NP EN

भूमि समस्या समाधान गर्न सरकार गम्भिर: प्रम ओली

काठमाडौं, मंसिर १७, प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा रहेको भूमि सम्बन्धी समस्या समाधान गर्न सरकार गम्भिर रहेको बताउनुभएको छ ।

मोरङ जिल्लाका जनप्रतिनिधीहरुसँग आज सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । 

प्रधानमन्त्री ओलीले जनताको सरकार भएकोले यसले जनता कै हितमा काम गर्ने बताउनुभएको छ । “यो जनताको सरकार हो । यसले जनताको हितमा काम गर्छ । त्यसका लागि जे जस्ता विरोध आए पनि सामना गर्न सरकार तयार छ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओली समक्ष मोरङको कानेपोखरी, लेटाङ, बेलबारी, पथरीका प्रमुख, उपप्रमुखहरुले विशेष नापी खटाएर त्यस क्षेत्रको जग्गाको समस्या समाधान गर्न माग गरेका छन् । प्रधानमन्त्री ओलीले भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री पद्मा अर्याललाई तत्कालै उक्त क्षेत्रको समस्या समाधान गर्न निर्देशन दिनुभएको छ । सँगै रहनुभएकी मन्त्री अर्यालले त्यस क्षेत्रको जस्तै अन्य क्षेत्रमा पनि भएका जग्गा सम्बन्धी समस्या समाधान गर्न शक्तिशाली आयोग गठनको तयारी रहेको बताउनुभएको छ । 

मोरङका जनप्रतिनिधिहरुले विशेष नापी गरी धनी पूर्जा वितरण गर्न माग गरेका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न जनप्रतिनिधिहरु सांसद घनश्याम खतिवडाको नेतृत्वमा आउनुभएको थियो ।