NP EN

नेकपा केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको समापनका अवसरमा ​प्रधानमन्त्रीले दिनुभएको मन्तव्

प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको 
दोस्रो पूर्ण बैठकको समापनका अवसरमा
दिनुभएको मन्तव्य
१९ माघ २०७६



अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’, 
वरिष्ठ नेता कमरेडहरू, सचिवालयका सदस्य कमरेडहरू 
केन्द्रीय कमिटीका सम्पूर्ण सदस्य कमरेडहरू 
र संचारकर्मी मित्रहरू !

हामी केन्द्रीय कमिटीको बैठक सफलतापूर्वक सम्पन्न र समापन गर्ने क्षणमा यहाँ उपस्थित भएका छौं । वितेका पाँच दिनहरूमा यहाँहरू निकै महत्वपूर्ण छलफलमा रहनुभयो । मूलतः राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रतिवेदन, विधान संशोधन प्रस्ताव र समसामयिक प्रस्तावहरू यस बैठकमा प्रस्तुत, छलफल र पारित गरिएका छन् । प्रतिवेदनहरू र प्रस्तावहरूमाथि विभिन्न १५ वटा समूह विभाजन गरी तपाईहरूले गहन छलफल गरेर महत्वपूर्ण निष्कर्षहरूसमेत प्रस्तुत गरिसक्नुभएको छ । प्रतिवेदन र प्रस्तावहरू प्रस्तोता कमरेडहरूले यहाँहरूका प्रश्न, जिज्ञासा र सुझावहरूमा संबोधन र प्रत्युत्तर पनि गरिसक्नु भएको छ । यसरी यहाँ धेरै महत्वपूर्ण धारणा र रायसुझाव आएका छन् । पार्टीको संरचनागत परिमार्जन, परिस्कार र अग्रगतिका लागि यहाँहरूले महत्वपूर्ण सुझावहरू प्रस्तुत गर्नुभएको छ । विधानमा आवश्यक संशोधन गरेर, उपाध्यक्षको चयन गरेर, सम्पूर्ण प्रस्तावहरू पारित गरेर आज भनिएकै मिति र भनिएकै समयभित्र यो बैठक सम्पन्न हुन लागि रहेको छ । यो ज्यादै खुशीको कुरा हो । यस बैठकमा सक्रिय सहभागिताका लागि, आफ्ना गहन विचारहरू व्यवस्थित ढंगले र खुलस्त प्रस्तुत गर्नका लागि जुन योगदान कमरेडहरूले गर्नुभयो, जुन सक्रिय भूमिका कमरेडहरूले खेल्नुभयो, त्यसका लागि म सबैलाई धन्यवाद भन्न चाहन्छु । त्यसैको सकारात्मक निष्कर्षमा र त्यसअनुसार नै हामी बैठकको समापनमा आएका छौं ।

बैठकले आगामी दिनमा पार्टी कसरी अगाडि बढ्ने भन्ने कुराको सन्दर्भमा दिशानिर्देश गरेको छ । पार्टीका सबै तह कसरी अगाडि बढ्नेदेखि लिएर सरकार संचालनको सन्दर्भमा पार्टीले लिनुपर्ने वैचारिक  राजनीतिक विचारको सन्दर्भमा पनि दिशानिर्देश गरेको छ । त्यसै गरेर सरकारले लिनुपर्ने सुशासन र विकासका नीतिहरूको सन्दर्भमा अथवा विविध विषयका नीतिहरूको सन्दर्भमा पनि ठोस योगदान गरेको छ । आगामी दिनमा पार्टी कसरी अगाडि बढ्नुपर्दछ भन्ने कुरामा पार्टीको यस बैठकले स्पष्ट मार्गनिर्देश गरेको छ । यो हाम्रो महत्वपूर्ण सफलता पनि हो । 

म देशको प्रधानमन्त्रीका हैसियतले पनि भन्न चाहन्छु, पार्टीपङ्क्ति र पार्टीको निर्देशनअनुसार सरकार चल्छ । पार्टीका नीतिहरूअनुरूप वा पार्टीले जसरी निर्देश गरेको छ, त्यसरी नै सरकार चल्छ । सरकार पार्टी सँगसँगै चल्नुपर्छ । पार्टीको कार्यविभाजनमा पनि हामीले यसबारेमा चर्चा गर्‍यौं । अभियान संचालन गर्ने कुराहरू, एकीकरणका बाँकी कामहरूलाई समयभित्रै पूरा गर्ने प्रतिबद्धतासमेत गर्‍यौं र यी प्रतिवद्धताहरूलाई हामीले व्यवहारमा र कार्यान्वयनमा लैजानुपर्छ ।
अपेक्षाहरू धेरै हुन सक्छन्, आशाहरू अनेकन् हुन सक्छन् । विभिन्न प्रकारका अपेक्षाहरू थिए, बाहिर पनि झनै थिए । तिनलाई विरोध र आक्रोशमा बदल्न सकिन्छ कि भनेर कतिपयले त्यसप्रकारका प्रयासहरू पनि गर्न खोजेका थिए, जो अनुचित थिए र अनावश्यक नै हुन् । 

हामीले गरेको एकीकरण भूलचुकमा भएको होइन । यो सोची सम्झिकन गरिएको एकीकरण हो । यो एकीकरण देशका बहुसंख्यक जनताका हितहरूलाई सम्बोधन गर्ने, आन्दोलनका कर्तव्य एवं अभिभाराहरूलाई आत्मसात् गर्ने गरी गरिएको एकीकरण थियो र हो । यो एकता त्यसै उद्देश्यमा आधारित छ । तिनै उद्देश्यहरूमा आधारित हाम्रा नीतिहरू सही रहेका छन् । हाम्रो पार्टीको यस बैठकले पनि यो कुरा देखाएको छ, हाम्रो पार्टी सही नीतिहरूका साथ र सही सिद्धान्तहरूका साथ अगाडि बढेको छ । राष्ट्रियताको सवालमा हाम्रो पार्टीले कुनै भूलचुक गर्दैैन । देशको सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय हितहरूका प्रश्न अथवा सीमानाका प्रश्न वा अरु कुनै पनि प्रश्नमा हाम्रो पार्टी स्पष्ट र दृढ छ । यी विषयहरूमा कुनै प्रकारको कमी हुँदैन । पार्टीको नीति र निर्देशनमा चलेको, पार्टीको नेतृत्वमा बनेको सरकारले स्वभाविक रूपमा राष्ट्रिय हितहरूको रक्षा गर्ने, सार्वभौमसत्ताको रक्षा गर्ने तथा स्वाधीनता र भौगोलिक अखण्डताको रक्षा गर्ने कुरामा कुनै कमी रहन दिँदैन ।

त्यसैगरी लोकतन्त्रका सवालमा हामी कुनै प्रकारको कमी रहन दिँदैनौं । हामी लोकतन्त्रका अन्तर्राष्ट्रिय मूल्यमान्यताहरू, मानव जातिले स्थापना गरेका सर्वश्रेष्ठ प्रणाली वा प्रणालीका अन्तरवस्तुमा रहेका सबैभन्दा महत्वपूर्ण कुराहरू जस्तो कि – जनतामा निहीत सार्वभौमसत्ता, जनताको सरकार, जनताका लागि सरकार, जनताद्वारा निर्मित सरकार, जनताका निम्ति काम गर्ने सरकार, त्यो पनि राजनीतिक अधिकार वा अधिकारको प्रश्नमा मात्र होइन, अधिकारसम्म पुग्ने अवस्था र सामथ्र्य सिर्जना गर्ने, जनताले अधिकार उपभोग गर्नसक्ने अवस्था सिर्जना गर्नसक्ने, सबैका निम्ति अवसरका कुरा, सामाजिक न्याय र समानताका कुराहरूमा सबैका लागि सुरक्षा र निर्भय ढंगले बाँच्न र चल्न पाउने कुरामा सरकारले सदैव जनताको पक्षमा काम गर्छ । आफ्नो अधिकार, अवसर र स्वाभिमान समेतको सुरक्षा र स्वाभिमानपूर्ण जीवन बिताउन पाउने अधिकारको सुनिश्चितता, मानवअधिकारको प्रत्याभूति अथवा आज जल्दोबल्दो रूपमा रहेको वातावरणीय प्रश्न – यी सबै कुरामा सजगताका साथ हामी अगाडि बढ्छौं । हाम्रो पार्टी यी कुराहरूमा कुनै उग्रपन्थी, संकीर्ण र उत्ताउला विचारहरूमा छैन । हाम्रो पार्टी दक्षिणपन्थी अतिवादी विचारहरूमा पनि छैन । हाम्रो पार्टी वैचारिक रूपमा कुनै पछौटेपनमा छैन र अग्रगामी हुने नाममा उत्ताउला प्रवृत्तिहरूमा पनि आकर्षित छैन । हामीसँग गौरवपूर्ण इतिहास, सँस्कृति र परम्पराहरू छन् । हाम्रा आफ्नै गौरवपूर्ण सभ्यता छ। तिनको जगमा नै हामी आधुनिकतालाई समेटेर, सामाजिक न्याय र समानतालाई समेटेर र विकास गरेर अगाडि जाने, हाम्रो राजनीतिक प्रणाली, आर्थिक–सामाजिक प्रणाली, साँस्कृतिक प्रणाली र मान्यताहरू जो छन्, त्यसैअनुसार नै अगाडि बढेर हामीले सरकार संचालन गर्ने र अगाडि लैजाने हो । यस बैठकबाट पनि हाम्रो पार्टीले यी सबै कुराहरूमा पुनःप्रतिबद्धता जनाएको छ र थप स्पष्ट पनि पारेको छ । मलाई लाग्छ, यसबाट देश नै स्पष्ट हुन मद्दत पुग्ने निश्चित छ ।

हामीले विभिन्न विषयहरू निकट भविष्यमा टुंगो लगाउनु पर्नेछ । कतिपय विषयहरू जस्तो कि एमसीसीको बारेमा हामी निकट भविष्यमा टुंगो लगाउँछौं । अरु कतिपय यस्ता विषयहरू छन्, जसमा हामीले ध्यान दिनुपर्ने छ । तिनमा पनि हाम्रो ध्यान गंभीरताका साथ नै पुगेको छ ।

अहिले चीनको वुहानबाट पैदा भएको र फैलिएको नोवल कोरोना भाइरसको बारेमा विश्वव्यापी चासो र चिन्ता छ । त्यसको सम्बन्धमा सरकार अत्यन्तै सजग छ । म केन्द्रीय कमिटीसमक्ष प्रधानमन्त्रीको हैसियतले अवगत गराउन चाहन्छु कि हिजो बेलुका मात्रै पनि हामीले लामै समय बैठकमा बसेर छलफल गरेका थियौं । हामीले त्यहाँबाट अहिले आफ्ना नागरिकहरू यहाँ ल्याउनु मात्र ठूलो कुरा होइन, यहाँ ल्याएपछि खुरुखुरु परिवारमा पठाउन मिल्दैन । १४ दिन क्वारेन्टाइन जाँचमा अलग्गै राखेर हेरविचारको बन्दोबस्त मिलाउनुपर्छ । त्यसको आवश्यक व्यवस्था मिलाउनुपर्ने जरुरत हुन्छ । पहिले त त्यसको तयारी गर्नुपर्ने हुन्छ । अहिले बरु त्यहीं सुरक्षित र उचित रूपमा राखेर हेरविचार गरिएको छ । त्यसकारण धेरै आत्तिनुपर्ने आवश्यकता छैन । हामीले यहाँ तयारी गरिराखेका छौं । उहाँहरूलाई यहाँ ल्याएर क्वारेन्टाइनमा राख्नुपर्ने नै हुन्छ । क्वारेन्टाइनमा १४ दिन राखेपछि बल्ल कोरोना संक्रमण छ कि छैन भन्ने स्पष्ट हुन्छ । क्वारेन्टाइन परीक्षणबाट संक्रमणको खतरा अब छैन भनेपछि मात्र परिवारमा पठाउन मिल्छ । यो फेरि महामारीको रूपमा फैलिने खतरासमेत हुन्छ । त्यसकारण हामीले यसको बारेमा पूर्वसचेतना र सावधानीका साथ सबै कामहरू गर्नुपर्छ । हामीले उचित ठाउँहरू हेरिराखेका छौं । आवश्यक बन्दोवस्तीको तयारी गरिराखेका छौं । यहाँ ल्याएपछि क्वारेन्टाइनमा कहाँ राख्ने ? कसैमा संक्रमण फेला परेमा अलग्गै राखेर उपचार गर्ने अस्पतालको प्रबन्ध हामीले मिलाएका छौं । अहिलेसम्म नेपालमा कोरोना भाइरस एक जनामा फेला परेको थियो, त्यो पनि समाप्त भयो, हटिसक्यो । अब नेपालमा कोरोना भाइरस प्रमाणित रूपमा कसैमा छैन । अरु दुई जनामा आंशका गरिएको थियो । रुघाखोकी लागेपछि आंशका गर्नु बेग्लै कुरा हो, आतंकित बन्नु बेग्लै कुरा हो । तर, कोरोना भाइरस लागेका बिरामी अहिले नेपालमा छैनन् । नेपाल एकदमै त्रसित हुनुपर्ने अवस्थामा होइन । तर सजग हुनुपर्ने अवस्था अवश्य छ । यो सजगताका निम्ति हामी सबैले आफ्नो पार्टीका कमिटीहरू, हाम्रा जनप्रतिनिधि संस्थाहरू अथवा जनवर्गीय संगठनहरू  सबैले सानातिना कुरादेखि लिएर भिडभाडमा जाँदा मास्क लगाउने कुरामा समेत पर्याप्त ध्यान दिनुपर्छ । अहिले त मास्क उपलब्ध हुन पनि गाह्रो परेको छ । किनभने मास्कको उत्पादन यहाँ ठूलो मात्रामा हुँदो रहेनछ । बेस्सरी उत्पादन गर्दा पनि दिनको ९ हजार मात्रै उत्पादन गर्न सकिँदो रहेछ । हाल उत्पादन भएको मास्कको संख्याचाहिँ दिनको तीन हजार मात्रै रहेछ ! नेपालमा तीन हजार मात्रै उत्पादन हुने गरेको रहेछ, यसलाई बढाएर ९ हजारसम्म उत्पादन गर्न सकिंदो रहेछ । अहिले यसलाई अधिकतम् उत्पादन गर्ने दिशामा काम भइरहेको छ । अरु विभिन्न पक्षहरूमा पनि मास्क प्रयोग गर्ने, त्यसको प्रयोग गर्ने आदत बढाउनेदेखि लिएर हात धुने चेतनाका कामहरू पनि बढाउनुपर्छ । धेरै महत्वपूर्ण कुरा के हो भने जुनकुनै काम गरिसकेपछि साबुन पानीले हात धुन ध्यान दिनैपर्छ । यो कुरा धेरै सानोजस्तो भए तापनि रोगको रोकथामका लागि बहुतै महत्वपूर्ण कुरा हो । र, रोग सर्न नदिनका निम्ति मुख छोपेर मात्रै हाँच्छियू गर्ने गर्नुपर्छ । यो रोग हाँच्छियूबाट सर्नसक्छ, परसम्म जानसक्छ । तसर्थः एक मिटरभन्दा नजिकै मान्छेसँग नबस्ने, कुराकानी नगर्नेजस्ता सावधानी अपनाउन पनि हामीले जनतामा स्पष्ट कुरा लैजानु पर्छ । यी सब कुरा साधारण देखिन्छन्, तर स्वास्थ्यका लागि निकै महत्वपूर्ण छन् । यी कुराहरूमा जुनसुकै तहका भएपनि हाम्रा पार्टी कमिटीहरू, कार्यकर्ताहरू र सरकारका तर्फबाट पनि कामहरू भइराखेका छन् । सरकारको तर्फबाट स्वास्थ्य मन्त्रालय, स्वास्थ्यकर्मीहरू, रेडक्रसजस्ता संस्थाहरू छन्, अरु विभिन्न संघसंस्था पनि यसमा संलग्न छन् । सजगता जगाउने, चेतना जगाउने कार्यक्रम र यस्ता अभियानहरूमा विश्व स्वास्थ्य संगठनले नै ग्लोवल हेल्थ इमर्जेन्सी भनेर संकटकाल घोषणा गरेको छ । विश्वभरि १२ हजारमा यो संक्रमण भइसकेको छ  र २० वटा देशमा फैलिएको छ । यसलाई हामीले अत्यन्त गंभीरताका साथ लिएका छौं । हाम्रो देशमा अहिलेसम्म यो संक्रमण छैन । हाम्रो देशमा यसलाई प्रकट हुन नदिने कुरामा हामी सजग छौं । चीनमा हाम्रा विद्यार्थीहरू छन् । विद्यार्थीहरूका साथसाथै अरु नागरिकलाई पनि उद्दार गर्न परेको खण्डमा वा आवश्यक पर्दाखेरि हामीले उद्दार गर्नुपर्ने हुनसक्छ । तर अहिले त्यस्तो आत्तिनुपर्ने कारण छैन । चीनले व्यवस्थित ढंगले त्यसको व्यवस्था कसरी हुनसक्छ भनेर गरेको छ । करोडौं मानिसहरूलाई त्यहाँ खाना पुर्‍याउनेदेखि लिएर सावधानीका उपायहरू अपनाउने गरिएको छ । कसरी अलग्गै राख्न सकिन्छ, अलग्गै राख्ने, एकअर्कामा धेरै घुलमिल नहुने र खाना पुर्‍याएर, औषधी पुर्‍याएर र उपचार पुर्‍याएर त्यहाँ राखिरहेको छ । नेपाली विद्यार्थीहरूको जुन विशेष चासो छ, उहाँहरूलाई पनि फरक ढंगले क्वारेन्टाइनमा अलग्गै ठाउँमा समेत आवश्यकताअनुसार राखेको छ । अरुभन्दा उहाँहरू आरामसँग बस्नुभएको छ । त्यहाँ संक्रमण फैलिएला कि भन्ने चिन्ता छ, फैलिनसक्ने चिन्ता त दुनियाँभरि नै छ । त्यहाँबाट जतासुकै फैलिनसक्ने चिन्ता छ र सावधानी अपनाइएको छ । आउँदाखेरि बाटोमा कतै फेरि कसैले संक्रमण बाहकको भूमिका खेल्ने स्थिति नहोस् भन्ने कुरामा पनि हामीले ध्यान दिएका छौं । यसरी कोरोना भाइरसको सम्बन्धमा सरकार सजग छ । सरकार मात्रै सजग भएर हुँदैन, यसमा सबै सजग हुनु जरुरी छ । हामी हरेकले पनि सजगता अपनाउनुपर्ने जरुरी छ । हरेकमा यसको चेतना आउनु जरुरी छ । यसमा मात्रै होइन, अरु प्रकारका भाइरसहरू पनि आउन सक्छन् वा अरु विपत्तिहरूसँग पनि हामी सजग हुन जरुरी छ । त्यतापद्मि ध्यान जान जरुरी छ ।



सँगसँगै म कमरेडहरूलाई भन्न चाहन्छु, हामीले खाली वैचारिक मात्र काम गर्ने, सांगठनिक काम मात्रै गर्ने होइन । हामीहरू सबै सामाजिक जागरणका अभियन्ता हुन जरुरी छ । सामाजिक जागरणको अभियन्ता भएर सरकारले छाउपडीका गोठहरू त भत्काउँदै हिँडेको छ । तर मानसिक अवस्था वा दिमागबाट छाउपडी हटेको अवस्था छ कि छैन ? मनबाट छाउपडीको उपस्थिति हटेको छ कि छैन ? यसकारण हामीले मानसिक र भौतिक दुबै रूपमा छाउपडी हटाउने कुरामा जोड दिएका छौं । सरकारले जोड दिएको छ, जनप्रतिनिधि संस्थाहरूबाट जोड दिइएको छ । अब हाम्रा जनवर्गीय संगठनहरू खासगरी अखिल नेपाल महिला संघ, विद्यार्थी र युवाहरूले पनि यस्ता अभियानहरू संचालन गर्न जोड गर्नुपर्छ । बोक्सीविरुद्ध र छाउपडी विरुद्धका अभियान वा अरु विभिन्न अन्धविश्वास र विभेदविरुद्ध जनचेतना र जागरणका अभियानहरू संचालन गर्नुपर्छ । यसरी सामाजिक अभियन्ताका रूपमा हामीले काम गर्न जरुरी छ । छोराछोरी पढाउने, छोराछोरी स्कुलबाट बाहिर नआउन् भन्ने सम्बन्धमा खासगरी पछाडि परेका समुदाय, दलित भनिएका समुदाय, मुस्लिम समुदाय र समुदायगत रूपमा पछाडि परेकाहरूको सम्बन्धमा हामीले ध्यान दिनुपर्छ । ती हरेक समुदायहरूलाई कसरी शिक्षामा अगाडि बढाउने भन्ने कुरामा ध्यान दिनुपर्छ । क्षेत्र विशेषहरूमा विभिन्न समुदाय पछाडि परेका छन्, तिनलाई कसरी अगाडि बढाउने ? जबसम्म हामीले सबै बालबालिकालाई उचित शिक्षादीक्षा दिन सक्दैनौ, तबसम्म विकासका प्रयासहरूलाई दीगो रूपमा अगाडि बढाउन पनि सक्दैनौं भन्ने कुराको विशेष हेक्का राख्नुपर्दछ । त्यसकारण यस्ता अभियानहरू हामीले व्यवस्थित रूपमा संचालन गरेर अगाडि लैजानु नै पर्ने खाँचो रहेको छ ।

हाम्रो पार्टीले अहिले केन्द्रमा सरकार संचालन गरिरहेको छ । हामी दुई तिहाईमा छौं । यसपटक राष्ट्रिय सभाको निर्वाचनले देखायो कि सम्पूर्ण ठाउँहरूमा या त हामीले समर्थन गरेकाले जिते या हामीले जित्यौं । अर्थात्, हामीले दुई सीट प्रदेश नं २ मा थप गरेर १६ सीटमा जित्यौं । यसरी हाम्रो स्थिति थप मजबुत भएको छ । हामीले यस स्थितिलाई शिखर हुन दिने होइन, यसलाई प्रारम्भको स्थितिमा राखेर अघि बढ्नुपर्दछ । यो हाम्रो विकासको सिँढी मात्र हो, शिखर होइन । हामी विकासको यस सिँढीबाट निरन्तर अगाडि बढ्नुपर्छ । यसलाई नै शिखर ठानेर जानुहुँदैन । यस ढंगले सही विचार निरूपण र वैचारिक छलफलहरू हुन जरुरी छ । मलाई खुशी लागेको छ, केन्द्रीय कमिटीको यस बैठकमा यद्यपि समय थोरै हुन्छ, धेरै लामोलामो छलफल गर्न सक्दैनौं, निर्धारित समयमा बोल्नुपर्ने हुन्छ । तैपनि गहन छलफलहरू गरेका छौं र स्पष्ट दिशानिर्देश भएको छ ।

हामीले यो बैठकपछि हाम्रा कमिटीहरूमा वैचारिक छलफललाई तीब्रता दिनुपर्ने जरुरी छ । वैचारिक छलफलहरूमा सहीलाई सही विचारका रूपमा आत्मसात् गर्दै आजको आवश्यकताअनुसार हाम्रो पार्टी अगाडि बढ्ने कसरी हो ? तत्सम्बन्धमा केन्द्रले तय गरेका नीतिहरूमा आधारित भएर, केन्द्रका विचारमा आधारित भएर अगाडि जानका निम्ति पार्टी स्कूललाई सक्रिय बनाएर अगाडि बढाउने, अध्ययन कक्षाहरू संचालन गर्ने र विभिन्न प्रकारका पार्टी स्कूल र अरु प्रकारका तालीमहरू संचालन गर्ने कामहरू गर्नु आवश्यक छ । सरकार त पार्टी नीतिहरूअनुसार नै सबै क्षेत्रमा विकास निर्माणका कामहरू, सुशासन र भ्रष्टाचार नियन्त्रणका कुरा गरेर अघि बढ्नका निम्ति लागिपरेको छ र लाग्छ नै ।

कतिपय साथीहरूले भ्रष्टाचार बढ्यो भनेको सुनियो । बढेकोजस्तो किन देखियो भने अहिले धेरै ठाउँमा कारबाही भएको छ । अनि ए कारबाही पो भयो भन्दै भ्रष्टाचार बढ्यो भनेर हल्ला मच्चाउने गरिएको छ । जबकि भ्रष्टाचार गर्ने यतै समातिएको छ, उतै समातिएको छ, घुस लिँदालिँदै र जनप्रतिनिधि पनि समातिएको छ भनेपछि बढेछ कि क्या हो भन्ने पनि पर्‍यो होला ! तर बढेको होइन, नियन्त्रण गरिएको हो । नियन्त्रणको सिलसिला जब अगाडि बढ्यो, यो प्रकट भयो, देखियो, तर उल्टै बढ्यो भन्ने पर्‍यो भने गलत हो । खासमा यो नियन्त्रणको सिलसिला अगाडि बढेको हो । साथीहरू हामी सुशासनको बाटोमा अगाडि जाँदैछौं । यसर्थः हामी हरेकको आचरणमा शुद्धता भन्ने कुरा मात्रै होइन, व्यवहारमा लागू गरेर नै आफ्नो आचरण वास्तवमा शुद्ध, सदाचारयुक्त र जनतालाई मनपर्ने बनाउनैपर्छ । जनतालाई मन नपर्ने, जनताले आलोचना गर्ने र नरुचाउने व्यवहार गर्नु हुँदैन । हामीले जनताले मन पराउने खालको व्यवहार नै गर्नुपर्दछ । 



हामीले जिम्मेवारी पायौ भने त्यसलाई सफलतापूर्वक र स्वच्छताका  साथ पूरा गर्नुपर्दछ ।  स्वच्छताका साथ प्राप्त जिम्मेवारी पूरा गर्दा नै व्यक्तिको व्यक्तित्व पनि उठ्छ, नत्रभने त्यसले व्यक्तिलाई नोक्सान पार्छ । यी कुराहरूमा हाम्रो ध्यान जान जरुरी छ । हाम्रो पार्टीले केन्द्र, प्रदेश र स्थानीय तहमा ६६१ वटा सरकार संचालन गरिरहेको छ । ती कुनै पनि सरकार र हरेक सरकारसँग सम्बन्धित कोही पनि व्यक्ति भ्रष्टाचारमा नपरोस् ! प्रधानमन्त्रीको हैसियतमा मैले भन्नुपर्छ, भ्रष्टाचारमा कोही फेला पर्‍यो भने छाडिन्नँ । भ्रष्टाचारमा कोही फेला प¥यो भने कारबाही हुन्छ । तसर्थः कोही फेला नपरोस्, यो मेरो चाहना छ । हामी सबैको चाहना छ । कोही फेला नपरोस्, फेला प¥यो भने कारबाही हुन्छ, हुन्छ ।

हाम्रा हरेक जनप्रतिनिधिहरूले स्वच्छताका साथ र सफल ढंगले काम गरुन् । यसका निम्ति पार्टीले नीतिगत रेखदेख, निर्देशन, सहयोग र सकारात्मक प्रचार गनुपर्छ । अहिले सरकारले धेरै सकारात्मक काम गरेको छ । मैले अस्ति नै फेहरिस्त साथीहरूका अगाडि राखें । त्यो फेहरिस्त केही मात्र हो । त्यसको पुस्तिका पनि वितरण भएको छ । मैले उद्घाटनका अवसरमा बोलेका कुराहरूको पुस्तिका वितरण भएको छ । त्यसमा के के काम भएको छ भन्ने उल्लेख छ । अब सम्झनामा मात्रै होइन, कमरेडहरूले आफ्नो साथमा पुस्तिका नै लगेर मैले बोलेका कुराहरूलाई हेरेर र बुझेर प्रचार गर्न सक्नुहुने छ ।

मैले किन यो कुरा भनेको हुँ र किन पुस्तिका नै छापेर कमरेडहरूलाई दिएको हुँ भने यहाँ के भएको छ भन्ने थाहै पाइएन भन्ने कुरा पनि उठ्यो । अब त्यस्तो स्थिति नहोस् ! खोई के भएको छ हामीले थाहै पाएनौं भन्नेजस्तो स्थिति नहोस् । त्यसकारण यो यो काम भएको छ है भनेर कमरेडहरूलाई पुस्तिका वितरण गरिएको छ । अब साथीहरूले स्पष्ट रूपमा भन्न सक्नुहुन्छ– यो यो काम भएको छ । हो, पार्टीको निर्देशनअनुसार सरकारले काम गर्नुपर्दछ, अनि सरकारले गरेको कामलाई पार्टीले साथ, सहयोग र समर्थन गर्नुपर्छ । यसढंगले हामी अगाडि बढ्नुपर्छ । तल्ला कमिटीहरू र तलका विभिन्न निकायहरूको सम्बन्धमा पनि प्रदेश सरकार र प्रदेश कमिटीहरूले परस्पर समन्वयमा ध्यान दिनुपर्छ । प्रदेश कमिटीले प्रदेश सरकारलाई त्यसैअनुसार निर्देशित गर्नुपर्दछ र प्रदेश सरकारले प्रदेश कमिटीका निर्णयहरू कार्यान्वयन गर्ने र प्रदेश कमिटीले सहीढंगले परिस्थितिको विश्लेषण गर्न सरकारलाई निर्देशित गर्ने पनि गर्नु आवश्यक छ । यस्तै स्थानीय निकायहरूलाई निर्देशन गर्ने कामहरू पनि सम्बन्धित कमिटीहरूले गर्नुपर्दछ । यी कामहरूमा कमरेडहरू विशेष सजग नै हुनुहुन्छ भन्ने मलाई लाग्छ ।

जे होस् हामीले यी पाँच दिनहरूमा बहुतै राम्रोसँग बैठक गरेका छौं, छलफल गरेका छौं र सम्पन्न पनि गरेका छौं । देशको अपेक्षा र जनताको अपेक्षाअनुसार पार्टी एकजुट र एकढिक्का भएर अडाडि बढेको छ । एकढिक्का छ भनेर अगाडि बढ्ने एउटा महत्वपूर्ण काम भएको छ । तर दुखको कुरा हो– केही संचार माध्यमहरूले हामीलाई यताको भाग र उताको भाग भनेर अत्यन्तै अपमान गरेका छन् । हामी यसको गोठभित्र, त्यसको कटेराभित्र, उसको झुण्डभित्र परेका मान्छे होइनौं ! हामी हरेक स्वतन्त्र (इन्डिपेन्डेट) नेताहरू छौं, तर हामीलाई आआफ्नो स्वार्थमा मान्छेले यता र उता भनेर अखबारबाजी गर्ने, विभिन्न मान्छेका टाउका टाउकाअन्तर्गत राखेर यताको भागमा यति टाउका, उताको भागमा उति टाउका भनेजस्तो गरेर अंशवण्डा गर्न खोजिएको छ । हामी देश निर्माणका लागि हिँडेको एउटा पार्टी र यसको नेतृत्वलाई एउटा झुण्डको वा यता र उताको भागमा बाँडेर प्रचार गर्नु उचित होइन । हरेक मान्छेसँग एउटा टाउको छ, मस्तिस्क छ, त्यसबाट विभिन्न विचारहरू आउँछन्, विभिन्न व्यक्तिका विचार फरक पर्न सक्छन् । त्यसमा छलफल हुन्छ र छलफलबाटै एउटा निष्कर्ष निस्कन्छ । अनि छलफल हुनेबित्तिकै वा विचारहरू आउनेबित्तिकै मान्छे भाग लगाउने वा भाग लगाएर अपमानित गर्ने यो गलत तरिका हो ।  फलानो मान्छे आफै स्वतन्त्र होइन, ऊचाँहि फलानाको भागको हो भन्ने भान पार्ने, त्यस खालका कुराहरू गर्ने अनुचित कुराहरू प्रचार गरिनुहुन्न । हामी पार्टीका कार्यकर्ता हौ र पार्टीभन्दा बाहेक कोही व्यक्तिका पिछलग्गु होइनौं । त्यसो गर्नु पनि हुँदैन । हामीलाई त्यसढंगले चित्रण गर्नु अत्यन्तै गलत र अपमानजनक कुरा हो । यो कुरा हामीले बुझेका छौ, यो हाम्रो पार्टीले बुझेको छ, हाम्रो केन्द्रीय कमिटीले बुझेको छ, हाम्रो पार्टी पंक्तिले बुझेको छ र सिंगो देशले बुझेको छ । 

त्यसैकारण आज नेकपा यस हैसियतमा छ, नेकपा एकताबद्ध छ, नेकपा सुदृढ छ र यो एकताबद्ध नै रहन्छ । कसैले यसलाई कुनै हिसाबले पनि तलमाथि गर्न सक्दैन । यस एकतालाई हामी अझ अगाडि बढाउँछौ । यो एकता हामीले गरेको एक छिन वा दुई छिनको लागि, एक दिन वा दुई दिनको लागि घामछाँया केजस्तो भन्छन् नि त्यस्तो होइन । यो खास उद्देश्यप्रति समर्पित भएर हामीले गरेको एकता हो र यो एकता अगाडि बढ्छ । अगाडि बढेर नै हामीले यसमार्फत देशको नेतृत्व गर्छौं, ‘समृद्ध नेपाल: सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा हासिल गर्छौं । 

अब तपाईहरू कार्यक्षेत्रमा गएर राम्रो काम गर्नुहोस् । अब पार्टीले तीन महिने अभियान संचालन गर्छ, त्यसलाई ५ महिनाबाट ३ महिनामा घटाइएको कुरा महासचिवले भनिसक्नु भएको छ । अवधि ३ महिना नै ठीक छ र हामीले ३ महिना यो अभियान प्रभावकारी रूपमा संचालन गर्छौ । यसलाई बढी व्यवस्थित ढंगले संचालन गर्न आगामी दिनमा हामीले यसका समग्र कार्यक्रम र प्रस्तावहरू अगाडि बढाउँछौं । यो सबै निकट भष्यिमा यहाँहरूसमक्ष आउँछ ।

अब म सबै कमरेडहरूलाई हार्दिक बधाई भन्न चाहन्छु । आज बेलुका मैले बालुवाटारमा सबै केन्द्रीय सदस्य कमरेडहरूलाई डिनर दिएको छु । सबैलाई साँझ ६ बजे डिनरमा सहभागी हुनका लागि हार्दिक आमन्त्रण गर्दछु । 

म कमरेडहरू सबैलाई निरन्तर सफलताका साथ अघि बढ्न आह्वान गर्दै धेरैधेरै शुभकामना भन्न चाहन्छु । र, यो बैठक यहीँ अन्त्य भएको जानकारी दिन चाहन्छु ।

१९ माघ २०७६
राष्ट्रिय सभागृह, काठमाडौं ।