NP EN

राष्ट्रिय गौरवका आयोजनाको प्रगति पनि गौरवपूर्ण हुनुपर्दछ : प्रम ओली

काठमाडौं, ६ कात्तिक, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरुको कार्यप्रगति पनि गौरवपूर्ण हुनपर्ने बताउनुभएको छ । 

प्रधानमन्त्री कार्यलयको एक्सन रुमबाट आज विभिन्न राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गर्ने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । 

प्रधानमन्त्री ओलीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल,गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल,माथिल्लो तामाकोशी जलविद्युत आयोजना,भेरी बबई डाइभर्सन बहुउद्धेश्यीय आयोजनाको सम्बन्धित परियोजना प्रमुखहरुबाट भिडियो कन्फरेन्स मार्फत कार्य प्रगतिको जानकारी लिनु भएको हो । यसैगरी प्रधानमन्त्री ओलीले रानी जमरा कुलरीया सिंचाइ आयोजना,सिक्टा सिंचाइ आयोजना र हुलाकी लोकमार्ग आयोजनाको कार्यप्रगतिको जानकारी लिनुभएको हो । प्रधानमन्त्री ओलीले भिडियो कन्फरेनस मार्फत नै ति परियोजनामा  विभिन्न ठाउँहरुमा भइरहेका निर्माण कार्यको पनि अवलोकन गर्नुभएको छ ।



प्रधानमन्त्री ओलीले सम्बन्धित मन्त्री,सचिब र परियोजना प्रमुखहरुलाई समय मै काम सक्न निर्देशन दिनुभएको छ । “कामले गति त लिएको छ तर समय सिमा भित्र सक्नलाई अझै धेरै गति दिनु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “कामलाई गति दिन एक मन्त्रालय र अर्को मन्त्रालयबीचको समन्वयको आवश्यकता देखिन्छ । त्यसमा विशेष ध्यान दिनुहोस ।”

प्रधानमन्त्री ओलीले सरोकारवालाहरुलाई परियोजना स्थलको नियमित स्थलगत अवलोकन गर्न,सुक्ष्म रुपले अध्ययन गर्न,त्यहाँका समस्या सुन्न,सुझाव दिन र तत्काल समाधान गर्न पनि निर्देशन दिनुभएको छ । “परियोजनामा सहज रुपले काम अघि बढाउन कुनै संघीय कानुन,प्रादेशिक कानुन वा मन्त्रिपरिषदको निर्णयको कारणले विलम्ब भएको छ भने त्यसमा सजग हुनुपर्दछ ” प्रधानमन्त्री ओलीले भन्नुभयो “हामी स्थलगत अनुगमनमा गएपछि परियोजनामा केही न केही सकारात्मक परिवर्तन हुनुपर्दछ । ”