न्यूयोर्क, १३ असोज: प्रधानमन्त्री केपी शर्मा ओलीले आज अमेरिकाका लागि नेपाली महावाणिज्य दूतावासको निरीक्षण गर्नुभयो ।
उहाँलाई कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराई तथा दूतावासका अन्य कर्मचारीले दूतावासका कामकारवाहीका विषयमा जानकारी दिनुभएको थियो ।
उक्त अवसरमा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले कर्मचारीले राखेका समस्या तथा कठिनाइ समाधान गर्न पहल हुने जानकारी दिनुभयो ।
दूतावासले आज प्रधानमन्त्री तथा प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गरेको थियो । उक्त अवसरमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य पनि सहभागी हुनुहुन्थ्यो ।
उक्त अवसरमा प्रधानमन्त्री ओलीका साथमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका नेपाली राजदूत अर्जुनकुमार कार्की, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी रहनुभएको थियो । (विशेष प्रतिनिधि सुरेन्द्रबहादुर नेपाली–रासस)