काठमाडौं ३१ साउन, प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीहरुलाई आफ्ना गतिबिधी कृषिमा केन्द्रीत गर्न आग्रह गर्नुभएको छ । राष्ट्रिय सहकारी महासंघको प्रतिनिधी मण्डलसँग आज सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गर्नुभएको हो ।
प्रधानमन्त्री ओलीले कृषिमा देशको करिब दुई तिहाइ जनसंख्या निर्भर भएकोले यो क्षेत्रलाई आधुनिकीकरण नगरी देशमा समृद्धि हासिल नहुने बताउनुभएको छ । “सहकारीले कृषिमा आधुनिकीकरणका लागि खेती प्रणालीलाई ठुला–ठुला प्लटमा लैजानु पर्छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “कृषिमा यान्त्रिकीकरण र प्रविधिको प्रयोगबाट उत्पादन र उत्पादकत्व दुवै बढाउन सकिन्छ । यो कुरा सहकारीको प्राथमिकतामा हुनुपर्दछ । ”
प्रधानमन्त्री ओलीले सहकारीहरु ऋण तथा बचतमा मात्र केन्द्रीत हुुनु नुहने बताउनुभएको छ । “सहकारीहरुले उपभोग्य वश्तु,निर्यातजन्य वश्तुको उत्पादनमा जोड दिनु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो । किसानलाई आधुनिक खेती तर्फ प्रोत्साहन गर्नका लागि सहकरीले सस्तो व्याजमा ऋण उपलब्ध गराउनु पर्ने र त्यसका लागि सरकारले सहकारीहरुलाई सहयोग गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “वर्तमान सरकार सहकारी मैत्री छ । सहकारीले भोगेको कानुनी अफ्ठयारालाई हल गर्न सरकार तयार छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “कुन ऐनले कहाँ कहाँ अफ्ठ्यारो पारेको छ । लेखेर ल्याउनुहोस । त्यसलाई सम्बोधन गर्न सरकार तयार छ ।”
सरकारले लागु गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई सफल पार्न पनि सहकारीहरुको ठुलो भूमिका हुने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले परियोजना मार्फत १ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा गरिने खेतीलाई सुपर जोन र ५ सय हेक्टर भन्दा बढी क्षेत्रफलमा गरिने खेतीलाई जोनको रुपमा विकास गरिएको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो “चक्ला बन्दी भएको जग्गालाई भडामा लिएर एउटै प्लट बनाएर ठुलो मात्रामा खेती गर्ने काम सहकारीहरुले गर्नुपर्दछ । ”
महासंघका अध्यक्ष केशव वडालले प्रस्तावित सहकारी ऐनमा भएका केही प्रावधानहरु सच्याउन माग गर्द प्रधानमन्त्री ओलीलाई एक ध्यानआकर्षण पत्र पेश गर्नुभएको छ ।