काठमाडौँ, २३ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका छैठौं संघनायक भिक्षु अश्वघोष महास्थवीरको निधन भएको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको जनाउँदै श्रद्धा–सुमन व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले शोक वक्तव्य जारी गरी सात दशकभन्दा लामो समयदेखि प्रव्रजित जीवनयापन गरिरहनु भएका भिक्षु अश्वघोषले बुद्धका सन्देश र दर्शनका विषयमा ज्ञानको व्यापक प्रसार गर्न सम्पूर्ण जीवन समर्पित गर्नुभएको उल्लेख गर्नुभएको छ ।
वि.सं.२०४६ को जनआन्दोलनपछि तत्कालीन संसदमा निर्वाह गर्नु भएको सक्रिय र रचनात्मक भूमिकाको स्मरण गर्दै प्रधानमन्नत्री ओलीले तत्कालीन अश्वघोष नेकपा (एमाले)बाट राष्ट्रिय सभा सदस्यमा मनोनित हुनुभएको उल्लेख गर्नुभएको छ ।
वि.स.२०५१ सालमा लुम्विनी विकास कोषको उपाध्यक्ष भएपछि अश्वघोषले बुद्ध जन्म स्थलमा आवश्यक सुधार र गुरुयोजना कार्यान्वयनका लागि योगदान पु¥याउनु भएको वक्तव्यमा उल्लेख छ । बुद्ध धर्म र दर्शनसँग सम्बन्धित झण्डै डेढ सय पुस्तकका लेखक हुनुभिक्षु अश्वघोषको निधनबाट राष्ट्रले एक वरिष्ठ साधक र विद्वानलाई गुमाएको जनाउँदै प्रधानमन्त्री ओलीले भन्नुभएको छ, “अश्वघोष हाम्रो स्मृतिमा सदा अमर रही रहनु हुनेछ । अश्वघोषप्रति हार्दिक श्रद्धा–सुमन अर्पण गर्दछु । साथै, दुःखको यस घडीमा वनेपास्थित ध्यानकुटी विहार र काठमाण्डौको ढल्कोस्थित संघाराम विहारका समस्त साधक, धर्मोदय सभा, अखिल नेपाल भिक्षु महासंघ, तथा उहाँका शिष्यहरुप्रति गहिरो समवेदना व्यक्त गर्दछु ।”
रासस