NP EN

श्रमशक्तिको समुचित उपयोग हुने नीति र कार्यक्रम आवश्यक : प्रम ओली

काठमाडौं, १७ असार, प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको श्रमशक्तिको समुचित उपयोग हुने गरीको नीति र कार्ययोजना आवश्यक रहेको बताउनुभएको छ ।

पोखरा विश्व विद्यालयको २० औं साधारणसभालाई आज बालुवाटारमा उद्घाटन गर्दै प्रधानमन्त्री  ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले नेपालको श्रम शक्तिलाई कसरी सदुपयोग गर्ने भन्ने बिषयमा विश्वविद्यालयहरुले योजना बनाउनसक्ने उल्लेख गर्नुभएको छ । “हाम्रोमा देश विकास गर्ने जनशक्ति छ तर बाहिर गइरहेको छ । देशमा काम पाएको छैन । पायो भने सीप र क्षमता छैन ” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यसकारण हामीसँग भएको जनशक्तिलाई कस्तो प्रकारको सीप र शिक्षा दिने भन्ने  योजना विश्वविद्यालयले बनाएर त्यहींबाट कार्यन्वयन सुरु गर्नुपर्दछ  । ”

प्रधानमन्त्री ओलीले नेपाल विद्वान पूर्खाको देश भएको बताउनुभएको छ । पौराणिक कालका ऋषीमुनीहरुले यही भूमीबाट ज्ञान प्राप्त गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो  “शाशकहरुमा दृष्टिकोणको अभाव हुँदा नेपाल केही समय पछि परेको हो तर अब यो अवस्था लामो समय रहदैन । ”

प्रधानमन्त्री ओलीले देशको आवश्यकता र शिक्षाको तादम्यता नमिल्दा ठुलो ठुलो योग्यता हासिल गरेका मानिसहरु पनि बरोजगार बन्नुपरेको बताउनुभएको छ । “कसैले खेत बेचेर पाइलट बनेका छन् तर जहाजको छेउमा पनि जान पाउदैनन्” प्रधानमन्त्री ओलीले भन्नुभयो “यस्तो अवस्थामा उसको समय,स्रोत सबै खेर जान्छ । त्यसकारण रोजगारीका अवसर कहाँ छन् भनेर पहिचान गरेर मात्र शिक्षामा लगानी गर्नु पर्दछ । ” प्रधानमन्त्री ओलीले त्यस ठाउँको आवश्यकता,रोजगारीको अवसर आदि कुराको बिष्लेषण गरेर मात्र  विश्वविद्यालयहरुले नयाँ शैक्षिक संस्थाहरुलाई सम्बन्धन दिनुपर्ने बताउनुभएको छ । “ विश्वविद्यालयहरुले जथाभावी सम्बन्धन दिने काम बन्द गर्नुहोस ” प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।