको भ्रमण 

नेपाली प्रतिनिधिमण्डलले आजै पोताला दरबार र जोखान मन्दिरको भ्रमण गरेको थियो । गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री ज्ञवाली, भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलगायतका नेपाली प्रतिनिधि भ्रमणमा सहभागी हुनुहुन्थ्यो । 

विश्व सम्पदा सूचीमा सन् १९९४ मा सूचीकृत पोताला दरबार राजा स्रङचङ गम्पोले एक हजार ३०० वर्ष पहिले निर्माण गर्नुभएको हो । यस्तै, विश्व सम्पदा सूचीमा रहेको जोखान मन्दिर तिब्बतको प्रमुख आर्कषण हो । 

चीन भ्रमण सकेर प्रधानमन्त्री ओली आइतबार बिहान स्वदेश फर्कनुहुने कार्यक्रम छ ।