काठमाडौं, ७ पुस,प्र धानमन्त्री केपी शर्मा ओलीले नेपालको मौलिक संस्कृतिलाई पर्यटक आकर्षण गर्ने पर्वका रुपमा विकास गर्नु पर्ने बताउनुभएको छ ।
किराँत धर्मावलम्बीहरुको चाड उधौली तथा चासोक तङनामका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो ।
नेपाली संस्कृतिलाई जीवन्त बनाउने विभिन्न समुदायका चाडपर्वहरु पर्यटकीय आकर्षणका केन्द्र हुनसक्ने प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ । “विभिन्न जातीय समुदायका चाडपर्वमा प्रयोग हुेन बाजागाजा,नृत्य तथा अन्य गतिविधिहरु स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्ने सशक्त माध्यम बन्न सक्छन् ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।
नेपाल बहुजातीय,बहुधार्मिक र बहुभाषिक देश भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले विभिन्न जातीय समुदायले मनाउने चाडपर्वहरुले आपसी सद्ध्भाव र सहिष्ण्ुाताको भावना विकास गरेको उल्लेख गर्नुभएको छ । “हाम्रो जातीय,भाषिक र धार्मिक विविधता नै नेपालीलाई एक सुत्रमा बाँध्ने माध्यम भएका छन् ” प्रधानमन्त्रीले शुभकामनामा उल्लेख गर्नुभएको छ ।
मंसिरे पूर्णिमाको दिन खासगरी किराँत राई र सुनुवार जातीले मनाउने उधौली पर्व र लिम्बू जातिले मनाउने चासोक तङनामलाई सरकारले किराँत चाडको रुपमा मान्यता दिएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ । पाकेको अन्नको न्वागी खाने दिनको रुपमा किराँतहरुले मनाउने यस पर्वका अवसरमा प्रधानमन्त्री ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत जातिमा प्रधानमन्त्री ओलीले सुस्वास्थ्य र दीर्घायूको शुभकामना व्यक्त गर्नुभएको छ ।