NP EN

​राजनीतिक आन्दोलन सकियो, अब विकास–निर्माणको अभियान : प्रम ओली

धनुषा, २ भदौ- प्रधानमन्त्री केपी शर्मा ओलीले अब राजनीतिक आन्दोलन सकिएकाले विकास निर्माणको अभियान सञ्चालन गर्नुपर्ने बताउनुभएको छ । सहिद रामवृक्ष यादवको २४ औं स्मृति विदशको अवसरमा धनुषाको बरमझियामा आयोजत स्मृतिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

राजनीतिक अधिकार प्राप्तीको लडाईं सकिएकोले अब सबै एकताबद्ध भएर विकास निर्माणमा लाग्नु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “सहिद रामवृक्ष यादवले अधिकार प्राप्तीका लागि बलिदानी गर्नुभयो” प्रधानमन्त्री ओलीले भन्नुभयो “अबको पुस्ताले अधिकार प्राप्तीका लागि लडाईं लड्नु पर्दैन । यही अधिकारलाई प्रयोग गरेर विकास निर्माणको काममा लागे पुग्छ ।”

प्रधानमन्त्री ओलीले गरिब र निमुखाहरुको वास्तविक प्रतिनिधित्व गर्ने मजवुद कम्यूनिष्ट सरकार देशमा भएकोले अब कसैले पनि दुःख,गरिबी र पछौटेपनमा बाँच्नु नपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । केही तत्वहरुले जननिर्वाचित सरकारलाई काम गर्न नदिने हर्कत गर्न खोजेकोमा त्यस्ता तत्वहरुलाई जनताले पहिचान गरेर निस्तेज पार्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “हामी समाजवाद तर्फ उन्मुख व्यवस्था तर्फको यात्रा तय गर्दैछौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “यो व्यवस्थामा कोही पनि हेपिनु पर्दैन,कसैले पनि अछुत भनेर विभेद सहनु पर्दैन ।”



प्रधानमन्त्ती ओलीले प्रदेश नं २ मा कृषिको आधुनकिकरण मार्फत समृद्धि हासिल गर्न सकिने बताउनुभएको छ । “सिचाइको अभावमा तराई सुख्खा र मरुभुमिकरण भएको छ ” प्रधानमन्त्ती ओलीले भन्नुभयो “यहाँ सिंचाइको व्यवस्था गरेर,कृषिको आधुनिकीकरण माफर्त यहाँका जनतालाई धनी बनाउन सकिन्छ । त्यस दिशातर्फ सरकारले योजना बनाउछ ।” प्रधानमन्त्री ओलीले प्रदेश नं २ को विकासका लागि आफू प्रतिवद्ध भएको भन्दै यहाँका जनताको आवश्यकता र माग अनुसारका योजना बनाएर संघीय सरकारलाई पठाउन प्रदेश सरकारलाई आग्रह गर्नुभएको छ ।

मधेसमा विद्यमान बोक्सी र दाइजोप्रथालाई अविलम्ब अन्त्य गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “सुधार हामी आफैंबाट पनि सुरु गर्नु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “आमा दिदी,बहिनीलाई बोकसी भनेर अमानवीय व्यबहार गर्ने काम बन्द गर्नुपदर्छ । समाजले दहेजको लोभ गर्न पनि पनि बन्द गर्नुपर्दछ ।”