NP EN

१४ माघ, २०७६ मा प्रतिनिधि सभामा व्यक्त गर्नुभएको मन्तव्य

१४ माघ, २०७६ मा प्रतिनिधि सभामा
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले
व्यक्त गर्नुभएको मन्तव्यको पूर्णपाठः


सम्माननीय सभामुख महोदय,

सबैभन्दा पहिले त म जनताको सर्वोच्च प्रतिनिधि संस्थाको प्रतिनिधि सभा, यस प्रतिनिधि सभाको सभामुख जस्तो यस गरिमामय पदमा यहाँ निर्वाचित हनुभएकोमा हार्दिक बधाई र शुभकामना भन्न चाहन्छु । यहाँको कार्यकाल सफल रहोस् ।

हाम्रो संसदले पुरा गर्नुपर्ने भूमिका आजको अवस्थामा यस भूमिकालाई प्रभावकारी ढंगले अगाडि बढाउन संसद संचालनको गहन अभिभारा यहाँको काँधमा आएको छ । म खुशी व्यक्त गर्न चाहन्छु र यस काममा सफलता मिलोस् भनेर म मेरो दलको तर्फबाट, मेरो तर्फबाट, नेपाल सरकारको तर्फबाट र सबै साथीहरुको तर्फबाट समेत बधाई शुभकामना भन्न चाहन्छु ।

खुशीको कुरा हो की यहाँ सर्वसम्मत ढंगले निर्वाचित हुनुभएको छ । यो एउटा राम्रो लक्ष्ण हो कि  यसमा कहीँ कतै असहमति, विरोधका पक्षहरु रहेनन् । यहीँ भावका साथ अगामी दिनमा संसद अगाडि बढ्ने छ र यहाँले संविधानको रक्षा, त्यसको मर्मअनुसार त्यसको परिपालना, त्यसको कार्यान्वयन र कानून सम्वत ढंगले, नियम सम्वत ढंगले संसदलाई मर्यादित ढंगले अगाडि बढाउन सफलता प्राप्त गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।

म आफ्नो तर्फबाट यहाँलाई पूर्ण सहयोग रहने कुराको पनि वचन दिन चाहन्छु । हाम्रो पूर्ण सहयोग सभा संचालनमा रहनेछ र सकारात्मक भूमिकाका साथ रहनेछ भन्ने कुरा स्पस्ट गर्न चाहन्छु ।

सभामुख महोदय,

हामी एउटा राजनीतिको चरण पार गरेर अब यस विन्दुमा आइपुगेका छौं, जहाँ हामीले देशलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा हाम्रा आजका प्राथमिकता के हुन् ? हामीले आफ्ना विचारहरु र कामहरु के मा केन्द्रीत गर्नु पर्छ भन्ने कुरामा विचार गरेर अगाडि बढ्नु पर्ने अवस्था म देख्छु ।

हाम्रो समाजको चरित्र पनि मेलमिलापयुक्त ढंगले अगाडि बढ्ने छ । हामीले लोकतान्त्रिक प्रणाली स्थापना गरिसकेका छौं । जनतामा सार्वभौमसत्ता आइसक्यो । सार्वभौम जनता सबै कुराका अन्तिम निर्णायक शक्ति हुन् । 

हामीले प्रणाली मात्रै होइन, प्रक्रिया प्रक्रिया पनि लोकतान्त्रिक प्रक्रिया पनि अबलम्वन गरेका छौं, अगाडि बढेका छौं, अगाडि बढाएका छौं । जनताका सार्वभौम सत्तालाई संवैधानिक हिसाबले र संविधान कार्यान्वयन मार्फत व्यवहारिक रुपमा समेत निर्वाचन पनि गराएर, संरचनाहरु पनि तयार गरेर, संविधान कार्यान्वयनको र संरचनाहरुलाई संविधान कार्यान्वयनको निम्ति गतिशील बनाउने सन्र्दभमा हामीले बाटो तय गरिसकेका छौं र अगाडि बढिसकेका छौं । यस्तो अवस्थामा हामीले अब सुशासन र विकासका प्रश्नहरुमा आफ्ना सम्पूर्ण विचार र प्रयासहरुलाई केन्द्रीत गरेर अगाडि बढ्न जरुरी छ । 

यसो गरिरहदा हामी हुनसक्छ विभिन्न दलहरु छौं । हामीले रोजेको प्रणाली हो–बहुदलीय व्यवस्था । बहुदल, बहुविचार, बहुलता र विविधता हामीले रोजेको, छानेको, स्वीकारेको प्रणाली हो । यसमा स्वभाविक रुपमा केही मतभेद हुनसक्छन् । तर, हामी आधारभूत र महत्वपूर्ण कुरामा एकताबद्ध भएर स्वस्थ्व बाटोबाट अगाडि जान सक्छौं । 

हिजो हामी लोकतन्त्रको लडाँइमा थियौं । लोकतन्त्रको लडाँइमा हामी साथसाथै अगाडि बढेका थियौं । हाम्रा तरिकाहरु, बाटाहरु अलिक फरक फरक भएपनि गन्तव्य एउटै थियो ।

त्यसकारण विभिन्न ठूला असहमतिका बाबजुत हामी सहमतिको विन्दुमा पुगेका छौं र हामी आज यस ठाउँमा छौं । आज प्रणालीको ग्राह्यता, उपलब्धिहरुको अर्थ र मर्म सहित त्यसको स्वीकार्यता, तिनलाई संस्थागत गर्ने संविधान, तिनको कार्यान्वयन र अब समाजलाई अगाडि बढाउने अभियानमा हामी एउटै यात्रामा अगाडि पनि बढेका छौं । हाम्रो समाजको चरित्र पनि त्यस्तै छ । हामी संघर्ष गर्दा पनि संघर्षबाट अन्तिममा फेरि सहमतिमा पुग्छौ । हाम्रा संघर्षहरुको र संघर्षका उपलब्धिहरुको टंगो लगाउने विधि पनि त्यहीँ छ । ००७ सालमा आन्दोलन भयो, शसस्त्र विद्रोह भयो, त्यो संघर्ष सम्झौताबाट टुंगियो ।

जो राणा शासनका विरुद्ध आन्दोलन गरिएको थियो, त्यहीँ राणालाई प्रधानमन्त्री बनाएर, जुन राजा भागेका थिए तिनलाई फेरि बोकेर ल्याएर आशन ग्रहण गराएर, आन्दोलनकारी शक्ति सरकारमा सामेल भएर सहमति बनेको थियो र सहमतिको बाटोमा देश अगाडि बढेको थियो । जहाँ सहमति भयो र सहमतिका साथ अगाडि बढे लोकतान्त्रिक शक्तिहरु त्यहाँ हामीले ठूलाठूला सफलताहरु प्राप्त गरेका छौं । संघर्षको मैदानमा सफलता प्राप्त गरेका छौं, आन्दोलनका क्रममा सफलता प्राप्त गरेका छौं । र, पछिल्ला अवधिहरुमा जहाँ हामी एकताबद्ध भएनौं त्यहाँ हामीले असफलता र पीडा भोग्नु परेको छ । जहाँ एकताबद्ध भयौं त्यहाँ सफल भएका छौं ।

विभिन्न प्रतिगामी कदमहरु त्यतिबेला भएका छन्, जतिबेला हामी एकताबद्ध हुन सकेनौं । निर्दलीय निरकुंश तन्त्र त्यति बेलासम्म चलेको छ, त्यति बेलासम्म हामी एकताबद्ध हुन सकेनौं । ०४६ सालमा हामी एकताबद्ध भयौं ३० वर्षको पञ्चायत ढल्यो, निरंकुशतन्त्र ढल्यो, पछि पनि हामी एकताबद्ध भयौं माघ १९ जस्ता घटनालाई पराजित ग¥यौं हामीले । राजतन्त्रका निरंकुश हुने सपनालाई पराजित ग¥यौं हामीले–एकताबद्ध भएपछि । र, एकताबद्ध भएर नै हामीले संविधान जारी गर्न सकेका हौं । एकताबद्ध नभएको भए संविधान जारी गर्न सकिने थिएन, सम्भव हुने थिएन । एकताबद्ध नभएको भए संविधान जारी गरिसकेपछि पनि निर्वाचन सम्भव हुने थिएन । निर्वाचन पनि हामीले एकताबद्ध भएर सम्पन्न गर्‍यौं ।

अब हामी यी सबै काम भइसकेको अवस्थामा आएका छौं र हामीलाई अनुभवले एकताबद्ध ढंगले अगाडि बढ्न शिक्षा दिएको छ । यतिबेला म त्यही आग्रह गर्न चाहन्छु, अब हाम्रा एजेण्डाहरु, हाम्रा विषयहरु  यी कुराहरुलाई पनि हामीले सुशासन र विकासतर्फ केन्द्रीत गर्न जरुरी छ ।  यसो गर्दा निष्ठापूर्वक । आजको समय आइडोलोजिकल आग्रहमा अल्झिने र ति मतभेदले सत्यलाई अस्वीकार गर्ने, सत्यभन्दा संलग्नतालाई माथि ठान्ने जस्ता कुराहरु मैले अगाडिको सन्र्दभमा पनि कहिले कहिले भन्ने गरेको छु, संलग्नतालाई महत्वपूर्ण ठान्ने र सत्यलाई कम महत्व दिने जस्ता कुराहरु हामीले गर्न यतिबेला अब हामीसँग समय छैन् । र, म के भन्न चाहन्छु भने, दुनियाँ तीव्र गतिमा अगाडि बढेको छ आज, विकासको हिसाबले, विज्ञान प्रविधिको हिसाबले, इन्फास्ट्रक्चर, कनेक्टिभिटी अरु विभिन्न हिसाबले दुनियाँ तीव्र गतिमा अगाडि बढेको छ । यो तीव्र गतिमा अगाडि बढेको दुनियाँको गतिलाई  हामीले पक्रिन सकेनौं भने हामीले समय खेर फालेका हुन्छौं । समयले हामीलाई पर्खिएको हुँदैन, पर्खिदैन् । त्यसकारण मेरो सबै माननीयज्यूहरुमा सभामुख मार्फत आग्रह छ की आज हामी यस गतिलाई समाउन सकौं, विकासको यस गतिलाई । यस कामको नेतृत्व अहिलेको सरकारले गर्छ । हामीले लडेर ल्याएको, बलिदानपूर्ण संघर्षबाट ल्याएको प्रणाली, त्यस प्रणाली अनुरुपको संविधान, त्यस संविधान अनुकुलका कानूनको निर्माण र कार्यान्वयन यी कुराहरुमा सरकार प्रतिबद्ध छ । 

हामी यतिबेला ससाना कुरहरुमा अल्झिने, आग्रहहरुमा अल्झिने, अनावश्यक बहसहरुमा अल्झिने जस्ता कुराहरु गर्न उपयुक्त हुँदैन ।

सम्माननीय सभामुख महोदय,

केही दिन पछि मैले आजको राजनीतिक अवस्था, विभिन्न अहिले चर्चामा रहेका समसामयिक सान्र्दभिक विषयहरु र हामीले गर्नुपर्ने काम तत् सम्बन्धमा नेपाल सरकारको दृष्टिकोण आदिको बारेमा छुट्टै आफ्ना विचारहरु समय लिएर राख्नेछु । 

आज म विषयहरुमा केही प्रवेश गरिरहन आवश्यक ठान्दिन । हामी अलिकति बिलम्व भइसकेका छौं हामी । सभामुख चयनको सन्र्दभमा पनि हामी अलिकति बिलम्व भयौं । अब हामीले बिलम्व गर्नु हुँदैन । र, हाम्रा कामहरुलाई संसदले पनि, सरकारले पनि र हरेक ठाउँबाट तीव्र गतिमा अगाडि बढाउन जरुरी छ । नत्र हामी वास्तवमै पछाडि पछौं र अरु विषयहरुमा म पछि आफ्ना कुराहरु राख्नेछु ।

हामीले यतिबेला हाम्रो अगाडि थुप्रै विधेयकहरु पारित गरेर ऐनहरु निर्माण गर्नु पर्ने छ । प्रस्तावहरु पारित गर्नु पर्ने छ । हामीले धेरै अगाडिदेखि बढ्दै आएको विभिन्न चरणहरु पार गर्दै आएको, ६–७ ओटा प्रधानमन्त्रीका कार्यकालहरु गुजारदै आएको र अहिले संसद समक्ष अनुमोदनका लागि प्रतिक्षा गरिरहेको एमसीसी जस्ता कुराहरु पारित गर्नु पर्नेछ । यस्ता अनेक विषयहरु हाम्रा अगाडि छन् । जसको सम्बन्धमा म सविस्तार पछि भन्ने छु । 

अहिले यस अधिवेशनमा म सबै माननीय ज्यूहरुलाई स्वागत पनि गर्न चाहन्छु । हामी भर्खर नयाँ वर्ष २०२० मा प्रवेश गरेका छौं । यो नयाँ वर्ष २०२० लाई हामीले नेपाल भ्रमण वर्षको रुपमा अगाडि सारेका छौं । यसमा हामीलाई सुरुमै केही धक्काका संकेतहरु प्राकृतिक हिसाबले देखा परेका छन् । जसलाई हामीले सावधानीपूर्वक सामना गर्नु पर्नेछ । सरकार त्यसको तयारीमा लागेको छ ।

अब यस अधिवेशनलाई अलिकति समय खेर गएको भएपनि अब खेर जान नदिएर थुप्रै कामहरु हाम्रा अगाडि जुन छन्, तिनलाई सहज ढंगले अगाडि बढाउनु पर्नेछ । ति कामहरु हामी अगाडि बढाउन सफल हुनेछौं । र, यस काममा सभामुख महोदयको सफल नेतृत्व सदनमा रहनेछ भन्ने मैले विश्वास लिएको छु । 

फेरि एकपटक म सभामुख महोदयलाई यस गरिमामय पदमा निर्वाचित हुनु भएकोमा बधाई भन्न चाहन्छु । सफल कार्यकालको लागि शुभकामना भन्न चाहन्छु । धन्यवाद ।