लण्डन, २८ जेठ: बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र बेलायतकी प्रधानमन्त्री टेरिजा मेसँग भेटवार्ता गर्न अघि आन्दोलनरत गोर्खा समुदायलाई भेटेर उनीहरुको समस्या बुझेका छन् । आन्दोलनरत गोर्खा भूतपूर्व सैनिक संघ (गेसो), संयुक्त संत्याग्रह संघर्ष समिति लगायतका बिभिन्न गोर्खाका संस्थाका नेताहरुसँग भेटेर उनीहरुको समस्याको बारेमा जानकारी लिएका हुन् ।
मंगलबार दिउँसो लन्डनमा बेलायती प्रधानमन्त्री मेलाई भेट्न अघि प्रधानमन्त्री ओलीले गोर्खाहरुको समस्याको बिषयमा जानकारी लिएको गेसोका उपसभापति धर्म तामाङले जानकारी दिए । प्रधानमन्त्रीसँगको भेटमा गेसोका सभापति कृष्णकुमार राईले गोर्खाहरुको समस्याको बारेमा जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीले गोर्खाहरुको कुरा सुनीसकेपछि आफू गोर्खाहरुको समस्याको बिषयमा गम्भिर रहेको बताए । आफू गोर्खाहरुको समस्या बिषयमा जानकार रहेको भन्दै बेलायतकी समकक्षी प्रधानमन्त्री टेरिजा मेसँगको भेटवार्तामा गोर्खाहरुको समस्याको बिषयमा कुरा राख्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले गोर्खाहरुको समस्या सम्बोधनको निम्ती दुई देशबीचमा वार्ता हुने पनि बताए ।