NP EN

​ समाजवाद आउन कसैले रोक्न सक्दैन : प्रम ओली

काठमाडौं १४ असार,-प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवाद आउन कसैले रोक्न नसक्ने बताउनुभएको छ । जननेता मदन भण्डारीको ६७ औं जन्मजयन्तीका अवसरमा आयोजित नेपालमा समाजवादका आधार बिषयक बिचार गोष्ठीमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभयो ।प्रधानमन्त्री ओलीले विकासको बाधकका रुपमा रहेका असुरक्षित बस्ती,दुर्गमा ठाउँबाट उठाएर एकिकृत बश्ती सुरु गर्ने बताउनुभयो । “अब दुर्गमबाट सुगमतिर आउछ समाजवाद” प्रधानमन्त्री ओलीले भन्नुभयो “कृषिको आधुनिकीकरण गरेर समाजवाद आउछ । ”

जनताले आफूहरुलाई दिएको विश्वास सालिनताका साथ पुरा गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । राष्ट्रियताको सवालमा नेपालमा अहिले मात्र स्पष्ट दृष्टिकोण बनेको प्रधानमन्त्री ओलीको भनाइ छ । “पहिला पहिला नेपाल सार्वभौम देश हो भनेर भन्न पनि हिचकिचाउनु पर्ने अवस्था थियो” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर अब बिना हिचकिचाहट नेपाल सार्वभौमसत्ता सम्पन्न देश हो भन्ने अवस्थामा आइपुगको छ ।”

दुई ठुला कम्यूनिष्ट पार्टीको एकिकरणले नेपालमा नयाँ आशा र उत्साह सृजना गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । पुष्पलालले स्थापना गरेको पार्टीको उद्धेश्य विविध कारणले पुरा हुन नसकेपनि त्यो उद्धेश्य अब पुरा हुने बताउनुभएको छ । “पुष्पलालको उद्धेश्य पुरा गर्न मदन भण्डारीले केही प्रयास गर्नुभएको थियो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यो लक्ष्यमा पुग्न अब हामीलाई केही कुराले छेक्न सक्दैन ।”



प्रधानमन्त्री ओलीले अघिल्लो सरकारले देशको अर्थतन्त्र खोक्रो पारेकोले बचनबद्धता अनुसार ज्येष्ठ नागरिकको भत्ता बढाउन नसकेको बताउनुभयो । “यसपाली ज्येष्ठ नागरिकका लागि विमाको व्यवस्था गरियो । अर्को बर्ष भत्ता वृद्धि हुन्छ ढुक्क हुनुहोस ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले अहिलेको समयलाई विकास,समृद्धि र एकताको समय हो भन्नुभएको छ । “यो सबै काम अब नेकपाको नेतृत्वमा हुन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले मदन भण्डारीलाई २१ औं शताब्दीलाई सर्वाधिक प्रभाव पार्न सक्ने राजनीतिज्ञ भएको बताउनुभएको छ । कार्यक्रममा  प्रधानमन्त्री ओलीले चित्रकार हरी  प्रसाद शर्मालाई मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्नुभएको थियो भने  सगरमाथामा फाउण्डुसनको झण्डा फहराउने  आरोही लाक्पा गेलु शेर्पालाई पनि सम्मान गर्नुभएको  थियो ।