जनकपुर २ भदौ-प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संघर्षको युग समाप्त भएकोले अब विकास र समृद्धिमा एकतावद्ध भएर अघि बढ्न सबैलाई आग्रह गर्नुभएको छ । प्रदेश नं २ को प्रदेशसभालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । “अब संघर्ष होइन विकास निर्माणमा सहकार्य गरौं” प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले प्रदेशले स्थानीय तह र संघीय सरकारसँग कुनै किसिमको द्वन्द्व नरहेको स्पष्ट पार्नुभयो प्रधानमन्त्री ओलीले राजनीतिलाई जीतहार र दाउपेच होइन राष्ट्र निर्माणको माध्यम बनाउनु पर्ने बताउनुभएको छ ।
प्रदेश नं २ अथाह सम्भावना भएको प्रदेश भएकोले यसको भरपुर उपयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “तराईको उर्वर जमिन सिंचाइ नभएर मरुभूमीमा परिणत भएको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर यो समय अब लामो रहदैन । सुनसकोशी– मरिन–कमला डाइभर्सनबाट यस प्रदेशमा सिंचाइको व्यवस्था गर्न केन्द्र सरकारले योजना बनाइसकेको छ ।” चुरे क्षेत्रमा ठुला ठुला ड्याम बनाएर तराइको जमिनमा चिस्यान कायम राख्ने र यहाँको कृषि उत्पादकत्व बढाउन यो सहयोगी हुने प्रधानमन्त्री ओलीले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले तराइको कृषिलाई आधुनिकीकरण गर्नुपर्ने,सहकारी मार्फत ठुला ठुला प्लटहरुमा एकै प्रकारको खेती गरेर ठुलो मात्रामा उत्पादन गर्नुपर्ने सुझाव प्रधानमन्त्रीको छ । प्रधानमन्त्री ओलीले कृषिको उत्पादन बढाउन तराईमा ठुला मल कारखाना खोल्ने आस्वासन दिनुभयो ।
प्रधानमन्त्री ओलीले प्रदेश नं २ लाई भाग्यमानी प्रदेशको संज्ञा दिनुभएको छ ।“पूर्व पश्चिम राजमार्ग यही प्रदेशबाट,पूर्व पश्चिम रेल यही प्रदेशबाट ,उतर दक्षिण रेल यसै प्रदेशबाट कोशीबाट कोलकत्ता पानीजहाज यसै प्रदेशबाट सञ्चालन हुदैछन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “यति अथाह सम्भावना भएको यस प्रदेशका जनतामा गरिबी र पछौटेपन हुनु सुहाउन कुरा होइन । यस कुराको अन्त्य गर्नुपर्छ ।”
प्रधानमन्त्री ओलीले आफू अघिल्लो पटक प्रधानमन्त्री हुँदा जनता आवास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरे पनि विवादका कारण सञ्चालन हुन नसकेको बताउनुभयो । त्यस कार्यक्रमलाई यसपाली पुन सञ्चालन गर्ने जानकारी दिंदै प्रधानमन्त्री ओलीले प्रदेश नं २ मा यस बर्ष ८ हजार सुरक्षित घर बनाएर आवास विहिनहरुलाई वितरण गरिने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले २ नं प्रदेश सधैं आगलागीको जोखिममा परेकोले त्यसलाई न्यूनिकरण गर्न सरकारले जस्तापाता कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ । “फुसको छानाबाट आगलागीको फैलावट हुने भएकोले त्यसलाई रोक्नका लागी टिनका छाना लगाउन हरेक घरलाई ५० हजार रुपैंया वितरण गरिनेछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले प्रदेश नं २ मा सुरक्षित बसोबास कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन गरिने बताउनुभएको छ । जसका लागि ७ वटा त्यस्ता बस्ती यसै बर्ष देखि सुरु गरिने प्रधानमन्त्री ओलीले बताउनुभयो ।
बेला बेलामा उठ्ने गरेको नागरिकताको समस्या अब नरहने प्रधानमन्त्री ओलीले बताउनुभयो । “नेपालका हरेक नागरिकले नागरिकता प्रमाण पत्र पाउछन् ” जन्मसिद्ध नागरिकका छोराछोरीले वंशजको नागरिकता स्वतः पाउछन् । संविधान कानुनमा यो बिषयमा कही कतै नमिल्दा व्यवस्था छन् भने ति तरुन्त संसोधन हुनेछन् ।
प्रधानमन्त्री ओलीले प्रदेश नं २ का जनतालाई शिक्षा र स्वास्थ्य सुविधा दिनका लागि धनुषामा रहेको राजर्शी जनक विश्व विद्यालयलाई नयाँ व्यवस्थापनका साथ सञ्चालन गर्ने र राजविराजमा मेडिकल कलेज स्थापना गर्ने पनि बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले आफू लामो समयसम्म विभेदका विरुद्ध लडेकोले आफूबाट विभेद कसैलाई नुहने स्पष्ट पार्नुभयो । संविधान,कानुनले पनि कसैले विभेद नगरेको स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले त्यस्ता विभेदकारी व्यवस्था संविधानमा भए त्यसलाई संसोधन गरिने बताउनुभएको छ ।
तराईमा व्याप्त दायजो र बोक्सी प्रथाको अन्त्यका लागि सबै पक्ष एकजुट भएर सामाजिक अभियान चलाउनु पर्ने प्रधानमन्त्री ओलीको सुझाव छ ।