NP EN

​उद्यमीहरुसँग प्रधानमन्त्रीको स्पष्टोक्ति– दोहोरो कर तिर्नु पर्दैन

काठमाडौं, २६ साउन- प्रधानमन्त्री केपी शर्मा ओलीले उद्यमी र सर्वसाधारणलाई दोहोरो करमा पर्न नदिने वताउनु भएको छ । उद्योग वाणिज्य महासंघको टोलीसँग शनिवार अन्तक्र्रिया गर्दै प्रधानमन्त्री ओलीले तीन तहको सरकार रहने संवैधानिक प्रणाली कार्यान्वयनमा लैजाँदा देखिएका ब्यवहारिक कठिनाई अन्त्य गर्ने पनि वताउनुभयो । 

अन्तक्र्रियामा उद्यमीहरुले स्थानीय, प्रादेशिक र संघीय सरकारको तेहरो करमा उद्यमीहरु परेको भन्दै गुनासो गर्नु भएको थियो । नयाँ संरचनाको प्रयोगमा पहिलो पटक गएकाले सो अनुसार काम गर्न केहि ब्यवहारिक कठिनाईहरु देखिएको वताउँदै प्रधानमन्त्री ओलीले नयाँ जुत्ता जतिसुकै राम्रो भए पनि सुरु सुरुमा अप्ठ्यारो हुने वताउनु भयो । 

‘उद्योग वाणिज्य सम्बन्धि नीति तपाईंहरुजस्तो उद्यमी व्यवसायी र नेपाल उद्योग वाणिज्य महासंघका साथीहरु बसेरै तय गरिने हो । जहाँ पनि कर लाग्नु हुँदैन, दोहोरो तेहेरो कर लाग्दैन, त्यो मिलाउँदैछौं । जहाँ बाँस पायो त्यहिँ ढाट उठाउन पाइंदैन’ प्रधानमन्त्रीले भन्नुभयो, ‘जस्तोसुकै राम्रो होस् नयाँ जुत्ता अलिकति अप्ठ्यारो हुन्छ । तलुवा घोटिए पनि पुरानो जुत्ता सहज लाग्छ । हामीले एउटा नयाँ संविधानलाई एड्जस्ट गर्न समय लाग्छ ।’ 



समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय अभियान सरकारको मात्र नभएको वताउँदै प्रधानमन्त्री ओलीले सवै पेशा व्यवसाय र क्षेत्रका नेपालीको अभियान भएको वताउनु भयो । ‘कुनै पनि वस्तुलाई एकातिरबाट मात्रै उठाउँदा त्यो अर्काेतिर पल्टिन्छ, सवैतिरबाट उठाउँमा माथि उठ्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘हामी नेपाललाई गरिव देशबाट धनी देश, पछौटे देशबाट सम्पन्न देश, बेरोजगारबाट रोजगार देश बनाउन लागेका छौं । त्यसका लागि हामीसँग आधार पनि छ, स्थिर सरकार र सरकारको स्थायी नीति पनि छ ।’ 

नेपालमा भएका प्राकृतिक स्रोत साधन र कार्यशील जनशक्तिलाई प्रयोग गर्दै उत्पाद, रोजगारी, आत्मनिर्भरता र निर्यात गर्ने देशका रुपमा विकसित गरिने प्रधानमन्त्रीले वताउनुभयो । ‘हामीकहाँ मलिलो माटो छ, सिंचाईका लागि खोलानाला छन्, फलाम खानी यहिँ छ, ढुंगा वालुवा यहिँ छ, २५ प्रतिशत वर्किङ पपुलेशन बाहिर जाँदा पनि निर्वाह भइरहेको अवस्था छ’ प्रधानमन्त्रीले भन्नुभयो, ‘यी सवै स्रोत साधनलाई उत्पादनमा लगाउने सरकारको नीति छ र त्यसपछि हाम्रा सो रुममा अरुले उत्पादन गरेका सामान होइन् आफ्नै उत्पादनका सामान हुनेछन् ।’ 

प्रधानमन्त्रीले मजदूरहरुलाई न्युनतम पारिश्रमिक दिंदा त्यसले नोक्सान परेको नठान्न उद्यमीहरुसँग आग्रह गर्नुभयो । उहाँले चन्दाका नाममा हुने लूट अन्त्य गर्नुपर्ने तर, मजदूरलाई पारिश्रमिक दिन मन खुम्च्याउन नहुने वताउनुभयो । ‘चन्दाका नाममा हुने लूटपाटको अन्त्य गर्नुपर्छ, त्यो चन्दा होइन डकैती हो’ प्रधानमन्त्रीले भन्नुभयो, ‘श्रमिकलाई न्युनतम पारिश्रमिक दिंदा घाटा पर्दैन । तपाईंहरुले श्रमिकलाई तोकेको न्युनतम पारिश्रमिकबाट उनीहरुको परिवार चल्छ भन्नेतर्फ विचार गर्नुस् ।’ यसअघि उद्यमीहरुले सबै उद्योगहरुले मजदूरहरुलाई सरकारले तोकेको न्युनतम पारिश्रमिक दिन नसक्ने वताउनु भएको थियो । 

नेपाल उद्योग वाणिज्य महासंघको भर्खरै सम्पन्न राष्ट्रिय भेलाले निकालेका निश्कर्ष र सुझावहरु प्रधानमन्त्री समक्ष प्रस्तुत गर्न महासंघको  टोली बालुवाटार आएको हो । महासंघका अध्यक्ष भवानी राणा, पूर्व अध्यक्ष चण्डीराज ढकाल लगायतका पदाधिकारी प्रतिनिधि मण्डलमा सामेल हुनुहुन्थ्यो ।