NP EN

​सुदृढ संरचनाबाटै चुनौति समाधान गर्न सकिन्छः प्रधानमन्त्री ओली

काठमाडौं, १५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुदृढ संरचनाबाटै क्षेत्रीय समस्या समाधान गर्न सकिने बताउनुभएको छ ।

आज काठमाडौंमा बिम्स्टेक सम्मेलन समापन मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्रीले सामूहिकताबाटै चुनौतीहरुको समाधान गर्न सकिने उल्लेख गर्नुभयो । ‘‘शान्तिपूर्ण, समृद्ध र दीगो बंगालको खाडीको लक्ष्यलाई चौथो बिम्स्टेक शिखर सम्मेलन घोषणापत्रमा समावेश गरिएको छ,’’ उहाँले भन्नुभयो, ‘‘काठमाडौं शिखर सम्मेलन बिम्स्टेकलाई गतिशील, प्रभावकारी र परिणाममुखी क्षेत्रीय संगठन बनाउन महत्वपूर्ण साबित भएको छ ।’

बिम्स्टेकको ठोस वैधानिक जग बसाल्ने उद्देश्यका साथ घोषणापत्र (चार्टर) तयार गर्न स्थायी कार्यसमितिलाई जिम्मेवारी दिइएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । ‘‘हामीले गरेका समझदारी र निर्णयहरुको पूर्ण कार्यान्वयन भएको खण्डमा क्षेत्रीय विकासको फल जनतासमक्ष पुग्न सक्नेछ,’’ उहाँले भन्नुभयो, ‘‘हाम्रा प्रतिबद्धतालाई कार्यान्वयनमा लैजाने कुरा आगामी दिनमा ठूलो चुनौती हुनेछ भावी नेतृत्वले यस चुनौतीलाई सहजै सामना गर्नुहुनेछ ।’’

सम्मेलन समापनसँगै प्रधानमन्त्री ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनालाई बिम्स्टेकको अध्यक्षता हस्तान्तरण गर्नुभएको छ ।