NP EN

'सपनालाई बीचमै अलपत्र पारेर म अलप हुन्न, ढुक्क हुनुस्' - प्रधानमन्त्रीको भिडियो सन्देश

काठमाडौँ, १९ फागुन: प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गाैला प्रत्यारोपणपछि केही दिनको अस्पतालको बसाइ र आरामपछि थप ऊर्जा र आत्मविश्वास लिएर काममा फर्कने विश्वास व्यक्त गर्नुभएको छ । पुनःमिर्गौला प्रत्यारोपणका लागि आज अस्पतालमा भर्ना हुनुअघि भिडियो सन्देश जारी गरी उहाँले भर्खर जागृत हँुदै गरेका सपनालाई बीचमा अलपत्र पारेर आफू अलप नहुने बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ, “कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई हामी सबै मिलेर जगायौँ, त्यसलाई ब्युँत्याउनका लागि गत निर्वाचनमा मेरो नेतृत्वको वरिपरि तपाईहरु सबैले आफूलाई उभ्याउनुभयो, यस वर्षलाई हामीले समृद्धिको आरम्भ वर्ष भनेका छाँै, जसरी खेलका बीचमा राम्रो खेलाडीले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भर्खर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न, संसारमा कोही पनि अजम्बरी छैन, मेरो यो सङ्कल्प पनि अजम्बरी बन्न होइन, हाम्रा जागृत हुँदै गरेका सपनालाई साकार पार्नका लागि हो भन्ने यहाँहरुले बुझ्नु नै भएको छ, म पुनःएक पटक आग्रह गर्दछु मेरो स्वास्थ्यलाई लिएर यहाँ ढुक्क रहनुस् ।”

आफ्नो सिङ्गो जीवन कहिले निरङ्कुशताविरुद्ध लोकतन्त्रका लागि सङ्घर्ष, कहिले राष्ट्रियहित तथा स्वाभिमानका लागि सङ्घर्ष, त कहिले देशमा स्थायित्व नचाहने र हुन नदिनेसँगको सङ्घर्षलगायत कुनै न कुनै किसिमको सङ्घर्षमा बित्दै आएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ । मुलुकमा व्याप्त यसप्रकार विविध समस्यासँग निरन्तर जुध्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न बाध्य हुन पुगेको उल्लेख गर्दै उहाँले झण्डै १२ वर्षअघि आफ्ना दुवै मिर्गौलाले काम गर्न छाडेपछि २०६४ साल साउनमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गराएको बताउनुभएको छ ।

“त्यसबेला हाम्रो देश नेपालमा मिर्गौला प्रत्यारोपणको सुविधा थिएन, पर्सी फागुन २१ गते बुधबार फेरि मैलै मिर्गौला प्रत्यारोपण गराउँदैछु, त्यसको चिकित्सकीय तयारीका लागि म आजै त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुँदैछु, विज्ञान, आधुनिक प्रविधि ज्ञान र सीपले मिर्गौला प्रत्यारोपण अहिले पहिले जस्तो जटिल मानिँदैन, यसपटकको मिर्गौला प्रत्यारोपण त्यसैले पनि तुलनात्मकरुपमा सजिलो हुने मैले विश्वास लिएको छु”, प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ ।

आफ्नै मुलुकमा आफ्नै देशका अनुभवी चिकित्सकद्वारा प्रत्यारोपण गराउने सुविधा प्राप्त भएकामा उहाँले गर्वका साथ खुशी व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “भनिन्छ नि आशाको दियो बलिरह्यो भने शान्ति प्रेम र विश्वासको जग मजबुत तुल्याउनु सकिन्छ, हामीले देखेको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न केही दिनको अस्पतालको बसाइ र आरामपछि थप ऊर्जा र आत्मविश्वास लिएर म काममा फर्कनेछु, यस बीचमा सरकारका तर्फबाट गर्नुपर्ने सबै काम नियमितरुपमा अघि बढ्नेछन्, विश्वलाई नै पिरोलिरहेको कोरोना भाइरसका कारण सिर्जित भएको नयाँ समस्या होस् वा भैपरी आउने कुनै पनि विषय, त्यसलाई प्रभावकारी ढङ्गले कार्यान्वयन गर्न परेको समयमा आवश्यक निर्णय लिनसक्ने संयन्त्र र अन्य व्यवस्था मिलाएको छु ।”

आफ्नो अस्पताल बसाइँको समयमा पार्टी र संसद् दुवैतिर आवश्यक कार्यसम्पादन गर्न जिम्मेवार नेता कार्यकर्ता सांसदहरु र लाखौँ पार्टी सदस्य निरन्तर क्रियाशील हुनेमा उहाँले विश्वास व्यक्त गर्नुभएको छ । साथै उहाँले आफ्नो स्वास्थ्यलाभको कामना गर्नुहुने स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।
 


भिडियो सन्देशको पूर्णपाठ -
---------------------------

आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु,
 
मेरो सिङ्गो जीवन कुनै न कुनै किसिमको संर्घषमा वित्दै आएको छ । कहिले निरङ्कुशता विरुद्ध लोकतन्त्रको लागि संघर्ष, कहिले राष्ट्रिय हित तथा स्वाभिमानका लागि संघर्ष, त कहिले देशमा स्थायित्व नचाहने र हुन नदिनेहरुसँगको संघर्ष ।

मुलुकमा व्याप्त यसप्रकारका विविध समस्याहरुसंग निरन्तर जुध्ने क्रममा शरीरभित्र सिर्जित रोगसँग लड्न म बाध्य हुन पुगेको यहाँहरु सबैलाई जानकारी नै छ । यसै सन्दर्भमा, आज भन्दा झण्डै १२ बर्ष अघि मेरा दुवै मृगौलाले काम गर्न छोडेपछि २०६४ साउनमा पहिलो पटक मृगौला प्रत्यारोपण गराएको थिएँ । त्यतिबेला हाम्रो देश नेपालमा मृगौला प्रत्यारोपणको सुविधा थिएन । 

पर्सी फागुन २१ गते बुधवार फेरि मैले मृगौला प्रत्यारोपण गराउँदैछु । त्यसको चिकित्सकीय तयारीका लागि म आजै त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जतमा भर्ना हुँदैछु ।

विज्ञान, आधुनिक प्रविधि, ज्ञान र सीपले मृगौला प्रत्यारोपण अहिले, पहिलेजस्तो जटिल मानिँदैन । यसपटकको मृगौला प्रत्यारोपण त्यसैले पनि तुलनात्मक रुपमा सजिलो हुने मैले विश्वास लिएको छु । त्यसमाथि आफ्नै मुलुकमा आफ्नै देशका अनुभवी चिकित्सकहरूद्वारा प्रत्यारोपण गराउने सुविधा प्राप्त हुँदा म गर्व गर्छु र अत्यन्तै खुशी पनि छु ।

भनिन्छ नि, आशाको दियो बलिरह्यो भने शान्ति, प्रेम र विश्वासको जग मजवुत तुल्याउन सकिन्छ । कुनै समय मुर्छित रहेका हाम्रा सपनालाई हामी सबै मिलेर जगायौं । त्यसलाई व्युँताउनका लागि गत निर्वाचनमा मेरो नेतृत्वको वरीपरी तपाईहरु सबैले आफूलाई उभ्याउनु भयो । यस बर्षलाई हामीले समृद्धिको आरम्भ बर्ष भनेका छौं । जसरी खेलकोबीचमा ‘राम्रो खेलाडी’ले मैदान छोड्दैन, त्यसैगरी हाम्रा भरखर जागृत हुँदै गरेका सपनालाई बीचमा अलपत्र पारेर म पनि अलप हुन्न । संसारमा कोही पनि अजम्बरी छैन । मेरो यो संकल्प पनि अजम्बरी बन्न हैन, हाम्रा जागृत हुँदै गरेका सपनालाई साकार पार्नका लागि हो भन्ने यहाँहरुले बुझ्नु नै भएको छ । 

म पुनः एकपटक आग्रह गर्दछु, मेरो स्वास्थ्यलाई लिएर यहाँहरु ढुक्क रहनुहोस् । हामीले देखेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाक्षां पूरा गर्न केही दिनको अस्पताल बसाई र आराम पछि थप उर्जा र आत्मविश्वास लिएर म काममा फर्कनेछु । यस बीचमा सरकारका तर्फवाट गर्नुपर्ने सबै काम नियमित रुपमा अघि बढ्ने छन् । विश्वलाई नै पिरोली रहेको कोरोना भाइरसका कारण सिर्जना भएको नयाँ समस्या होस् वा भैपरि आउने कुनै पनि विषय, त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्न परेको समयमा आवश्यक निर्णय लिन सक्ने संयन्त्र र अन्य व्यवस्था मिलाएको छु ।

मेरो अस्पताल बसाईको समयमा पार्टी र संसद दुवैतिर आवस्यक कार्य सम्पादन गर्न जिम्मेवार नेता/कार्यकर्ता, सांसदहरू र लाखौं पार्टी सदस्यहरू निरन्तर क्रियाशील हुनेमा म विश्वस्त छु । 

मेरो शीघ्र स्वास्थ्यलाभको कामना गर्नु हुने स्वदेश र विदेशका सबै मित्र तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद भन्न चाहन्छु । 

धन्यवाद ।

१९ फागुन, २०७६
बालुवाटार