NP EN

​संघीयताको सवलीकरणका लागि सबैले मेहनत गर्नुपर्दछ : प्रम ओली

काठमाडौं ३ भदौ, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा संघीयता कलिलो प्रणालीका रुपमा रहेकोले यसको सवलीकरणका लागि सबैले  मेहनत गर्नुपर्ने बताउनुभएको  छ । संघीय संसदका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाधक्ष्य र सातै प्रदेशका सभामुख, उपसभामुखसँग आफ्नै निवास बालुवाटारमा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

“कुनै पनि भौतिक संरचना निर्माण गरेर ढलान मजवुद हुनका लागि पनि कम्तीमा तीन हप्ताको समय चाहिन्छ । यस समयमा टेकोको साहारा लिनु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “कलिलो अवस्थाको हाम्रो संघीयताको टेको खुस्काउन अहिले देखि नै प्रयासहरु भएका छन् । यस्ता प्रयासलाई परास्त गर्नुपर्दछ ।”

स्थानीय तहले लगाएको करको बिषयमा अनेक खालका अनर्गल प्रचार आएको प्रधानमन्त्री ओलीको भनाइ छ । “करका बिषयमा हाम्रा जनप्रतिनिधिलाई धेरै जानकारी नभएको हुनसक्छ अथवा हामीले कर बुझेको कर्मचारी स्थानीय तहमा पु¥याउन सकेनौ” प्रधानमन्त्री ओलीले भन्नुभयो –कतिपयले हुँदै नभएको करको बिषयमा हुँदै नभएको कुरा उछालेर पनि समस्या सृजना गरेका छन् ।”

प्रदेशका सभामुख र उपसभामुखले प्रदेश संसदले कर्मचारी अभावको समस्या, गाडीको असुविधा, भौतिक संरचनाको अभावले विभिन्न समस्या व्योहोर्नुपरेको गुनासो गर्नुभएको छ । यसैगरी अहिलेको  मर्यादाक्रम पनि सच्याउनु पर्ने उहाँहरुको माग छ ।  उहाँका माग पुरा गर्न र प्रदेशलाई सवलीकरण गर्न संघीय सरकार सकारात्मक रहेको प्रधानमन्त्रीले बताउनुभएको छ ।