NP EN

रुची अनुसारको अध्ययन गर्न पाए सबै बालबालिका सफल : प्रम ओली

काठमाडौं, १ माघ,प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकालाइ रुची अनुसारको शिक्षा दिनुपर्ने बताउनुभएको छ । रुची अनुसारको पठन पाठनको वातावरण पाउने हो भने सबै बालबालिका सफल हुने प्रधानमन्त्री ओलीको भनाइ छ । उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोग –२०७५ को प्रतिवेदन  आज बालुवाटारमा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

“रुची अनुसारको विषय र क्षेत्रको अध्ययन गर्न पाए सबै बालबालिका सफल हुन्छन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “फूटबलमा रुची हुनेलाई संगित सिकाएका छौं । आफ्नो होइन बाबुआमा र विद्यालयको रुची लादेका छौं । अनि बच्चलाई असफल घोषित गरेका छौं । यो प्रणाली राम्रो होइन ।”  

अहिलेको शिक्षा प्रणालीले बालबालिकालाई असफल बनाएर उनीहरुको आत्मविश्वासमा बञ्चरो हानिरहेको प्रधानमन्त्री ओलीले  बताउनुभएको छ । प्रधानमन्त्री ओलीले भविष्यका कर्णधार भनेर चिनिएका बालबालिकालाई असफल घोषित गरेर उनीहरुको  मनोविज्ञान बिगार्नु गलत रहेको बताउनुभयो । “परीक्षाका नाममा बालबालिकालाई फेल भनिरहंदा उसको आत्मविश्वासमा बञ्चरो प्रहर हुन्छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “बाल्यकालमै असफलताको बिल्ला भिराइदिएपछि बच्चाको मनोवल उठ्न सक्दैन । यसले समग्रतामा देशको भविष्यमाथी प्रहर गर्छ । ”



बालबालिकाको मनोविज्ञानमा असर नपरोस भनेर  असफल नहुने ग्रेडिङ प्रणाली ल्याएको प्रधानमन्त्रीले बताउनुभयो । “यस प्रणालीले पनि शिक्षाको गुणस्तर बढाएको देखिएको छैन । हामीले जुन प्रणाली अपनाए पनि गुणस्तर वृद्धि खोजेका हौं ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाललाई विशिष्ट प्रतिभाहरुको देश बनाउनुपर्ने बताउनुभएको छ । ४२ ÷ ४३ प्रतिशत मात्र सफल हुने देश होइन अब उन्नत विद्यार्थी भएको देशको रुपमा नेपाललाई चिनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “नेपाललाई डिस्टिङसनहरुको देश बनाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “असफलहरुको देशको परिचय अब बदल्नु पर्दछ । ”

प्रधानमन्त्री ओलीले सरकार निजी विद्यालयहरुलाई पुल्पुल्याएर राख्ने पक्षमा नभएको बताउनुभएको छ । “सामुदायिक विद्यालयको शैक्षिक गण्ुास्तर  वृद्धि भएपछि निजी विद्यालयप्रतिको आकर्षण आफैं घट्छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “गुणस्तरीय शिक्षा सामुदायिक विद्यालयमा पाएपछि अभिभावकहरु महंगा निजी विद्यालयमा जादैनन् । सरकार हस्तक्षेप गरेर निजीलाई प्रतिवन्द लगाउने पक्षमा छैन तर  विद्यार्थी नै नभएपछि निजी विद्यालय कसरी टिकछन् र ?”

प्रधानमन्त्री ओलीले  आयोगले वुझाएको प्रतिवेदन सिफारिस भएकोले यसको व्यापक अध्ययन गरिने बताउनुभएको छ । “आसा छ यो प्रतिवेदन सिफारिस मात्र नबनोस नीति कै रुपमा यसलाई कार्यन्वयन गर्न सकियोस । ” प्रधानमन्त्री ओलीले शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गीरीराजमणी पोख्रेलले आज बालुवाटारमा एक कार्यक्रमका बीच प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।