NP EN

​नेपाली जनताको माया र स्नेहले बाँचेको छु: प्रम ओली

भद्रपुर, ४ फागुन: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताको स्नेह, माया र ममताका कारण आफू चारपटक ‘अपरेसन’ गरेर पनि बाँचेर काम गर्न सफल भइरहेको बताउनुभयो । 

आज गृहनगर झापाको दमकमा आयोजित कार्यक्रममा प्रम ओलीले जनताको शुभकामना र शुभेच्छाले यस देशलाई भ्रष्टाचार रोक्दै विकास र समृद्धिको बाटोमा अगाडि बढाउनका निम्ति आफू बाँचेको बताउनुभयो । उहाँले आफू ४६ वर्षदेखि रोगसँग लडिरहेको उल्लेख गर्दै रोग, प्रतिक्रियावादी र जनविरोधीसँग लड्न डर नलाग्ने बताउनुभयो । आफू बिरामी भए पनि आत्मविश्वास दह्रो भएकाले अझै केही वर्ष बाँचेर नेपाली जनताको हितमा काम गर्ने उहाँको भनाइ थियो । 

“यस क्षेत्रका जनताप्रति कृतज्ञता र आभार व्यक्त गर्छु”, उहाँले भन्नुभयो, “तपाईंहरुकै कारण देश र जनताका निम्ति काम गर्न पाएँ, घरघरमा गएर बालबालिकालाई मेरो स्नेह सुनाइदिनोस् र ज्येष्ठ नागरिक, साथीभाइ सबैलाई मेरो नमस्कार सुनाइदिनोस् ।”

आफूले धेरै वर्षअघि दमक नगरपालिकामा चक्रपथ बनाउने सपना देखेको र आज पूरा भएको उहाँले बताउनुभयो । उहाँले देशले विकासको बाटो लिएको बताउँदै आआफ्ना स्थानबाट आत्मविश्वास र उत्साहका साथ सबैलाई जुट्न आग्रह गर्नुभयो ।

भूटानी शरणार्थीले मुक्ति पाए

प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो देश पुनर्वासले नेपाली भाषी भूटानी शरणार्थीले कष्टकर जीवनबाट मुक्ति पाएको बताउनुभएको छ । झापाको दमकमा आज आयोजित एक कार्यक्रममा उहाँले तेस्रो मुलुक पुर्नावासले भूटानी शरणार्थीलाई सुखी बनाएको बताउनुभयो ।

तेस्रो देश पुनर्वासको पहल थाल्दा कतिपयले विरोध गरेको स्मरण गर्दै उहाँले अहिले विभिन्न सम्पन्न मुलुकमा पुगेका शरणार्थीको जीवनस्तर उक्सिएको बताउनुभयो । 

विभिन्न दाताले दिएको भरमा जीवन चलाउनुपर्ने बाध्यताबाट शरणार्थीले मुक्ति पाएको भन्दै उहाँले जीवनस्तर सहज बनेपछि र तिनका सन्तानले राम्रो शिक्षा पाएपछि आप्mनो मुलुक फर्किने प्रक्रिया आफैँ शुरु गर्नसक्ने अवस्था आउने बताउनुभयो । 

पहिला भूटानी शरणार्थी शिविर रहेकै ठाउँमा बनाइएको मञ्चबाट सम्बोधन गर्दै उहाँले तेस्रो देश गएर बाँकी रहेका शरणार्थीको पनि दिगो समाधान गर्न सरकार लागिरहेको बताउनुभयो ।   (रासस)