काठमाडौं, १ असोज-प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा संघीय संसद भवनको शिलान्यास गर्नुभएको छ । शहरी विकास तथा भवन निर्माण विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आज भवनको शिलान्यास गर्नुभएको हो ।
शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले संसदीय प्रणालीको राजनीति गरे पनि संसद बस्ने ठाउँ नभएकोे स्थिती अब अन्त्य हुने बताउनुभएको छ । करिब ५ अर्ब ३० करोड रुपैयाँको लागतमा तीन बर्षमा निर्माण सम्पन्न हुने यो भवनको निर्माण समय र गुणस्तरीयतामा कुनै सम्झौता नहुने प्रधानमन्त्री ओलीको भनाइ छ । “निर्माणमा कुनै प्रकारको विलम्ब मान्य हुँदैन । समयभित्र काम सक्नुहोस । गुणस्तरमा सम्झौता हुँदैन ।” प्रधानमन्त्री ओलीले भन्नुभयो, यस भवनमा नेपाललाई अग्रगतिमा लैजाने ठुला ठुला निर्णयहरु हुनेछन् । यही भवनबाट धेरैवटा सक्षम सरकारहरु बन्नेछन् भन्ने मेरो अपेक्षा छ ।”
प्रधानमन्त्री ओलीले देश विकासको गतिमा अघि बढीसकेको उल्लेख गर्नुभएको छ । “हामीले डेढ बर्षमा गरेका कामको परिणाम देखिन थालेको छ । अमलेखगञ्ज मोतीहारी पाइपलाइनबाट इन्धन ल्याउने कुरा त्यसको एउटा उदाहरण हो” प्रधानमन्त्री ओलीले भन्नुभयो “आगामी चैतभित्र रानी पोखरी निर्माण भइसक्छ । अरु यस्ता थुप्रै ठुला आयोजनाहरु अब निर्माण सम्पन्न भइसक्नेछन् ।”
सरकार सुशासन र भ्रष्टचार विरोधी अभियानमा सक्रियतापूर्वक लागेको प्रधानमन्त्री ओलीको भनाइ छ । “हामी भ्रष्टाचार विरोधी अभियान यसरी चलाउँछौं कि यो संसदमा त्यस बिषयमा बहस नै गर्नु नपरोस ” प्रधानमन्त्री ओलीले भन्नुभयो ।
प्रधानमन्त्री ओलीले लोकतन्त्र माथी कतैबट खतरा आए सरकार सहेर नबस्ने बताउनुभएको छ । “लोकतन्त्र माथी खतरा आए सरकार सहेर बस्दैन । संविधान अनुसार जनताको बलिानी खेर जान नदिन हामी सजग छौं” प्रधानमन्त्री ओलीले भन्नुभयो “हामी लोकतान्त्रिक प्रणालीमा मात्र होइन,लोकतान्त्रिक प्रक्रियामा पनि विश्वास गर्छौं ।”