NP EN

प्रधानमन्त्रीद्वारा नेपाली पाेर्ट नामक अध्यागमन सूचना प्रणालीको शुभारम्भ

काठमाडौँ, १३ माघ: नेपालको अध्यागमन प्रणालीलाई व्यवस्थित र वैज्ञानिक बनाउने उद्देश्यले अध्यागमन विभागबाट विकास गरिएको ‘नेपाली पोर्ट’ नामक अध्यागमन सूचना प्रणाली एवं भौतिक सुधारसहितको अत्याधुनिक अध्यागमन सेवाको शुभारम्भ गरिएको छ ।

अध्यागमन सूचनाको सुरक्षा संवेदनशीलता र विगतको अनुभवसमेतका आधारमा नेपालमै उपलब्ध विज्ञ र विभागका प्राविधिक सम्मिलित टोलीले एक वर्ष लगाएर विकास गरेको सो नेपाली पोर्टको आज प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभयो । अब नेपाल प्रवेश गर्ने र बाहिरिने सबै विदेशीको बायोम्याट्रिक सूचनासमेत अध्यागमन प्रणालीमा रहनेछ जसका कारण कागजात र व्यक्तिको सही पहिचान गर्न सकिनेछ ।

नयाँ प्रणालीमा नेपाल सरकारका सम्बद्ध निकायका सूचना जस्तै राहदानी विभागबाट जारी हुने राहदानी, वैदेशिक रोजगार विभागबाट जारी हुने श्रम स्वीकृति, शिक्षा मन्त्रालयले जारी गर्ने नो अबजेक्सन सटिफिकेट (एनओसी) र इन्टरपोल सम्बद्ध सूचना एकआपसमा प्रक्रियाबाटै हेर्न मिल्ने गरी अन्तर आबद्धताको व्यवस्था मिलाइएको छ ।

सोही अवसरमा प्रधानमन्त्री ओलीले मानव बेचबिखन तथा ओसारपसार, लागुऔषध ओसारपसार, सम्पत्ति शुद्धीकरण र सुरक्षा प्रणालीमा प्रतिकूलता ल्याउने गतिविधि नियन्त्रणमा समस्या रहेपनि त्यस्ता गतिविधि रोक्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानमन्त्रीले सरकारले ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने उद्देश्यले देशको आर्थिक, सामाजिक र प्रविधिको विकासका निम्ति स्पष्ट नीति र कार्यदिशा अगाडि बढाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने, पर्यटन उद्योगको विकाससँगै पर्यटन र रोजगारी सिर्जना गर्ने र दिगो आर्थिक विकासको लक्ष्यप्राप्ति गर्ने कार्य योजना अघि सारेको छ ।”

सरकारले नेपालको छवि उच्च राख्दै राष्ट्रिय प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विकास र जनशक्ति विकासमा लगानी गरिरहेको उहाँको भनाइ थियो । प्रधानमन्त्रीले डिजिटल नेपालको निर्माणमा सेवाग्राही मैत्री, विश्वासनीय, सुरक्षित र प्रतिस्पर्धी हुन जरुरी भएको बताउँदै इ–गभरनेन्ससँगै भरपर्दो तथ्याङ्क विकासमा सरकारले उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो ।

उहाँले सबै तहका सरकारमा सुधारका आयोजना सञ्चालन गरी कार्यान्वयनमा ल्याउन सबैमा अनुरोध गर्दै अब अध्यागमनमा मानवीय क्षमता विकास र व्यवहारमा रुपान्तरणको खाँचो औँल्याउनुभयो ।

“हामीले नेपालको मुख्य प्रवेशद्वारका रुपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा विदेशीको नेपाल आगमन, बसाईं र प्रस्थानलाई सरल, सहज, सुरक्षित र सूचना प्रणालीमा आधारित बनाउन तयार पारिएको नेपाली पोर्ट प्रणालीको शुभारम्भ गरेका छौँ, आधुनिक नेपाल निर्माणको दिशामा हामीले हरेक समयमा नयाँ कदम चालिरहेका छौँ, यो पनि एउटा कदम हो”, प्रधानमन्त्रीले भन्नुभयो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले गृहमन्त्रालय सुरक्षा व्यवस्थापनसँग जोडिएका सबै सुरक्षा निकायमा अत्याधुनिक प्रविधिमार्फत त्रुटिरहित ढङ्गबाट सेवा प्रदान गर्ने कार्यलाई प्राथमिकताका साथ अघि बढाएको जानकारी दिनुभयो ।  (रासस)