NP EN

नेपाल र नेपालीको हितमा काम गरिरहने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौँ, ८ पुस, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीको हितमा आफू डटेर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  

‘सन्त नेता कृष्णप्रसाद भट्टराईको ९५औँ जन्मजयन्ती’का अवसरमा आज गोदावरीमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भन्नुभयो, “देश र जनताको हितमा सदैव तत्पर भएर लाग्ने उद्देश्यका साथ सरकारले विभिन्न योजना बनाएर तदनुरुप काम गरिरहेको छ ।”

सन्त नेता भट्टराईले  निःस्वार्थ भावले देश र जनताको हितमा सदैव लाग्ने पाठ सिकाएको स्मरण गर्दै प्रधानमन्त्रीले सत्यको पक्षमा स्वर्गीय भट्टराई सधैँ अडिग रहनुभएको, देश र जनताप्रति समर्पित उहाँले १४ वर्ष जेलजीवन बिताएको बताउनुभयो । 

नेपालको प्रजातान्त्रिक आन्दोलनमा उहाँले निर्वाह गर्नुभएको भूमिकाको सराहना गर्दै प्रधानमन्त्रीले देशको समग्र विकासलाई आफूले केन्द्रमा राखेर काम गरिरहेको बताउनुभयो । 

देशको अर्थतन्त्रको विकास, आर्थिक समृद्धिको मार्गमा मुलुकलाई अग्रसर तुल्याउने वर्तमान सरकारका लक्ष्य र उद्देश्यबाट आफू विचलित नहुने स्पष्ट गर्दै उहाँले लगानी जुटाउन आगामी मार्चको अन्तिम साता  काठमाडौँमा लगानीसम्बन्धी सम्मेलन हुन लागेको जानकारी दिनुभयो । 

गत वर्षको पाँच प्रतिशतको देशको आर्थिक वृद्धिदर ६.५ प्रतिशत पुगेको बताउँदै  प्रधानमन्त्री ओलीले राष्ट्रप्रति इमान्दार भएर समाजका सबै वर्गबाट काम भएमा आर्थिक क्षेत्रमा राष्ट्रले फड्को मार्ने उहाँको अभिव्यक्ति थियो ।   (रासस)