NP EN

असारभरीमा पार्टी एकताका सबै काम टुंगिन्छन् : प्रम ओली

काठमाडौं, १४ असार, प्रधानमन्त्री केपी शर्मा ओलीले अब दुई हप्ताभित्र पार्टी एकताका सबै काम सकिने बताउनुभएको छ । 

जननेता मदन भण्डारीको ६८ औं जन्मजयन्तीका अवसरमा आयोजित बिचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । 

प्रधानमन्त्री ओलीले पार्टी एकता ठुलो काम भएकोले केही अलमल भए जस्तो लागेको बताउनुभयो । “पार्टी एकता टुंगिएन भनेर अब निराश हुनु पर्दैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो “असार भित्र सबै तहको एकता टुंगिन्छ र नयाँ आर्थिक बर्ष देखि सबैले नेता कार्यकर्ताले उत्साहपूर्वक काम गर्न थाल्नुहुनेछ । ”

प्रधानमन्त्री ओलीले  दुई ठुला वामपन्थी दलको चुनावी तालमेल मार्फत राष्ट्रिय आत्मविश्वास जगाएको स्मरण गर्दै नेकपाले बहुमत ल्याएर देशलाई स्थिरता दिएको बताउनुभएको छ । 

सरकारले धेरै राम्रा काम गरेको तर त्यसको प्रचार नभएको बताउनुभएको छ । “यस बर्ष मात्र ४ सय वटा झोलुंगे पुल निर्माण भएका छन् । १ हजार किलोमिटर सडक कालोपत्रे गरिएको छ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “काठमाडौंका सडक सफा भएका छन् । दशैंसम्म पुग्दा सरकारको आलोचना बन्द हुन्छ । ”

प्रधानमन्त्री ओलीले मदन भण्डारी बहुआयामिक व्यक्तित्व भएको उल्लेख गर्नुभएको छ । मदन भण्डारीकै अगुवाइमा २०४६ सालमा नेपाली काँग्रेससँग मिलेर पञ्चायत विरुद्धको आन्दोलन सफल पारिएको प्रधानमन्त्री ओलीको भनाइ छ । “ कम्यूनिष्ट काँग्रेसलाई आपसमा भिडाएर कमजोर पार्ने राणनीतिलाई  मदन भण्डारी र गणेशमान सिंहको सुझबुझले तोड्यो ” प्रधानमन्त्री ओलीले भन्नुभयो  “कम्यूनिष्ट पार्टीको नेतृत्वमा मदन भण्डारी भएकै कारणले मात्र  त्यो सम्भव भयो ।”अहिले नेपाल कम्यूनिष्ट पार्टी जहाँ पुगेको छ ,त्यसमा पुषपलाल र मदन भण्डारीको ठुलो योगदान रहेको प्रधानमन्त्री ओलीको भनाइ  छ । 

कार्यक्रममा  प्रधानमन्त्री ओलीले मदन भण्डारी राष्ट्रिय पुरस्कार –२०७६ प्रा.डा. सुबोध शर्मालाई प्रदान गर्नुभयो । 

प्रधानमन्त्रीको पुस्तक बिमोचन 



कार्यक्रममा नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको पुस्तक दृष्टिकोण विमोचन गर्नुभएको छ । प्रधानमन्त्री ओलीले  विभिन्न कार्यक्रममा व्यक्त गरेको बिचारहरुको संग्रह दृष्टिकोण मदन भण्डारी फाउण्डेसनले प्रकाशन गरेको हो ।