NP EN

जनतालाई शक्तिशाली बनाउन खोजेको हो : प्रम ओली

दमक, १७ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले सबै शक्ति एकिकृत गर्न खोजेको नभई जनतालाई शक्तिशाली बनाउन खोजेको बताउनुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्र दमकमा आयोजित एक नं प्रदेश स्तरीय साहित्यिक प्राज्ञिक गोष्ठिको आज उद्घाटन गर्दै सो कुरा बताउनुभएको हो ।

“कतिपयले प्रधानमन्त्रीले शक्ति आफूमा केन्द्रित गर्न खोज्यो भन्छन् तर त्यो होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो “अहिले प्रधानमन्त्री शक्तिशाली हुन खोजेको नभइ जनतालाई शक्तिशाली बनाउन खोजिएको हो । एकथरी मान्छेले यतिकै हल्ला चलाएका छन् ।”

प्रधानमन्त्री ओलीले विप्लव समुहलाई हतियार सरकारलाई बुझाउन चेतावनी दिनुभएको छ । अहिले नै हतियार सरकारलाई बुझाउदा कहाँबाट कसरी ल्याइयो भनेर सोधीखोजी नगरिने समेत स्पष्ट पार्नुभएको छ । “विप्लव समुहले अहिले नै हतियार बुझाएमा कहाँबाट ल्याएको भनेर सोधीखोजी नगरौंला । अटेर गरेर मान्छे मार्दै,चन्दा असुल्दै हिड्दा कानुन अनुसार नियन्त्रण गरिन्छ ।”

प्रधानमन्त्री ओलीले प्रदेश नं १ आदिकाल देखि नै साहित्यको उर्वर थलो भएको बताउनुभएको छ । यहाँको साहित्यको श्रीवृद्धिका लागि संस्थागत प्रयास अघि बढाउन सरकारले आवश्यक सहयोग गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।