NP EN

​निर्मलाका हत्यारा पत्ता लगाउन सरकार गम्भीर : प्रधानमन्त्री ओली

काठमाडौं, १ असोज, प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मलाका हत्यारा पत्ता लगाउन सरकार गम्भीर रहेको बताउनुभएको छ । कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या भएकी निर्मला पन्तका बाबुआमासँग कुरा गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले निर्मलाको हत्या भएकै दिन देखि वास्तविक अपराधीको खोजी गर्न प्रहरीलाई निर्देशन दिएइको प्रधानमन्त्री ओलीको भनाइ छ । “घटनाको वास्तविकता पत्ता लगाउन र दोषीलाई कानुनी कठघरामा ल्याउनका लागि  डिआइजीको नेतृत्वमा उच्च स्तरीय छानविन समिती गठन गरिएको छ । केही प्रहरीहरुलाई निलम्बन गरिएको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तपाईंहरु ढुक्क हुनुहोस । घटनाको गहिराई सम्म पुगेर पनि निर्मलाका हत्यारा पत्ता लाग्छन् । उनीहरुलाई कानुनी कठघरामा उभ्याइन्छ ।”

प्रधानमन्त्री ओलीले निर्मलाको अभिभावक आफू पनि भएकोले घटनामा गम्भिर भएको बताउनुभएको छ । “निर्मला मेरी पनि छोरी हुन् । उनी नेपालकी छोरी हुन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “सरकारले निर्मलाका हत्यारा पत्ता लगाउन प्रहीलाई कडा निर्देशन जारी गरेको छ ।”



केही समय यता बलात्कार र हत्याका घटनामा  वृद्धी भएकोमा  प्रधानमन्त्रीले चिन्ता व्यक्त गर्नुभएको छ । “कञ्चनपुरमा त्यत्रो घटना भएको छ । फेरी त्यही ठाउँमा अरु यस्ता घटना दोहोरिरहेका छन् । यो गम्भिर बिषय हो” प्रधानमन्त्री ओलीले भन्नुभयो । 

निर्मलाको हत्यारा पत्ता लगाइदिन भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा  आज निर्मलाका बाबुआमा,कञ्चनपुरका राजनीतिक दल,अधिकारकर्मीहरुको टोली  आएको थियो ।