NP EN

प्रधानमन्त्रीलाई एक लाख डलरको पुरस्कार

काठमाडौं, १६ मंसिर । युनिभर्सल पिस फाउण्डेसन (युपीएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ ।

आज सम्पन्न एसिया प्यासिफिक सम्मेलन– २०१८ को अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई ‘लिडरसिप एन्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो । पुरस्कारको राशी एक लाख डलर छ ।

कार्यक्रममा प्रधानमन्त्रीले पुरस्कार सरकारको सम्मानमा दिएकाले नेपाली युवा र बालबालिकाको क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गर्नुभयो ।

सुशासनबाटै समृद्धि सम्भव 

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनबाट मात्रै समृद्धि सम्भव रहेको बताउनुभएको छ ।

काठमाडौंमा आज सम्पन्न एसिया प्यासिफिक सम्मेलन– २०१८ को अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सुशासन बिना विकास सम्भव हुन नसक्ने बताउनुभयो । 

उहाँले सरकार जनसेवाका सबै क्षेत्रहरुमा पारदर्शी तरिकाले सेवा दिन तयार रहेको बताउनुभयो । “सरकार जनअनुमोदिन भएकाले जनताप्रति उत्तरदायी छ । उत्तरदायित्व र जवाफदेहिता बिना सुशसन सम्भव छैन,” उहाँले भन्नुभयो, “हामीले संविधानमै आवधिक निर्वाचन, कानुनको सम्मान र कानुनभन्दा माथि कोही पनि नहुने व्यवस्था गरेका छौं ।”



प्रधानमन्त्रीले भ्रष्टाचार पैसामा मात्र नभई नीति, विधि र शक्तिको दुरुपयोगलगायतका विषयमा पनि हुन सक्ने बताउनुभयो । “तर, सरकारले शुन्य सहनशीलताको नीति अबलम्बन गरेकाले यी कुनै पनि प्रकारका भ्रष्टाचारमा सरकारले कारबाही गर्दछ,” उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले जनप्रतिनिधिहरुलाई उत्तरदायी र पारदर्शी हुन अपिल गर्नुभयो । “जनप्रतिनिधि धब्बा लाग्ने हुनुहुँदैन, जनप्रतिनिधिको विगत, वर्तमान र भविष्य तीनवटै उज्यालो हुनुपर्छ,” प्रधानमन्त्रीले भन्नुभयो, “लोकतान्त्रिक प्रणालीलाई सफल बनाउन जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुन्छ ।” लोकतन्त्र नै राम्रो व्यवस्था भएको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका लागि सरकारमा नीतिगत स्पष्टता रहेको बताउनुभयो ।