NP EN

सरकारले देशलाई न्याय र समानता सहितको समृद्धिको दिशामा अघि बढाइरहेको छ : प्रम ओली

काठमाडौं, २१ जेठ, प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले देशलाई न्याय र समानतासहितको समृद्धिको दिशातर्फ अघि बढाइरहेको बताउनुभएको छ । 

जातीय भेदभाव तथा छुवाछूत उ्रन्मुलन दिवसको अवसरमा आज एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभयो । 

सन्देशमा वर्तमान सरकार सुखी नेपाली, समृद्ध नेपालको राष्ट्रिय आकांक्षा पूरा गर्न शताब्दीऔंसम्म विभेद र अन्यायको शिकार भएका दलित समूदायलाई शिक्षा, स्वास्थ्य र रोजगारको क्षेत्रमा अगाडि बढाउन तल्लिन रहेको उल्लेख छ । “ विगतमा पाखा पारिएकाहरुलाई राज्यको मूलप्रवाहमा समाहित गराउँदैछ ” प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ “ आजको एक्काइशौं शताब्दीमा पनि सामन्तवादको अवशेषका रुपमा रहेको मानव–मानवका बीच गरिने जातीय भेदभाव र छुवाछूतको दुव्र्यवहारप्रति कुनै सहिष्णुता दर्शाइने छैन । समानता, सद्भाव र  सबैको मानवअधिकारको पूर्ण रक्षाका लागि सरकार दृढ छ । ”

प्रधानमन्त्री ओलीले सन्देशमा राज्यका हरेक अङ्ग र निकायमा समानुपातिक समावेशी सिद्धान्त अनुसार दलित समूदायको प्रतिनिधित्व गराइने संवैधानिक व्यवस्था रहेको स्मरण गर्नु भएको छ । “ राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट दलित समूदायबाट कम्तिमा १÷१ जनाको प्रतिनिधित्व हुने संवैधानिक प्रत्याभूति गरिएको छ । स्थानीय तहको वडा स्तरमा दलित महिलाको अनिवार्य प्रतिनिधित्वलाई कानूनी रुपमा सुनिश्चित गरिएको छ ” प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ “ नेपालले जातीय भेदभाव तथा छुवाछूतको अन्त्यका लागि अन्तर्राष्ट्रिय रुपमा पनि ठोस प्रतिबद्धता जनाएको सबैलाई विदितै छ ।”

प्रधानमन्त्री ओलीले नेपाल जातीय विभेद मु्क्त देश घोषणा भएको यस  दिनले जातीय विभेद र छुवाछूतको दुव्र्यवहारलाई रत्तिभर सहन नगर्न हरेक नेपाली नागरिकलाई उत्प्रेरित गर्नेछ भन्नेमा आफू  विश्वस्त रहेको उल्लेख गर्नुभएको छ । “ हामी सबैलाई समानताको मूल्य र मान्यताप्रति सजग गराउने यस दिवसका अवसरमा देशभित्र र प्रवासमा रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना ” प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ ।