NP EN

​मुलुकको अर्थतन्त्रलाई बलियो जगमा उभ्याउने प्रधानमन्त्रीको उद्घोष

मंसिर २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देशलाई बलियो अर्थतन्त्रको जगमा उभ्याउन अग्रसर भएको वताउनु भएको छ । माथिल्लो त्रिशुली– थ्री ए जलविद्युत आयोजनाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस आयोजनाको सञ्चालनले विद्युत आयात कम गरी विद्युतीय ऊर्जालाई कृषिको आधुनिकीकरण र उद्योग सञ्चालनमा लगाउन मदत पुग्ने वताउनु भयो । 

प्रधानमन्त्री ओलीले रसुवामा निर्माण सम्पन्न भएको माथिल्लो त्रिशुली–थ्री ए आयोजनाको प्रधानमन्त्री कार्यालय सिंहदरवारबाटै उद्घाटन गर्नु भएको हो । ‘गरिवी निवारण गर्न आयात कटौती र निर्यात बृद्धि गर्नु पर्छ, यस आयोजना सञ्चालनले विद्युत आयात कम गर्दै आफैंले उत्पादन गरेको विद्युतीय ऊर्जालाई कृषिको आधुनिकीकरण र उद्योग सञ्चालनमा लगाउन मदत गर्नेछ’ प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘निर्माणको चरणमा रहेका यस्ता धेरै आयोजना सम्पन्न गरेर हामी मुलुकलाई बलियो अर्थतन्त्रको जगमा उभ्याउँदै छौं ।’ 

समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न यस्ता आयोजनाहरुको निर्माणलाई तीब्रता दिएको प्रधानमन्त्रीले स्पष्ट पार्नु भयो । ‘सामाजिक न्याय, सुशासन र जनतामा सहज सेवा उपलब्ध गराउन हामी पूर्वाधार निर्माणलाई तीब्रता दिइरहेका छौं’ प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘यसका माध्यमबाट हामी देशलाई मध्यम आय भएको देशका रुपमा पुर्याउने छौं र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने छौं ।’ 

प्रधानमन्त्री ओलीले विकासका दूरगामी आयोजनाहरु निर्माण गर्दा अनुचित मुआब्जा खोज्ने प्रवृत्तिले विकास निर्माणमा ढिलाई र लागत बढ्ने गरेको वताउनु भयो । उहाँले छिटै र कम मुल्यमा पूर्वाधार विकासको नतिजा हासिल गर्न उचित मुआब्जा मात्रै दावी गर्न आव्हान गर्नु भयो । ‘आफूले कर तिर्दा कमभन्दा कम मूल्य राख्ने र मुआब्जा लिनु पर्दा बढी रकम खोज्ने प्रवृत्ति बढेको छ’ प्रधानमन्त्री ओलीले भन्नु भयो, ‘यसबाट कम मुल्यमा धेरै विकास परिमाण हासिल गर्न र समयमै पूर्वाधार विकासको काम सक्न अवरोध पुग्ने गरेको छ । अव यस्तो प्रवृत्तिलाई त्याग्नु पर्छ ।’ 

प्रधानमन्त्री ओलीले वातावरणमैत्री र दुर्घटना जोखिम कम हुने पूर्वाधार निर्माणमा सरकारले ध्यान दिएको पनि वताउनु भयो । उहाँले त्रिशुली थ्री ए आयोजना निर्माणमा संलग्न जनशक्तिलाई धन्यवाद ज्ञापन गर्दै आयोजनाको सफलताप्रति देशवासीलाई वधाई दिनु भयो ।