NP EN

नागरिकको जीवनमा परिवर्तन देखिएको छ ः प्रधानमन्त्री ओली

दमक, २० असोज, प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको भन्दै आफुले कुनै पनि भ्रष्टाचार नगर्ने र गर्नेलाई छुट समेत नुहेन बताउनुभएको छ ।

आफ्नो गृह क्षेत्र झापा क्षेत्र नं. ५ को दमकमा आज वडादशै, शुभदिपावली तथा छैठ पर्वका अवसरमा आयोजना गरिएको शुभकामना आदन प्रदान कार्यक्रममा सम्बोधन गर्नुहुदै प्रम ओलीले नियम र कानून हरेक नागरिकका लागि समान रहेको भन्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्न सरकारले कुने सम्झौता समेत नगर्ने दृढता व्यक्त गर्नुभयो । सो क्रममा उहाँले वर्तमान सरकार गठन पछि विपन्न नागरिकको जीवनमा परिवर्तन शुरु भएको समेत दावी गर्नुभयो ।

हुने खानेहरुको भन्दा पनि हुँदा खानेहरुको जीवनमा परिवर्तन देखिएको दावी गर्नु हुदै उहाँले बास्तविक रुपमा जो सर्वहारा छन्, बिपन्न छन् उनीहरुमा सरकारको अनुभूति पुगेको छ भन्नुभयो ।

सरकार त्यस्ता नागरिकहरु सम्म पुग्ने क्रममा रहेको पनि बताउनुहुदै ओलीले भन्नुभयो,–‘ कतिपयले धर्मको नाममा र जातको नाममा राजनीति गर्न खोजे पनि त्यस्ता कुराहरुले समाजमा गलत प्रभाव मात्र पार्ने छ  ।’

भौतिक पूर्वाधारदेखि विकासका हरेक पक्षमा सरकारले प्राथमिकता दिएको भन्दै उहाँले परिवर्तनको प्रभाव देख्न धैर्यता गर्नु पर्नेमा पनि उहाँले जोड दिनुभयो  ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा )का अध्यक्ष समेत रहनुभएका ओलीले हरेक वर्षको दशैंमा नवमीको दिन पारेर गृह जिल्लामा शुभकामना आदनप्रदान कार्यक्रम गर्दै आउनुभएको छ । यस अघिका वर्षहरुमा उहाँले झापाको विर्तामोडमा यो कार्यक्रम गर्दै आउनु भएको थियो । यस वर्ष भने आफ्ने गृह नगर दमकमा ओलीले कार्यक्रमको आयोजना गर्नु भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले चाडपर्वहरुको सन्दर्भमा केन्द्रित रहेर आफ्ना धारणा राख्नु भएको थियो । उहाँले नेपाली समाजको सद्भाव, एकतालाई बलियो पार्न हरेक चाडवर्पहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा नेकपाका  प्रदेश १ का ईन्चार्ज भिम आचार्यले सुशासन र विकास निर्माणमा सरकार र पार्टी प्रतिवद्ध रुपमा लागि परेको भन्दै केहि भ्रमहरुलाई चिर्न सवै एक हुनु पर्नेमा जोड दिनुभयो ।

स्थानीय कस्मिक पार्टी प्यालेसमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख डाक्टर गोविन्द तुम्बाहाङ्ग चाडपर्वलाई सांस्कृतिकसंगै मौलिकताका रुपमा मनाउन खाँचो रहेको जोड दिनुभयो ।

कार्यक्रममा प्रम ओलीलाई झापाका आदिबासी सन्थाल जातिको सांस्कृतिक नृत्यले स्वागत गरिएको थियो । उहाँले सो सांस्कृतिक नृत्य समेत केहि वेर रुची पूर्वक अवलोकन गर्नुभएको थियो । उहाँ आजनै भद्रपुर विमानस्थल हुदै काठमाण्डौ फर्किनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले वताउनुभयो । रासस