NP EN

विकासका लागि प्रतिपक्षसँग सहकार्य गर्न सरकार तयार छ : प्रधानमन्त्री ओली

काठमाडौं, १५ असार, प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि सरकार प्रतिपक्षसँग सहकार्य गर्न तयार रहेको बताउनुभएको छ । राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सत्ता प्रतिपक्ष भनेको आवधिक कुरा भएको उल्लेख गर्नुभएको छ । “सत्ता प्रतिपक्ष भनेको आवधिक कुरा हुन् । विकास र समृद्धि सबैको आवश्यकता हो  ” प्रधानमन्त्री ओलीले भन्नुभयो “देश विकासका लागि सरकार प्रतिपक्षसँग मिलेर काम गर्ने उत्कट अभिलासामा छ ।”

प्रधानमन्त्री ओलीले भावी सन्ततीले अहिले जस्तो गरिबीको सामना गर्नु पर्ने स्थितीको अन्त्य गर्नुपर्ने बताउनुभएको छ । “भावी सन्ततीलाई पनि यही गरिबीको स्थिती कायम राख्ने होइन । बेरोजगारी कै अवस्थामा राख्ने होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो “मेरो कार्यकाल टुंगिदा बेरोजगारीको अवस्थामा परिवर्तन ल्याउछु  । ”



प्रधानमन्त्री ओलीले देशमा काम गर्ने सक्ने जनसंख्याको बाहुल्यनता भएकोले यो अवसरको सदुपयोग गर्नुपर्ने बताउनुभएको छ । नेपाल काम गर्न चाहने कर्मबवीरहरुको देश भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो “नेपाल श्रम गर्न नहिचकिचाउनेहरुको देश हो । नेपालीहरु श्रम गर्नमा रुची राख्छन् ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर यहाँ काम नपाएर ठुलो संख्यामा नेपालीहरु विदेशमा श्रम गर्न गइरहेका छन् ।” कामका लागि विदेश जानु पर्ने अवस्थाको चाँडै अन्त्य हुने प्रधानमन्त्री ओलीले बताउनुभएको छ । “हामी स्वदेश मै आकर्षक रोजगारीको सृजना गर्छौं । आधुनिकीकरण र औद्योगीकिकरण जती बढाउदछौं त्यती नै रोजगारीको सृजना हुन्छ । यो अवस्था सृजना गर्न सरकार लागि परेको छ ।”