काठमाण्डौ । प्रधानमन्त्री के.पी. शर्मा ओलीले डायस्पोराको माध्यमबाट नेपालको ज्ञान क्षितिजको विस्तार गर्नु पर्ने विचार व्यक्त गर्नु भएको छ । पहिलो एनआरएन ग्लोबल नलेज कन्भेन्सनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गैर आवासीय नेपाली संघले संसारभर छरिएका नेपाली समूदायलाई एकतावध्द गर्न र उनीहरुको स्रोतलाई मातृभूमिको विकासका लागि सदुपयोग गर्न निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गर्नु भयो ।
गैरआवासीय नेपाली समूदायले मातृभूमिका लागि गर्दै आएको योगदानको कदर गर्दै नेपालको विधमान संविधानले नै आर्थिक, सामाजिक तथा साँस्कृतिक अधिकारहरुसहितको गैरआवासीय नेपाली नागरिकताको व्यवस्था गरेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नु भयो, सरकारले संवैधानिक प्रावधानलाई मूर्तता प्रदान गर्न आवश्यक कानूनी व्यवस्था मिलाउने छ ।
नेपालले छोटो समयमा द्रूत गतिले विकास गर्नै पर्ने बताउँदै प्रधानमन्त्रीले भन्नु भयो, नेपालले संविधानको निर्माण र तीन वटै तहको निर्वाचनसँगै अब राजनीतिक स्थीरताको युगमा प्रवेश गरिसकेको छ । प्रधानमन्त्रीले संविधान लोकतन्त्र, मानवअधिकार, सामाजिक न्यायका दृष्टिले उल्लेखनीय रहेको समेत उहाँले बताउनु भयो ।
नेपालमा लगानी मैत्री वातावरण राम्रो बन्दै गएको बताउँदै प्रधानमन्त्री ओलीले भन्नु भयो, सरकार लगानी र व्यावसाय मैत्री वातावरण बनाउन प्रतिवध्द छ । उहाँले सरकार घरेलु र वैदेशिक दुबै किसिमका लगानीको संरक्षणको प्रत्याभूति गर्न प्रतिवध्द रहेको समेत बताउनु भयो । यसक्रममा एनआएएनले महत्वपूर्ण सूत्रधारको भूमिका निर्वाह गर्ने विश्वास उहाँले व्यक्त गर्नु भयो ।
वहुराष्टिय वा संयुक्त लगानीका कम्पनीहरुले नेपालमा गरेको लगानीको उच्च प्रतिफल उपलब्ध गराइरहेको बताउँदै उहाँले भन्नु भयो, नेपालमा लगानीका लागि कैयन क्षेत्रहरु छन् ।
अनुभवहरुको सार नै ज्ञान हो भन्दै प्रधानमन्त्री ओलीले बताउनु भयो, ज्ञान नवप्रर्वध्दनात्मक प्रयास र प्रयोगको परिणाम पनि हो । उहाँले भन्नु भयो, ज्ञान अनुभवहरुको स्मृतिका रुपमा संरक्षित हुन्छ । स्मरण शक्तिले नै ज्ञानलाई आकार प्रदान गर्दछ । ज्ञानको व्यवहारिक महत्व र मूल्य रहेको बताउँदै उहाँले भन्नु भयो, ज्ञानलाई उद्दरणहरुको संग्रहका रुपमा मात्र ग्रहण गरिनु हुँदैन् ।