लण्डन, २८ जेठ: बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र त्यहाँका प्रधानमन्त्री थेरेसा मेबीच द्विपक्षीय भेटवार्ता भएको छ।
आज बेलायती प्रधानमन्त्रीको निवास १० डाउनिङ स्ट्रिटमा भएको भेटवार्तामा बेलायती सेनामा कार्यरत नेपालीहरू (ब्रिटिस गोर्खा) सम्बन्धी समस्या समाधानको विषयमा छलफल भएको थियो। त्यस्तै भेटवार्ताका क्रममा नेपाल भारत र बेलायतबीच भएको त्रिपक्षीय सन्धिको विषयमा छलफल भएको थियो।
भेटमा सन् १९४७ मा भारतबाट बेलायती उपनिवेश हट्दै गर्दा तीन देशबीच भएको सन्धिको पुनरावलोकन तथा बेलायती सेनामा कार्यरत नेपालीको समस्या समाधान गरी दुई देशबीचको सम्बन्धलाई थप उचाइमा लाने विषयमा कुराकानी भएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटिस गोर्खा सैनिक सन्दर्भमा सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच भएको त्रिपक्षीय सन्धि पुरानो भएको भन्दै नयाँ परिवेश अनुसार पुनरावलोकन हुनुपर्ने बताएका छन्।
‘ब्रिटिस–गोर्खा आर्मीका सम्बन्धमा सन् १९४७ मा नेपाल, भारत र बेलायतबीच सम्पन्न त्रिपक्षीय सन्धि पुरानो भयो। यस सन्दर्भमा भर्ती, अवकाश तथा अवकाशपछिको अवस्था समेट्ने गरी नयाँ व्यवस्था गर्नु पर्छ, नेपाल र बेलायतबीच द्वीपक्षीय सन्धि गर्नु पर्छ,’ प्रधानमन्त्री ओलीले बताउनु भयो ।
उक्त भेटमा नेपाल–बेलायत विकास साझेदारी, पर्यटन प्रवर्द्धनका विषयमासमेत छलफल भएको छ ।