NP EN

​प्रधानमन्त्री पर्सा र बारा प्रस्थान

भद्रपुर, १८ चैत: प्रधानमन्त्री केपी शर्मा ओलीले बारा र पर्सामा हावाहुरीबाट ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थलाभको कामना गर्नुभएको छ । 

गृह जिल्लामा आज हुने तीन वटा कार्यक्रम स्थगित गरेर प्रम ओलीले प्राकृतिक प्रकोपबाट भएको दुर्घटनाको स्थलगत अनुगमनका लागि घटनास्थलतर्फ जाने क्रममा भद्रपुर विमानस्थलमा पत्रकारसँग कुराकानी समवेदना र श्रद्धाञ्जलि व्यक्त गर्नुभएको हो । 

प्रम ओलीसँगै उपप्रधान तथा स्वास्थ्य एवं जनङ्ख्यामन्त्री उपेन्द्र यादव, गृहमन्त्री रामबहादुर थापा हावाहुरीबाट पर्सा र बारामा उद्धार र राहत कार्यको अनुमगन गर्न आज १२ बजे झापाको भद्रपुर विमानस्थलबाट नेपाली सेनाको एनए ०४१ नम्बरको स्काइट्रकमार्फत प्रस्थान गर्नुभएको छ । 

गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्रालयमा हालसम्म प्राप्त विवरणअनुसार २७ जनाको मृत्यु र सात सय बढी घाइते भएको जानकारी दिनुभयो । मन्त्री थापाले घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ लगिएको बताउनुभयो । उहाँले घटनास्थलमा पुगेर अनुगमन गरेपछि आवश्यकता अनुसारको राहत र क्षतिपूर्ति उपलब्ध गराउने बताउनुभयो ।  (रासस)