पोखरा ३ साउन,प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सद्धभाव कायम नभए राष्ट्रिय एकता कायम हुन नसक्ने बताउनुभएको छ । आज गण्डकी प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय एकता कायम नभएसम्म देशमा विकास हुन नसक्ने बताउनुभएको छ । “हामीले विकासका प्रयास चौतर्फी रुपमा अघि बढाउनु पर्नेछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हाम्रोमा विकासका सम्भावना असाधरण छन् । तिनलाई अघि बढाउने इच्छा शक्ति हामीमा हुनु पर्दछ । ”
प्रधानमन्त्री ओलीले गण्डकी प्रदेशमा अझ धेरै सम्भावना रहेको बताउनुभएको छ । यो प्रदेश पौराणिक महत्वको,स्रोतको प्रचुर सम्भावना भएको,नेपाल एकिकरणका ऐतिहासिक प्रारम्भिक थलो पनि यही प्रदेशमा रहेको प्रधानमन्त्री ओलीले बताउनुभयो । “तिब्बत देखि त्रिवेणीसम्म फैलिएको गण्डकी प्रदेश पर्यटन, उर्जा,शिक्षा,स्वास्थ्यका लागि असाधारण सम्भावना बोकेको ठाउँ हो” प्रधानमन्त्री ओलीले भन्नुभयो “यी सम्भवनालाई उचित प्रयोग गरेर यस प्रदेशलाई समृद्ध बनाउने जिम्मा प्रदेश सरकार र स्थानीय तहको हो । यसमा केन्द्रीय सरकारको भरमुग्ध सहयोग रहन्छ ।”
संघीय संरचना र प्रदेश सरकारको पहिलो अभ्यास भएकोले केही सरकार सञ्चालनमा केही असजिलो भएपनि आफ्नो अनुभवले खारिदै जानु पर्ने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । “हामी एउटा नौलो अभ्यासमा छौं । यस अघि हामीसंग प्रदेश सरकार सञ्चालन गरेको अभ्यास थिएन” प्रधानमन्त्री ओलीले भन्नुभयो “अब आफ्नै अनुभवबाट सिक्दै यस प्रणालीलाई मजवुद बनाउनु पर्दछ । ”
प्रधानमन्त्री ओलीले आफ्नो लोकतन्त्रप्रतिको निष्ठामा केही मानिसहरुले शंका गरेको देख्दा आफैलाई अचम्म लागेको बताउनुभएको छ । आधा शताब्दी भन्दा बढी समय लोकतन्त्रका लागि आफूले संघर्ष गरेको सम्झदै प्रधानमन्त्री ओलीले भन्नुभयो “मैले नेतृत्व गरेको बेला लोकतन्त्र गुम्छ भन्नु आफैंमा हास्यास्पद छ ।”